कस्तो हुँदैछ हनुमानढोका क्षेत्रको पुनर्निर्माण ?

भूकम्पले १० सम्पदा पूर्ण रूपमा क्षतिः कहिले हुन्छ निर्माण सम्पन्न ?
निर्माण सञ्चार, काठमाडौँ | हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माणले तीव्रता पाएको छ ।

सो क्षेत्रमा करिब तीन दर्जन सम्पदा अवस्थित छन् ।

जसमध्ये ०७२ को भूकम्पले १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो । क्षति पुगेका ती सम्पदामध्ये अहिलेसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

सोही स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको सुरुवात गत सोमबार भएको छ ।

कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक परीक्षण तथ्य विश्लेषण भइरहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले बताए ।

उनकाअनुसार भूकम्पका कारण क्षति पुगेका अन्य सम्पदा पुनःनिर्माणको प्रक्रियामा रहेको छ । काष्ठमाण्डप आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न हुने प्रमुख पसखलको दाबी छ ।

यससँगै माजु देग पुनःनिर्माण दुई वर्षमा सम्पन्न गरिने योजनाको साथ काम भइरहेको उनको भनाई छ ।

केही सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणको अवस्थामा रहेकाले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

सो क्षेत्रमा घुम्न आउने सार्क राष्ट्रका पर्यटकले प्रवेश शुल्कवापत १५० रुपियाँ तिर्नुपर्छ भने सार्कबाहेकका अन्य राष्ट्रका पर्यटकले एक हजार रुपियाँ तिर्नुपर्छ ।

कामपाको भौतिक पूर्वाधार महाशाखाका अनुसार हनुमानढोका दरबार क्षेत्रमा रहेका सम्पदाहरुको पुनःनिर्माणका लागि ४९ करोड बजेट छुट्याइएको छ ।

....

आइतबार, १८ कार्तिक २०७५ 

प्रतिक्रिया

Related