ओझेलमा परेको ‘सिंजा सभ्यता’ पर्यटन गन्तव्यको सुचिमा

नेपाली भाषाको उद्गम स्थल सिंजा
निर्माण संचार, जुम्ला | खस भाषा तथा मौलिकता बोकेको जुम्लाको ‘सिंजा सभ्यता’ नेपालको पर्यटकीय सुचिमा परेको छ । भाषा साहित्यको एक मात्रै महत्व बोकेको सिंजा–सभ्यता यतिखेर संकटमा पर्दै गएको छ ।

यहाँका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डवगुफा, विराट दरबार, कनकासुन्दरी मन्दिर लगायत काष्ठ कला सबै वेवारिसे अवस्थामा छन् । अहिले तिनको भग्नावशेष मात्रै भेटिन्छ ।

सिंजा सव्यताको संरक्षणतर्फ हालसम्म न राज्यको ध्यान गयो, न स्थानीयको नै ।

सरकारी पक्षबाट पर्यटन प्रवद्र्धनका कुरा गरेता पनि अहिलेसम्म सिंजा सव्यता संकटमा पर्दै गएको देखिन्छ । ऐतिहासिक महत्व झल्काउने सिंजा सव्यता संकटमा पर्दा स्थानीयबासी चिन्तीत छन् ।

‘सिंजा सभ्यता’ संकटमा पर्दै गएकोमाप्रति विगतदेखि हालसम्म चिन्ता व्यक्त गर्दै आएका सिंजा कनकासुन्दरीका ८१ वर्षीय धनलाल हमालले अहिले खुसी व्यक्त गरेका छन् ।

सबै सिंजा सभ्यतासंग जोडिएका सम्पदा संरक्षण नभएपनि पर्यटकीय गन्तव्यको सुचिमा परेको भन्दै उनले खुसी व्यक्त गरेका हुन् ।

पटक–पटक सिंजा सव्यताको संरक्षणका विषयमा पहल गर्दा पनि सुनुवाई भएन । तर, अहिले पर्यटकीय गन्तव्यमा सिंजा सव्यता परेपछि जुम्लाबासी खुसि छन् ।

पर्यटकीय क्षेत्रको सम्भवाना अथाह भएको जुम्ला सिंजा क्षेत्र मात्रै सुचिमा पर्नु दुखद पक्ष भएको नागरिक समाज अध्यक्ष राज बहादुर महतले बताए ।

कृषि पर्यटन, धार्मिक पर्यटन, भाषा तथा संस्कृती पर्यटन जुम्ला अथाह छ ।

स्थानीय धनलाल प्याकुरेलले भने, ‘सिंजा सभ्यता नेपालीको शान हो, सबै सम्पदाको संरक्षण गरी पर्यटन गतिविधि बढाउन स्थानीय सरकारलाई उनको सुझाव छ ।’

अहिले सिंजाका शिलालेख, ऐतिहासिक स्थलहरू, पाण्डवगुफा, विराट दरबार, कनकासुन्दरी मन्दिरलगायत सबै क्षेत्र ओझेलमा छन् ।

रारा पर्यटन वर्ष घोषण भएपछि सिंजा सव्यताको अवलोकन गर्न पर्यटकको घुँइचो हुन्छ तर, सम्पदाको संरक्षण नहुँदा समस्या भएको छ ।

ऐतिहासिक महत्व बोकेको क्षेत्रको भग्नावशेष त भेटिन्छ तर संरक्षण गर्नु पहिलो आवश्यकता हो ।

‘सिंजा सम्पन्न र पहुँच भएको राज्य भएका उ बेला विकास गर्न सकिएन, सभ्यताको महत्व पनि बुझ्न सकिएन’ पाण्डवगुफा ३ की उर्मिला खत्रीले भनिन् ‘अहिले केन्द्रीकृत राज्य भइसकेपछि सिंजाले चाहेको कुरा पनि पाउन सकेको छैन, बल्ल पर्यटन गन्तव्यको सुचिमा पर्दा ढिलै भएपनि न्याय भएको छ ।’

बलिराजाको पालादेखि शक्तिशाली राज्य बनेको सिंजा सभ्यताको महत्व हराउँदै जादा संकटमा पर्यो, तर अहिले बल्ल सरकारको ध्यान गएको उनको भनाई छ ।

‘हामी आफैंले सिंजा सभ्यताको संरक्षण, प्रवद्र्धन जोगेर्ना गर्नु आवश्यक छ’ सिंजा सभ्यताका अनुसन्धानकर्ता बासुदेव उपाध्यायले भने, ‘नेपालमा बोलिने सम्पूर्ण भाषाको सरकारले संरक्षण गरेको छ, तर नेपाली भाषाको उत्पत्ति भएको खस भाषाको विषयमा सरकार सुन्न पनि चाहँदैन’, उनले गुनासो गरिन् ।

‘पर्यटकीय गन्तव्यमा पर्दैमा, सव्यताको न्याय हुन्छ भन्न सकिदैन’ उनले थपिन् ‘प्रयाप्त लगानी अति आवश्यक छ ।’

कर्णाली प्रदेशको केन्द्र सिंजालाई नेपाली भाषाको उद्गम स्थल मानिन्छ ।

सिंजाबाट जारी भएका ताम्रपत्र, स्वर्णपत्र, शिलालेखहरूमा त्यस बेलाको पहिलो नेपाली भाषाको विकसित रूप फेला परेकाले सिंजालाई उद्गम स्थल भनिएको संस्कृतिका जानकार एवं खस भाषाका अध्ययनकर्ता रमानन्द अचार्यले बताए ।

