सोल्टीमोड–कलंकी सडक खण्डमा कालोपत्रे, अझै अनिश्चितः किन ?

‘हिलो/धुलो र जामले सर्वसाधरणलाई आवातजावतमा कठिनाई’
निर्माण सञ्चार, काठमाडौँ | लामो समयदेखि अलपत्र सोल्टीमोड–कलंकी सडक खण्डमा कालोपत्रे गर्ने काम अझै अनिश्चित भएको छ ।

यसअघि दशैं अघि नै कालोपत्रे गर्ने तयारी गरेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले उक्त सडक खण्ड कालोपत्र गर्ने काम अनिश्चित भएको बताएको छ ।

काठमाडौं उपत्यका खानेपानी तथा ससरसफाइ आयोजनाले मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याएपछि मात्रै कालोपत्रे गर्न आग्रह गरेपछि सडक विस्तार आयोजना कालोपत्रेको कामबाट पछि हटेको हो ।

खानेपानी आयोजनाले मेलम्चीको पाइप विछ्याउनको काम कात्तिक ८ गतेदेखि थाल्ने बताएको छ । तर, सो काम कहिले सकिन्छ भन्ने निश्चित छैन ।

शनिबार काठमाडौं उपत्यका सडक विस्तार आयोजना बानेश्वरले जारी गरेको सार्वजनिक सूचनामा ‘पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई सडकलाई यथास्थितिमा ल्याइसकेपछि मात्र कालोपत्रे कार्य गरिने’ उल्लेख छ ।

सोल्टीमोडदेखि कलंकीसम्मको सडकखण्ड जिर्ण हुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

खाल्डाखुल्डीले सडक जाम हुुनुका साथै सवारी दुघर्टना हुने गरेको छ । सर्वसाधरणलाई हिलो र धुलोले आवातजावतमा झनै कठिनाई भएको छ ।

सो समस्या सर्वसाधारणले अझै कति दिनसम्म भोग्नुपर्ने हो, त्यो भने एकिन छैन ।

...

आइतबार २८ असोज २०७५  

प्रतिक्रिया

Related