‘हेलिकप्टर ‘ओभर विलङ’ र टिम्सकार्ड नलिएका कारण उद्धार कार्यमा समस्या’–टान

गाइड तथा मजदुरहरूको उद्धारमा टानले अवरोध सुरु गरेको आरोप
निर्माण सञ्चार, काठमाडौँ | नेपाल पर्यटन बोर्डले समयमै टिम्सबापत पाउने रकम भुक्तानी नगर्दा पदयात्रामा जाने गाइड तथा मजदुरहरूको खोज तथा उद्धार कार्यमा समस्या भएको बताएको छ ।

यससँगै ‘फेक रेस्क्यु’को नाममा भएका ठगीका कारण र हाल सरकारले गरेको छानबिनले केही समस्या आएको टानले स्विकार गरेको छ ।

टानका अध्यक्ष नवराज दाहालले भने ‘फेक रेस्क्यु’को नाममा भएका ठगीका कारण र हाल सरकारले गरेको छानबिनले उद्धार कार्यमा केही समस्या आएको छ ।’

उनले टिम्सको रकम नेपाल पर्यटन बोर्डले निकासा नदिँदा समस्या आएको तर गाइड मजदुरको रकम उद्धारको लागि समस्या नपरेको दाबी गरे ।

अध्यक्ष दाहालले पर्यटन बोर्ड, मन्त्रालय र बोर्ड सञ्चालकमा निजी क्षेत्रका प्रतिनिधिले नै टिम्सको रकम नदिएको आरोप लगाए ।

टिम्सको रकम टानमा हिनामिना

यता बोर्डले भने टिम्सको रकम टानमा हिनामिना गरिएको भन्दै हिसाबकिताब सार्वजनिक नगरेसम्म रकम नदिने भन्दै विगत तीन वर्षदेखि टिम्सको रकम दिएको छैन ।

मजदुर संगठनका नेताहरूले पनि टानले मजदुरविरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष कपिल पाण्डेले गाइड तथा मजदुरहरूको उद्धारमा टानले अवरोध सुरु गरेको आरोप लगाए । 

देशभर २० हजारभन्दा बढी गाइड र ७० हजारभन्दा बढी मजदुर रहेका छन् ।

टानले उद्धारको काममा रकम निकाशा नगर्ने तथा हेलिकप्टर कम्पनीले उधारो नगर्ने हो भने पर्यटन क्षेत्रमा गम्भीर समस्या आउनसक्ने पाण्डेको भनाई छ ।

मजदुरहरूको खोज तथा उद्धार कार्य बन्द

मुख्य पर्यटकीय सिजनमै पदयात्रामा जाने गाइड तथा मजदुरहरूको खोज तथा उद्धार कार्य बन्द गरिएको भन्दै श्रमिकहरु आक्रोशित बनेका हुन् ।

यता वायुसेवा सञ्चालक संघले भने विगतमा भएका दर्जनौ संख्यामा गरिएको खोज तथा उद्धारको रकम हेलिकप्टर कम्पनीलाई भुक्तानी नदिएपछि हेलिकप्टर कम्पनीहरूले बक्यौतामा उद्धार गर्न छाडेपछि गम्भीर समस्या देखिएको बतायो ।

‘फेक रेस्क्यु’ गराएर पुनर्बिमा कम्पनीसँग दाबी गरेर असुल गर्ने संगठित गिरोहलाई सरकारले छानबिन थालेसँगै हेलिकप्टर कम्पनीहरूले पनि बक्यौतामा खोज तथा उद्धार कार्यलाई बन्द गरिदिएका छन् ।

यसको प्रत्यक्ष असर गाइड तथा मजदुरमा पर्ने देखिएको छ ।

टानले भुक्तानी नदिँदा समस्या

वायुसेवा सञ्चालक संघ (आयोन) का अध्यक्ष पवित्रकुमार कार्कीले टिम्सको कारण देखाउँदै टानले भुक्तानी नदिँदा समस्या आएको दाबी गरे ।

टानले मजदुरहरूको रकम तिर्ने गरेको तर रकम भुक्तानीमा समस्या आएको हुँदा हेलिकप्टर कम्पनीरुले बक्यौतामा उद्धार कार्य रोकेको हुनसक्ने अध्यक्ष कार्कीले बताए ।

टानले टिम्सबापत पाउने रकम नपाएको भन्दै बक्यौता तिर्न ढिलाई गर्दै आएको छ उनको आरोप छ ।

यता टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले भने टिम्स कार्ड नबोकि पदयात्रा गर्ने मजदुर तथा गाइडको जिम्मा टानले नव्यहोर्ने बताए ।

उनले भने ‘टानले उद्धार तथा खोजको काम गर्दै आएको छ, तर कुनै पनि मजदुरले विना टिम्स कार्ड यात्रा गराएको खण्डमा दुर्घटना भए त्यसमा टान जिम्मेवारी हुँदैन ।’

हेलिकप्टर कम्पनीले गर्यो ‘ओभर विलिङ’ 

हेलिकप्टर कम्पनीलाई टानले भुक्तानी नगर्दा खोज तथा उद्धार कार्यमा झनै समस्या आएको हो भन्ने प्रश्नमा कोषाध्यक्ष तिमल्सिना भन्छन्, ‘हेलिकप्टर कम्पनीले भुँइचालोका समयमा पनि उद्धार कार्यमा खटियो तर, सो कम्पनीले लागको भन्दा बढी बिल देखाएको भन्दै पर्यटन बोर्डले उक्त बिल स्वीकृत नगर्दा समस्या भएको हो ।’

‘ओभर विलिङ’ गरेका कारण हेलिकप्टर कम्पनीले रकम पाउन नसकेका भन्दै उनले हाल यो समस्या अन्तिम चरणमा पुगेको बताए ।

निर्माण सञ्चारसँगको कुराकानीमा कोषाध्यक्ष दाहालले भने ‘हेलिकप्टर कम्पनीले विगतमा गरेको खोज तथा उद्धारवापत लागेको वास्तविक विल पर्यटन बोर्डमा बुझाउने काम गरिरहेको छ, अब यो समस्या चाडै नै साम्य हुन्छ ।’

पदयात्रा तथा आरोहणमा जाँदा पर्यटकको सम्बन्धित कम्पनीले नै उद्धारको खर्च बेहोर्ने गरेको छ भने गाइड तथा मजदुरको उद्धारको खर्च भने टानले टिम्स कोषको रकममार्फत बेहोर्दै आएको छ ।

...

बिहीबार, २५ असोज २०७५ 

प्रतिक्रिया

Related