चीनलाई पछि पार्दै भारतले बनायो विश्वकै अग्लो मूर्ति

पटेलको ‘स्ट्याच्यु अफ युनिटी’ हेर्न ३०५ भारतीय रुपियाँ लाग्ने
निर्माण सञ्चार, काठमाडौँ | भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको विश्वकै सबैभन्दा अग्लो मूर्ति निर्माण गरेको छ ।

१८२ मिटर अग्लो ‘स्टाच्यु अफ युनिटी’ को निर्माणमा भारतले २९ अर्ब ८९ करोड (४७ अर्ब ५० करोड नेपाली रुपियाँ खर्च गरेको हो ।

यो मूर्तिको प्रम मोदीले बुधबार एक कार्यक्रमबीच अनावरण गरेको छ। पटेलको १४३ औँ जन्म जयन्तीमा प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य समारोहबीच यो मूर्तिको अनावरण गरेका हुन् ।

यस क्रममा प्रम मोदीले कौटिल्यको कुटनीति र शिवाजीको शौर्यको मिलनका रुपमा सरदार पटेललाई व्याख्या गरे ।

मोदीले सबैजनाले भारत बिग्रिएको टिप्पणी गरिरहेका बेला सरदार पटेल मात्रै आशाका किरण रहेको पनि टिप्पणी गरे । आफ्नो उचाईका कारण यो प्रतिमा अब विश्वकै सबैभन्दा अग्लो मूर्ति भएको छ ।

विश्वमा अब दोस्रो अग्लो मूर्ति चीनस्थित स्प्रिङ्ग टेम्पलमा बुद्धको मूर्ति रहेको छ । जसको उचाई १५३ मिटर छ । सरकारले आम्दनीका लागि अब यो मूर्ति हेर्न टिकट पनि लगाउने भएको छ ।

यो प्रतिमा नर्मदा नदीमा रहेको सरदार सरोवर बाँधबाट ३.५ किलोमिट दूरीमा रहेको छ ।

मूर्ति बनाउन कम्पनी एलएन्डटीका मुख्य कार्यपालक अधिकारी एबम् प्रबन्ध निर्देशक एस एन सुब्रमण्यनले भने, ‘स्ट्याच्यु आफ युनिटी जहाँ राष्ट्रिय गौरव र एकताको प्रतीक भएको छ ।

अर्कातिर भारतको इन्जिनियरिङ्ग कौशल तथा परियोजना प्रबन्धन क्षमताको सम्मान पनि ।’

यस मूर्तिका प्रमुख शिल्पकार ९२ वर्षीय राम वी सुतार हुन् । सरदार पटेलको स्ट्याच्यु अफ युनिटी हेर्न ३०५ भारतीय रुपियाँ खर्च गर्नुपर्ने छ ।

साथै घुम्नेले परिसरसम्म बसको सुविधा लिने हो भने ३० रुपियाँ अतिरिक्त तिर्नुपर्नेछ । लर्सन एन्ड टर्बो र राज्य सरकारको सरदार सरोवर नर्मदा निगम लिमिटेडले २५० इन्जिनियर, ३,४०० मजदुरको सहयोगमा चार वर्षमा यो मूर्ति बनाइएको हो ।

प्रतिमा निर्माणका लागि भारतका साथै चीनका पनि शिल्पकार लगाइएको थियो । स्ट्याच्यु अफ युनिटीको जम्मा तौल १७०० टन रहेको छ ।

यसको उचाई ५२२ फिट अर्थात १८२ मिटर रहेको छ। यो प्रतिमाको खुट्टाको उचाई ८० फिट, हाको उचाई ७० फिट, काँधको उचाई १४० फिट र अनुहारको उचाई ७० फिट छ ।

यस मूर्तिको निर्माण ९२ वर्षीय राम वी सुतारको रेखदेखमा भएको हो ।

देश/विदेशमा आफ्नो शिल्प कलाले प्रख्यात छन् राम वी सुतार । उनलाई सन् २०१६ मा सरकारले पद्म भूषणबाट सम्मानित गरेको थियो । अहिलेसम्म चीनस्थित स्प्रिङ्ग मन्दिरस्थित १५३ मिटर अग्लो बुद्ध प्रतिमा हालसम्मकै अग्लो मूर्ति थियो ।

तर, सरदार वल्लभ भाई पटेलको प्रतिमाले चीनको मूर्तिलाई पछि छाडेको छ ।

१८२ मिटर अग्लो ‘स्ट्याच्यु अफ युनिटी’ को उचाई न्यूयोर्कको ९३ मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ भन्दा दुई गुणा छ ।

एजेन्सीको सहयोगमा

...

बुधबार, १४ साउन २०७४ 

प्रतिक्रिया

Related