अब कोटेश्वर र बानेश्वर अन्डरपास डिजाइन नेपालीले गर्ने !

तीन वर्षमा पूरा हुने अन्डरपास निर्माण
निर्माण सञ्चार, काठमाडौँ | कोटेश्वर र बानेश्वरमा निर्माण हुने अन्डरपासको डिजाइन अब नेपाली परामर्शदाता ले बनाउने भएको छ।

सडक विभागको पुल महाशाखा अनुसार डिजाइन बनाउन जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्टलाई छनोट गरिएको छ ।

अन्डरपासको डिजाइन तयार गर्न प्राविधिकरूपमा ५ परामर्शदाता छनोट गरिएको मध्येमा जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्टले न्यूनतम अंक कबुल गरेको सडक विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

उक्त अन्डरपासको डिजाइन बनाउन ७५ लाख रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो ।

तर, परामर्शदाताले ३२ लाख रुपियाँमा डिजाइन तयार गर्ने प्रस्ताव गरेको उपमहानर्दिशक थापाले बताए ।

सार्वजनिक खरिद नियमअनुसार प्राविधिकरूपमा सक्षम देखिएका कम्पनीमध्ये न्यूनतम अंक कबुल गर्नेेले ठेक्का पाउने गर्छ ।

सोही कारण जीईओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्टले डिजाइनको जिम्मा पाउने भएको हो । कन्सल्टेन्टले प्रारम्भिक अनुमानित रकमभन्दा सस्तोमा प्रस्ताव गरेको थियो । सो विषयमा महाशाखाले परामर्शदातासँग छलफल गरिसकेको छ ।

परामर्शदाताले प्रस्ताव गरेको मूल्यमै डिजाइन गर्न सक्षम भएको प्रतिबद्धता जाहेर गरेको थापाले बताए ।

थापाले भने, ‘दुई साताभित्रमा परामर्शदातासँग डिजाइनका लागि सम्झौता हुनेछ ।’

६ महिना भित्रमा अन्डरपास डिजाइन

परामर्शदाताले ६ महिनाभित्रमा अन्डरपासको डिजाइन सकेर महाशाखालाई बुझाउने थापाको भनाई छ । यससँगै चालु आर्थिक वर्षभित्रमै डिजाइनसम्बन्धी काम पूरा हुनेछ ।

आउँदो आर्थिक वर्षमा निर्माणसम्बन्धी ठेक्का प्रक्रिया अगाडि बढ्ने थापाले जानकारी दिए ।

तीन वर्षमा अन्डरपास बन्ने

निर्माण निर्माण सुरु भएको तीन वर्षमा अन्डरपास बन्ने परमर्शदाता कम्पनीको दाबी छ ।

महाशाखाले एउटा अन्डरपास बनाउन ९० करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ । यसको यकिन लागत भने डिजाइन पछि थाहा हुन थापाले बताए ।

काठमाडौंमा बढ्दै गएको सवारी आवागमनलाई सहज बनाउन सरकारले कोटेश्वर, बोनेश्वर र महाराजगन्जमा अन्डरपास बनाउने तयारी गरेको थियो।

हाल चीनले कलंकीदेखि महाराजगन्जसम्म सडक विस्तार गर्दैछ ।

अहिलेको जस्तो अव्यवस्थित जाम नहुने

बानेश्वरमा यसअघि पनि अण्डरपास निर्माणका लागि डिजाइन भएको थियो । तर, पुरानो बानेश्वरबाट शंखमुल जानेतर्फ अण्डरपास बन्ने गरी डिजाइन गरिएको थियो ।

विभागले सवारीको चाप बढी हुने खण्डमै अण्डरपास बनाउनुपर्ने निश्कर्ष निकालेर नयाँ डिजाइन गर्न लागेको हो।

काटेश्वरमा भने परामर्शदाताले उपयुक्त ठहराएअनुसार अण्डरपास बनाउने योजना विभागको छ ।

दुवै सुरुङमार्ग स्वदेशी लगानीमै निर्माण गर्ने तयारी भएको छ। यी दुबै चोकहरु अहिले काठमाडौंमा सबैभन्दा धेरै जाम हुने स्थानमा गनिन्छन् ।

अन्डरपार बनेपछि कोटेश्वरको बस्तीतर्फ जाने सवारीसाधन अन्डरपास माथिबाट गुड्नेछन्।

यसरी गाडी गुडाउँदा बानेश्वर र कोटेश्वर चोकमा अहिलेको जस्तो अव्यवस्थित जाम नहुने महाशाखाको अपेक्षा रहेको छ ।

...

मंगलबार, १३ कार्तिक २०७५ 

प्रतिक्रिया

Related