उनले साविकको जिल्ला विकास समिति जुम्लाको सहयोगमा खस भाषाको शब्दकोश समेत बनाइरहेका छन् । उनले ‘खसिया आखर’ नामक खस भाषाको शब्दकोश लेखिरहेका छन् ।

जसले सिंजा सभ्यताको वर्णन गरेको छ ।

सिंजा सभ्यताको इतिहास

आजभन्दा ३४६० वर्षअघि अर्थात् इशापूर्व १४४५ मा राजा जालन्दरले सिंजा राज्य स्थापना गरेका थिए ।

राजा जालन्दरले शिवका भक्त भएकाले शिवको अघिल्लो अक्षर शि र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’बाट जोडेर सिंजा नाम रहन गएको जनश्रुति भेटिन्छ  ।

जालन्दरकी रानी वृन्दाले बास गरेको भनी सिंजामा अहिले पनि पूजा गरिने देवीलाई वृन्दावासिनी भनिन्छ ।

पुराणहरूमा वृन्दालाई पतिव्रता र तपस्वी नारीका रूपमा चित्रण गरिएको पाइन्छ,’ स्थानीय पूर्णप्रसाद धिताल भन्छन्, ‘यिनै वृन्दाको नाम अपभ्रंश हुँदै खस भाषामा बिन्नैनी उच्चारण गरिन्छ  ।’

खस राजा नागराजले र उनका उत्तराधिकारीले सिंजा नगरमा करिब ३०० वर्षसम्म शासन गरेका थिए ।

खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुईपटक भन्दा बढि आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कुमाउ, गडवालसम्मका राज्यलाई आफ्नो साम्राज्यभित्र पारेको इतिहास छ ।

त्यस अवधिमा सिंजा क्षेत्र राजधानी मात्र होइन एक चर्चित सभ्यताका रूपमा विकास भएको इतिहास छ ।

यिनै खस राजाहरूले पूर्वमा नेपाल उपत्यकामा २ पटकभन्दा बढी आक्रमण गरी करत राज्य बनाएको र पश्चिमका कमाउ गरुवालसम्मका तमामा राज्यहरूलाई आफ्नो साम्राज्यभित्र पारिसकेको पाइन्छ ।

सिंजा सभ्यता विकासको लामो शृंखला छ ।

सामाजिक व्यवस्था, ब्राह्मणको उच्च स्थान, सिंजा सभ्यतामा दरबारसम्म पहुँच भएका ब्राह्मणहरूले राज्यबाट भूमि दान वा कृपा प्राप्त गरेका थिए । तिनीहरूलाई राज्यको कर लाग्दैनथ्यो ।

राजकाजमा सल्लाहकार राजदूत, धर्माधिकारी न्यायाधिकारी र प्रशासनिक कर्मचारीमा ब्राह्मणहरू कार्यरत रहेको इतिहास भेटिने गरेको पूर्णप्रसाद धितालले बताए ।

धार्मिक र पर्यटन प्रचुर

राज्यको राजधानी रहेको सिंजा आफैंमा महत्वपूर्ण स्थान हो ।

कर्णाली प्रदेशका खस ब्राह्मण, क्षेत्री, ठकुरी, कामी, दमाई, सुनार, सार्की, संन्यासी आदिहरू मष्टो मान्ने भएकाले यिनीहरू प्रकृतिपूजक हुन्, जुन तराईका ब्राह्मण, क्षेत्री आदिले मान्ने देवताभन्दा सर्वप्राचीन हुने भनेर विद्वान्हरूले लेखेका छन् ।

यसबाट कर्णालीका खसहरू आदिवासी हुन भन्न सकिन्छ र उनीहरूको सभ्यता पनि आफ्नै खाले छ । बहुजातिय नेपालीको पहिचान पनि सिंजा सव्यताबाट दिइएको छ ।

हरेक पर्वको मर्म अनुसार मनाउने तरिका सबै पुरानै छ ।

धार्मिक पर्यटनको सम्भवाना भएपनि सिंजा ओझेलमा छ । सिंजाका राजा पृथ्वी मल्ल लगायतका राजाको ताम्रपत्र, कनकपत्रमा करको उल्लेख भएबाट मुलुकमा करको चलन सिंजाबाटै भएको अनुमान गर्न सकिन्छ ।

सिंजालगायत कर्णाली प्रदेशमा मध्यकालमा निर्माण भएका ढुंगे देवल, मुग्राहा, वीरखम्ब, कीर्तिखम्बहरूले पनि सिंजा सभ्यताको ऐतिहासिक झलक देखाउँछ ।

सम्भावना तथा एैतिहासिक महत्व बोकेको सिंजा सव्यताको संरक्षण तथा प्रवद्र्धनमा गाउँपालिकाले विशेष योजना अघि सार्ने सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताए ।

प्रयाप्त बजेट छुटाएर सिंजा सव्यतासंग जोडिएका सम्पदाको सरंक्षण गर्ने उनको भनाई छ ।

साथै सिंजा क्षेत्रमा पर्ने हीमा र कनकासुन्दरी गाउँपालिकाले पनि सिंजा को विकास लागि हातोमालो गर्ने प्रतिबद्धता जनाएका छन् ।

पर्यटन गन्तव्यका रुपमा सिंजा सभ्यता परेपछि स्थानीय सरकारको घैटोमा बल्ल घाम लागेको जानकारहरु बताउँछन् ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

आइतबार, १८ कार्तिक २०७५

प्रतिक्रिया

Related