गौतमबुद्ध विमानस्थलको रनवे पिच सुरु, हालसम्म के–के भयो काम ?

६ महिनाभित्रै उडान सुरु हुने मन्त्री अधिकारीको दाबी
निर्माण सञ्चार, बुटवल | भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रनवे पीच सुरु भएको छ ।

बिमानस्थलमा रहेको ३ किमी रन वेको सव बेस लेयर र बेस लेयर पूरा गरेर अहिले आयोजनाले पिचको काम सुरु गरेको हो ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ६ महिनाभित्रै उडान सुरु हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको दाबी छ । 

मंगलबार ‘रनवे पिच’को उद्घाटन गरेका मन्त्री अधिकारीले विमानस्थल निर्माण सम्पन्न गरेर ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन् ।

अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश काम अन्तिम चरणमा पुगेको उनको दाबी छ ।

मन्त्री अधिकारीले पछिल्लो समय विमानस्थल निर्माणको कामले तीव्रता पाएको बताउँदै तोकिएकै समयमा विमानस्थल बन्ने प्रष्ट पारे ।

के–के भयो काम ?

हालसम्म बिमानस्थलमा निर्माण कार्य ५५ प्रतिशत सकिएको छ ।

जसअन्तर्गत पाँच वटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ्ग एरियाको काम पूरा भइसकेको छ ।

त्यसैगरी, ओभरहेड ट्याङ्की, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवन लगायतको काम पनि अन्तिम चरणमा छ ।

यससँगै विमानस्थल निर्माण गर्दा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा भने ढिलाई भइरहेको छ ।

 स्थानीयको भावनाअनुसारै यसै वर्ष ९ अर्ब मुआब्जा वितरण गर्ने गरिने भन्दै मन्त्री अधिकारले आश्वासन दिएका छन् । हवाई रुटका लागि भारतसँग छलफल भइरहेको समेत मन्त्री अधिकारीले बताए ।

हवाई रुट नभएर विमानस्थल सञ्चालनमा आउन्न कि भन्ने आशंका हटाउन उनको आग्रह थियो ।

फोटोः मन्त्री अधिकारीको ट्वीटर ह्याण्डिलबाट 

६ अर्ब २२ करोड रुपियाँ लागत

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थलको स्तरोन्नती सुरु गरिएको थियो । तर, तोकीएको समयमा काम हुन सकेन ।

पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले काम गरिरहेको छ ।

एसियाली विकास बैंकको अनुदान र ऋण सहयोग गरी कुल ६ अर्ब २२ करोड रुपियाँ लागतमा विमानस्थल निर्माणको काम भइरहेको आयोजनाले बतायो ।

अहिलेसम्म विमानस्थल निर्माणमा २ अर्ब ६ करोड खर्च भइसकेको छ ।

....

मंगलबार, १३ कार्तिक २०७५ 

प्रतिक्रिया

Related