अगामी मंसिरमा आउला त जनकपुर–जयनगर रेल ?

कस्तो हुनेछ रेलमार्ग ? कति सकियो काम ?
निर्माण सञ्चार, काठमाडौँ | लामो समयदेखि सञ्चालनमा ल्याउने भनिएको जनकपुर–जयनगर रेलमार्ग आगामी मंसिरमा ल्याउने तयारी भइरहेको छ ।

जयनगरदेखि जनकपुरको कुर्थासम्म निर्माण सम्पन्न भएको रेलमार्ग ३५ किलोमिटर लामो छ ।

करिब ७ अर्ब लागतमा निर्माण भएको उक्त रेलमार्गको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समक्षकी नरेन्द्र मोदीले गर्ने बताइएको थियो । तर, हालसम्म यसबारेमा यकिन भने हुनसकेको छैन ।

उच्च राजनीतिक नेतृत्वलाई उद्घाटनका लागि अनुरोध गरिएको भएपनि कसले उद्घाटन गर्ने भन्ने हालसम्म तय नभएको रेल विभागले बतायो ।

आगामी मंसिरमा रेलमार्ग सञ्चालनमा ल्याउने गरी तयारी गरिएको बताउँदै विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले उद्घाटन कसले गर्ने भन्ने तय नभएको जिकिर गरे ।

‘आगामी डिसेम्बर (मंसिर महिना) मा जयनरदेखि कुर्थासम्मको रेल संचालनको उद्घाटन गर्ने तयारी भएको छ’, इन्जिनियर चित्रकारले भने, ‘ तर ‘नेपाल र भारतका उच्च राजनीतिक व्यक्तिहरुले रेलमार्गको उद्घाटन गर्ने तयारी गरे पनि नेपाल र भारतबाट क–कसले उद्घाटन गर्ने भन्ने अझै यकिन भइसकेको छैन ।’

यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल संचालनलाई उच्च प्राथमिकतामा राख्दै सोही अनुसार अभिव्यक्ति भने दिँदै आएका छन् ।

कस्तो हुनेछ रेल ?

रेल बेट लिजमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

सोही व्यवस्था अनुसार विभागले रेलका इञ्जिन, चालक र प्राबिधिक सबै भारतीय नै ल्याउने गरी तयारी गरेको रेल विभागले जानकारी दियो ।

विभागका अनुसार भारतीय जनशक्तिसँगै नेपाली जनशक्ति पनि रेल सञ्चालनमा खटिनेछन् भने नेपालीहरुले रेल सञ्चालनको ज्ञान लिने तयारी थालिएको छ ।

जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र त्यहाँबाट ६ किलोमिटर कुर्था भन्ने ठाउँसम्म रेलको लिक तयार भइसकेको छ ।

नेपालमा निर्माण भएको रेल वे नेटवर्क ब्रोडगेजको हो ।

सो रेलमार्गमा चल्ने रेलमा ६ वटासम्म डिब्बा तान्न सक्ने ४ वटा इञ्जिन राख्ने तयारी गरिएका विभागले बतायो ।

त्यसलाई डिइएमयू प्रणाली पनि भनिन्छ ।

विभागका अनुसार उक्त रेलको एउटा डिब्बामा ७५ देखि १०० जनासम्म यात्रुले यात्रा गर्नसक्न छन् । हाल निर्माण भएको रेलवे लिक एकतर्फी हो ।

जुन रेल दिनमा ३ देखि ४ पटकसम्म आवातजावत गर्नसक्ने विभागको अनुमान छ ।

रेलले कतिपटक ओहोर दोहोर गर्छ भन्ने कुरा यात्रुको संख्याले निर्धारण गर्ने विभागको भनाई छ ।

विभागले आउँदो बर्ष बर्दिबाससम्मको ६९ किलोमिटर रेल निर्माण सम्पन्न गर्ने गरी तयारी थालेको छ ।

...

बुधबार, २४ असोज २०७५ 

प्रतिक्रिया

Related