कहाँ पुग्यो ‘मेलम्ची आयोजना’को सुरुङ खन्ने काम ?

नोभेम्बर महिनाभित्रै सुरुङ ढलानको काम पूरा गर्न निर्देशन
निर्माण सञ्चार, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनाको अझै सात किलोमिटर सुरुङ ढलान गर्ने काम बाँकी रहेको छ ।

मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७.५८४ किलोमिटर सुरुङमध्ये २० किलोमिटरभन्दा बढी ढलान भइसकेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दियो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार बाँकी ढलानको काम भने अगामी नोभेम्बरभित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको छ ।

प्रवक्ता पन्तले दसैँमा घर गएका कामदार हालसम्म नफर्किएकाले सुरुङ ढलानको कामले तीव्रता पाउन नसकेको बताए ।

‘हामीले नोभेम्बर महिनाभित्रै सुरुङ ढलानको काम पूरा गर्न निर्देशन दिएका छौँ,’ उनले भने, ‘ढलानको काम सम्पन्न भएपछि बाँकी कामले गति लिने विश्वास लिएका छौँ ।’

प्रवक्ता पन्तले नोभेम्बर महिनामा बाँकी ढलान पूरा गर्न दैनिक २५० मिटर ढलानको काम हुनुपर्नेमा अहिले १८० मिटर मात्र ढलान भइरहेको जानकारी दिए ।

उक्त सुरुङ ढलान सकेपछि सुरुङको विभिन्न भागमा गेटहरू जडान गर्नुपर्ने उनको भनाई छ

। पन्तकाअनुसार चीन र भारतमा निर्माण भएको सो गेट र गेटवालहरू भन्सार कार्यालयसम्म आइसकेको छ । तर, निर्माण कम्पनी भन्सार छुटाउन लागिपरेको बताउँछन्, उनी ।

आयोजनाका अनुसार उक्त आयोजना निर्माणको जिम्मा पाएको इटालियन निर्माण कम्पनी सिएमसी डी राभेनाले आयोजनाको म्याद थप्न आग्रह गरेको छैन ।

यससँगै आयोजनाले पनि जतिसक्दो चाँडो काम सम्पन्न गर्न अनुरोध गरेको प्रवक्त पन्तले जानकारी दिए ।

...
आइतबार ११ कार्तिक २०७५

 

प्रतिक्रिया

Related