वर्षौपछि कर्णाली अस्पतालमा आईसीयू !

झण्डै ८० देखि ९० नयाँ उपकरण भित्रिए
निर्माण सञ्चार, कर्णाली | कर्णाली प्रदेशमा पनि सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट–आइसियू) सञ्चालनमा आएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आइसियू सेवा सुरु गरेको हो ।

उक्त शिक्षण अस्पताल स्थापना भएको झण्डै डेढ दशकपछि आईसीयू सेवा सुरु भएको छ । पटक–पटक आईसीयू राख्न माग गरेपछि बल्ल सेवा शुचारु गरिएको छ ।

आईसीयू सेवा सुरु भएसँगै जटिल रोग लागेका विरामीको उपचार जुम्लाकै सोही अस्पतालमा हुने भएको छ । लाखौ खर्च गरी बाहिर जानुपर्ने समस्याबाट कर्णाली बासीले छुटकरा पाउने विश्वास गरिएको छ ।

करोडौको लगानीमा संचालन गरिएको सेवाले सर्वसाधारणलाई राहात पुग्ने नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतले बताए ।

प्रतिबेड २ हजार रुपियाँ

शुल्क प्रतिष्ठानका अनुसार आईसीयू कक्षमा ३ वटा बेड राखिएको छ भने प्रतिबेड २ हजार रुपियाँ शुल्क लिइने छ । अन्य अस्पतालको तुलनामा शुल्क निकै कम गरिएको छ ।

अस्पतालको आफ्नै फार्मेसी भएकोले सहज भएको चिकित्सकहरुको भनाई छ ।

अस्पतालमा दक्ष जनशक्ति हुँदाहुँदै पनि आईसीयू सेवा नहुँदा विरामीलाई रेफर गर्नु पथ्र्यो तर एक हप्तादेखि जुम्लामै भेण्टिलेटर सहितको आईसीयू सेवा शुरु भएपछि कर्णाली बसीले राहातको महशुस गरेका छन् ।

विरामीको सहजै उपचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिष्टार विश्वराज काफ्लेले अत्याधुनिक ल्याव सहितको आईसीयू सेवा सञ्चालनमा ल्याईसकेकोले जटिल प्रकारका विरामीको सहजै रुपमा कर्णालीमै उपचार हुने बताए ।

‘आईसीयू सेवा नहुँदा जटिल प्रकारको विरामीको अप्रेशन भएपनि राख्न सकिने अवस्था थिएन’, उनले भने ‘अहिले त जस्तोसुकै प्रकारको विरामीको उपचार जुम्लामै हुन्छ ।’

‘पहिले यहाँका स्थानीयले जुम्ला अस्पतालमै उपचार हुनसक्ने विरामीलाई पनि दबाव र प्रभावका आधारमा रेफर गर्न लगाउँथे, अब आईसीयू सेवा जुम्लामै सञ्चालन भएपछि कसैको दबाब चल्दै’, रजिष्टार काफ्लले भने ।

कर्णालीका जनताले वर्षौपछि कम खर्चमै आईसियु सेवा पाउनु स्वास्थ्यमा पहुँच बृद्धि भएको तर्क गरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले ।

आईसीयू सेवाले कर्णालीबासीको मुहारमा खुसी थपिएको बताउँछन्, उनी उनले भने, ‘यो सेवा नहुँदा जटिल प्रकारका विरामी राख्न समस्या थियो’, ‘अब सबै प्रकारका विरामी राख्न मिल्ने कक्ष नै तयार भइसकेकोले कुनै समस्या हुने छैन ।’

८० देखि ९० नयाँ उपकरण

पछिल्लो एक हप्तामा जुम्ला अस्पतालमा झण्डै ८० देखि ९० नयाँ उपकरण भित्रिएका छन् ।

‘पहिले ल्यावको सामान नहुँदा अधिकांश रोगको ल्याव टेस्ट गराउन नेपालगंज पठाइन्थ्यो, रिर्पोट प्राप्त गर्न हप्तौ लाग्थ्यो’, रजिष्टार काफ्लेले भने, ‘अब सबै काम यहि हुन्छ कसैलाई झन्झट हुँदैन ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुविधा सम्पन्न नेपालकै मोडल प्रतिष्ठानका रुपमा स्थापित गर्ने कार्यमा प्रतिष्ठान पदाधिकारी लागि परेको रजिष्टार काफ्लेको दाबी छ ।

आईसीयूको सामान एक महिनाअघि जुम्ला पुगिसकेको भएपनि विजुली वत्तिको अभाव र जडान गर्ने ईन्जीनियरको व्यस्तताका कारण सञ्चालनमा आउन सकेको थिएन ।

अक्सिजन प्लान्ट पनि

अहिले २४ सै घण्टा स्टाफ नर्स र विशेषज्ञ चिकित्सक खटाइएको छ ।

विरामीलाई अप्रेशन गर्दा अक्सिजनको अभाव हुने अवस्थालाई मध्येनजर गर्दै अक्सिजन प्लान्ट पनि ल्याईएको छ । अब एक महिना भित्रै जडान गरेर प्लान्ट सञ्चालनमा ल्याईने भएको छ ।

सिटि स्क्यान सेवा सञ्चालनको लागि मेसिन खरिद प्रक्रिया पुरा भइसकेकोले आउँदो मंसिरदेखि यो सेवा थालिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जानकारी दिएको छ ।

कर्णाली प्रदेश निर्माण संवाददाता सागर परियार

....

आइतबार, १८ कार्तिक २०७५ 

प्रतिक्रिया

Related