‘रुदीखोला–ए जलविद्युत’को निर्माण सम्पन्नः यस्तो हुँदैछ काम

८.८ मेगावाट क्षमताको आयोजनाबाट विद्युत उत्पादन कहिले?
निर्माण सञ्चार, काठमाडौँ | रुदी खोलामा निर्माणधिन ८ दशमलव ८ मेगावाट क्षमताको रुदीखोला–ए जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ ।

कास्की र लमजुङको सिमानामा बग्ने रुदी खोलामा बनेको उक्त आयोजनाको हाल ‘वेट टेस्टिङ’ सुरु गरिएको छ ।

हाल बाँधस्थलको निर्माण, हेडरेस पाइप राख्ने, पेनस्टक पाइप राख्ने, सर्ज ट्यांक निर्माण, पावरहाउस लगायत संरचनाको निर्माण पूरा भएको आयोजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

प्रमुख भट्टराईका अनुसार कास्कीको मिजुरे र लमजुङको सिङ्दीबेसी सिमामा बाँधस्थलको इन्टेक, वयर, बाँध सुरक्षा पर्खाल, कल्भर्ट (नहर) निर्माण सम्पन्न भएको छ ।

उनले भने ‘सिभिल, हाइड्रोमेकानिकल, इलोक्ट्रोमेकानिकलको काम पूरा भएको छ’, ‘हाल मुख्य संरचनाको काम सम्पन्न गरी पानी राखेर हेडबक्र्स, हेडरेस पाइप, पेनस्टकको वेट टेष्टिङ भइरहेको छ।’

विद्युत् उत्पादन कहिले ?

परीक्षणको काम पूरा भएसँगै व्यावसायिक रुपमा विद्युत उत्पादन हुनेछ । तिहारपछि आयोजनाबाट व्यववसायिक विद्युत उत्पादन हुने प्रमुख भट्टराईले बताए ।

उनले सो आयोजनाको पावर हाउसदेखि मुग्री सवस्टेसनसम्मको विद्युत प्रसारण लाइनको पनि परिक्षण भैरहेको बताए ।

उक्त आयोजनाको पावरहाउस कास्कीको मिजुरेस्थित बालुवाबेसीमा अवस्थित छ ।

पावरहाउसमा भने ‘सिभिल स्टक्चर’ मेसिन जडानको काम सम्पन्न भएको छ भने टर्बाइन जोडिएको छ ।

कहिले थियो उत्पादन लक्ष्य ?

३१ मार्च २०१६ बाट निर्माण सुरु भएको उक्त आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत उत्पादन गर्ने लक्ष्य थियो ।

तर, निर्माणधिन अवस्थामा रहँदा गएको भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण कामले गति लिन सकेको थिएन ।

सोहीकारण तोकिएको समयभन्दा केही समय बढी लागेको आयोजनाले बतायो ।

कसले गरेको थियो काम ?

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि प्रवद्र्धक रहेको आयोजना निर्माणका लागि सिभिलतर्फ हाई हिमालय हाइड्रो कन्सट्रक्सन प्रालि, हाइड्रोमेकानिकलमा नर्थ हाइड्रो एन्ड इन्जिनियरिङ र इलेक्ट्रोनिकमा टिपिएस इन्डिया प्रालिले काम गरेका थिए ।

पानी बालुवाबेसीस्थित विद्युतगृहमा खस्यो

आयोजनाका अनुसार लमजुङको पसगाउँस्थित सिङ्दीबेसीमा बाँध बाँधेर कास्कीको मिजुरे रबैडाँडा हुँदै ६ किलोमीटरको पेनस्टक मेटल पाइपमार्फत पानी लगेर बालुवाबेसीस्थित विद्युतगृहमा खसालिएको छ।

उक्त आयोजनामा रुदीसहित छेदुवा खोलाको पानी पनि मिसाइने भएको छ ।

तीनसय मिटर ग्रेसहेड रहेको सो आयोजनाबाट उत्पादित विद्युत कास्कीको मुग्रेबेसीस्थित ३३ केभिएको ट्रान्समिसन लाइनमा जडान गरिने भएको हो ।

लागत कति ?

मेकानिकल ओभरसियर कृष्णप्रसाद पण्डितले आयोजना निर्माणका लागि अनुमानित लागत १ अर्ब ३६ करोड २० लाख रुपियाँ रहे पनि बाढीपहिरोको क्षति, मूल्यवृद्धि आदि कारणले १ अर्ब ५० करोड पुगेको बताए ।

जसमा सानिमा बैंकको नेतृत्वमा ७० प्रतिशत र प्रवद्र्धकको तर्फबाट ३० प्रतिशत लगानी जुटाइएको छ ।

खरिद सम्झौता कहिले ?

नेपाल विद्युत प्राधिकरणसँग २०६९ माघ २८ मा विद्युत खरिद सम्झौता (पिपिए) भएको यो आयोजनाको हिउँदमा ८.४० पैसा र वर्षामा ४.८० रुपियाँ दर छ।

बिन्ध्यबासिनीले रुदीखोला ‘ए’ सँगै रुदीखोला ‘बी’ को समेत निर्माण गरिरहेको छ ।

अयोजनाले रुदी ‘बी’ को ५० प्रतिशत काम सम्पन्न भएको बतायो ।

आयोजना आफैँले ट्रान्समिसन लाइन निर्माण
आफ्नै लगानीमा आयोजनाले सबस्टेसनसम्म विद्युत् प्रसारण लाइन टाँगेको छ ।

आयोजनाको विद्युतगृह मादी गाउँपालिका ९ बालुवाबेसीदेखि मुंग्रीबेसीस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनसम्म आयोजना आफैंले तार टाँगेको हो ।

आयोजनाका डेपुटी प्रोजेक्ट म्यानेजर भट्टराईका अनुसार ३.८ किमि लम्बाइको ३३ केभीको डबल सर्किट ट्रान्समिसन लाइन आफैं निर्माण गरेको छ ।

विद्युत् प्राधिकरणले तत्काल यस प्रसारण लाइन निर्माण नगर्ने भएकाले उत्पादिन विद्युत् खेर जान नदिन आयोजना निर्माण अगावै ट्रान्समिसन लाइन निर्माण गरेको आयोजनाले बतायो ।


...

बिहीबार, २५ असोज २०७५ 

प्रतिक्रिया

Related