घटस्थापनका दिन नयाँ लिङ्ग ठडाएपछि मात्रै घरघरमा जमरा

५२ हातको लिङ्ग, ५२ हातकै ध्वजा राखेर जुम्लाको चन्दननाथ मन्दिरमा लिङ्ग खडा
निर्माण सञ्चार, कर्णाली प्रदेश | कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा बुधबार घटस्थापनका दिन नयाँ लिङ्ग हालिएको छ ।

धार्मिक परम्परा जोगाउन घटस्थापनाकै दिन कर्णाली प्रदेशको प्रशिद्ध पर्यटनको उद्गम स्थल जुम्लाको चन्दननाथ मन्दिरमा सो लिङ्ग ठडाइएको हो ।

५२ हातको लिङ्गा, ५२ हातकै ध्वजा र नेजा राखेर लिङ्ग खडा गरिएकोे छ ।

चन्दननाथ मन्दिरमा लिङ्ग खडा गरिसकेपछि मात्रै कर्णाली क्षेत्रमा घटास्थापना गर्ने प्रचलन छ । सो मन्दिरमा वर्षेनी घटास्थापनाको दिन पुरानो लिङ्ग निकालेर नयाँ लिङ्ग खडा गर्ने प्रचलन प्राचिन कालदेखि चलि आएको छ ।

एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्ग र ५२ हातकै नेजा राख्ने चलन रहेको सस्कृति विद् रमानन्द आचार्यले बताए ।

उनका अनुसार घटास्थापनाकै दिन भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्ग र ४८ हातकै ध्वजा र नेजा राखेर खडा गर्ने चलि आएको चलन छ ।

सस्कृति विद् आचार्यले भने ,‘मन्दिरमा विजय स्तम्भसहित २ वटा लिङ्ग खडा गरिन्छ ।’ नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्ग खडा गरिएको छ ।

चन्दन्नाथ मन्दिरको लिङ्ग खडा गरिसकेपछि घरघरमा जमरा राखिन्छ ।

बिहान ७ बजेपछि पुराना लिङ्ग ढाल्ने र नयाँ लिङ्ग खडा गर्ने काम सुरु भएको थियो ।

यस दिन नवदुर्गामध्ये शैलपुत्रीको पूजा आराधाना गर्ने चलन छ । आजकै दिन जुम्लाबासीले नयाँ अन्न अर्थात् नुवागी खाने चलन पनि छ ।

प्रचलन अनुसार जुम्लाको कालीमार्सी धान पनि आजकै दिनदेखि काट्न सुरु हुन्छ ।

विश्वकै अग्लो स्थानमा फल्ने कालीमार्सी धान पनि चन्दननाथ मन्दिरमा सिख चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर नुवागी खाने प्रचलन रहेको स्थानीय धार्मिक अगुवा चित्रलाल श्रेष्ठले बताए । 

आजैका लागि सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, अदालत लगायतका कार्यालयहरुमा बोकाको बली दिएर नयाँ झण्डा पनि फर्ने गर्दछन् ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

...

बुधबार, २४ असोज २०७५  

प्रतिक्रिया

Related