दैनिक ३ अर्ब ८८ करोडको व्यापार घाटा !

आधा भन्दा बढी घाटा भारतसँग
निर्माण सञ्चार, काठमाडौँ |  चालू आर्थिक वर्षको तीन महिनामा वैदेशिक मुलुकसँगको व्यापार घाटा चूलिएको छ । २०७५/०७६ चालू आवको तीन महिनामा देशले ३ खर्ब ४९ अर्ब ८४ करोडको व्यापारघाटा बेहोर्नु परेको छ ।

गत वर्षको सोही अवधिमा २ खर्ब ३९ अर्ब ७५ करोड रुपियाँ रहेको थियो । जसका आधारमा चालू आवको यो तीन महिनामा झनै व्यापार घाटा बढेको देखिन्छ ।

यो तीन महिनामा नेपालमा ३ खर्ब ७५ अर्ब रुपियाँ बराबरको विदेशी वस्तु भित्रिएको छ भने २३ अर्ब ७४ करोड रुपियाँको मात्रै स्वदेशी वस्तु बाहिरिएको छ ।

 व्यापार घाटा किन ?

आयात निर्यातको अनुपातमा तालमेल हुननसक्दा देशले प्रत्येक दिन झन्डै ४ अर्बको ब्यापार घाटा बेहोर्नु परेको हो ।

तीन महिनाको औसत ९० दिनलाई आधार मान्दा भन्सार विभागको तथ्यांक अनुसार मुलकले एक दिनमै ३ अर्ब ८८ करोडको ब्यापार घाटा बेहोर्ने गरेको छ । सो क्रम प्रत्येक बर्ष बढ्दै गएको छ ।

आधा भन्दा बढी घाटा भारतसँग !

आधा भन्दा बढी घाटा नै छिमेकी देश भारतसँग हुने गरेको छ । भारतबाट दुई खर्ब ३६ करोड बराबरको आयात हुँदा १३ अर्ब १६ करोड रुपियाँको मात्र निर्यात भएको छ ।

भारतसँग मात्रै तीन महिनाको अवधिमा दुई खर्ब २२ अर्ब ९५ करोड रुपियाँ व्यापार घाटा भएको तथ्यांकले दखाउँछ ।

त्यसैगरी, चीनसँगको व्यापार घाटा ५२ अर्ब ५५ करोड बराबर रहेको छ ।

तीन महिनामा चीनबाट ५३ अर्ब ११ करोड बराबरको सामान आयात र ५६ करोड ४० लाखको निर्यात भएको तथ्यांकमा उल्लेख छ।

तीन महिनामा मुलुकले वैदेशिक व्यापार गरेका मुख्य देशहरुमा भारत, चीन, फ्रान्स, जर्मनी, बेलायत, अमेरिका, युएईलगायत छन् ।

आयातको अवस्था हेर्दा सबैभन्दा धेरै भारतबाट ६३.२ प्रतिशत छ भने चीनबाट १४.२ प्रतिशत आयात भएको छ। बाँकी देशबाट १६.६ प्रतिशत आयात भएको विभागले उल्लेख गरेको छ।

त्यसैगरी, निर्याततर्फ छिमेकी देश भारतमा सबैभन्दा धेरै छ । मुलुकले निर्यात गरेको कुल सामानमध्ये ५५.४ प्रतिशत भारत गएको छ। दोस्रोमा सबैभन्दा धेरै निर्यात भएको मुलुकमा अमेरिका छ ।

कुल निर्यातको १३.५ प्रतिशत सामान अमेरिका गएको छ। त्यसैगरी, बेलायतमा ४.२ र जर्मनीमा ४.१ प्रतिशत निर्यात भएको छ ।

अन्य देशमा २२.८ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ।

मुलुकले पछिल्लो तीन महिनामा गरेको कुल व्यापारमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३१.३२ प्रतिशत, विराटनगर भन्सारबाट २६.८१ प्रतिशत र वीरगन्जबाट १७.५५ प्रतिशत व्यापार भएको तथ्यांकमा उल्लेख छ।

असोज महिनामा कति राजस्व संकलन ?

सबैभन्दा बढी रसुवा भन्सार कार्यालयबाट सरकारले चालू आवको तीन महिनामै १ खर्ब १२ अर्ब ३५ करोड रुपियाँ राजस्व संकलन गरिसकेको छ ।

भन्सार विभागका अनुसार असोज एक महिनामा मात्रै ४० अर्ब २९ करोड रुपियाँ राजस्व संकलन भएको छ । यो महिनामा सरकारले लक्ष्यको १३७.२४ प्रतिशत राजस्व संकलन गरेको हो ।

जुन रकम भन्सार महसुल, मूल्य अभिबृद्धि कर, अन्त शुल्क र पुर्वाधार कर समेतको रकम हो ।

रसुवा भन्सार विभागले असोज महिनामा ५७ करोड २४ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको भएता पनि ४ सय ६ प्रतिशत राजस्व संकलन गरेको भन्सार विभागका निर्देशक विनोद शरण आचार्यले जानकारी दिए ।

उनका अनुसार यस कार्यालयबाट उक्त अवधिमा २ अर्ब ३२ करोड ६९ लाख रुपियाँको राजस्व संकलन भएको छ ।

यसैगरी, वीरगंज भन्सार कार्यालयले एक महिनामा १६ अर्ब ३१ करोड रुपियाँ राजस्व संकलन गरेको निर्देशक आचार्यले बताए । सो रकम लक्ष्यको १३५.८१ प्रतिशत हो ।


पढौँ यो पनि,
बैंकिङ क्षेत्रमा तरलता संकटः लगानीयोग्य पुँजीको अभाव

...

आइतबार ११ कार्तिक २०७५

प्रतिक्रिया

Related