विमानस्थलः सर्वसाधारणलाई बन्द, मन्त्रीलाई खुल्ला !

निर्माण सञ्चार, जुम्ला | दुई सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको उपचार गराइरहेकी रोल्पा थवाङकी जनसरी घर्तिलाई अस्पतालले रिफर गर्दा बिमानस्थल बन्दका कारण जहाजले बोक्न मानेन ।

अक्सिजन जोडेर एम्बुलेन्समा विमानस्थल पुगेकी घर्ति अस्पतालले रिफर गरेता पनि राजधानी जान सकिनन् । अन्ततः सोही अस्पतालमा फर्किएकी घर्ती हाल जुम्लामै उपचाररत छिन् ।

स्तरउन्नती हुने भन्दै कार्तिक ७ गतेबाट विमानस्थल बन्द गरिएपछि जनसरी घर्ती लगायत धेरैले कष्ट पाएका छन् ।

जीवन र मरणको क्षणमा रहेकी उनलाई काठमाडौं लैजानका लागि जहाज मगाउन धेरै ठाउँबाट पहल भएता पनि विमानस्थल बन्द भएकोले जहाजको सुरक्षा चुनौति थेग्न नसक्ने भन्दै व्यवस्थापन हुन सकेन ।

आपतकालीन अवस्थामा समेत जहाजले बन्द विमानस्थलमा अवतरण गर्न नमान्दा हीमा गाउँपालिका १ मा जीप दुर्घटनामा परेर घाइते भएका चार जना विरामी समेत सहजै रुपमा जान सकेनन् ।

दुर्घटनाका विरामी लैजानको लागि नेपाली सेनाको हेलिकप्टर आएपछि मुटुरोगी जनसरीलाई पनि लगिएको थियो ।

यस्ता जटिल समस्या भाग्नेहरु धेरै छन्, यहाँ ।

तर, मन्त्री जुम्ला आउँदा/जाँदा एकाएक विमानस्थल खुला भएको सुन्दा भने जुम्लाबासी आक्रोसित भएका छन् ।

मृत्युको मुखमा पुगेका सर्वसाधारणका लागि माग गर्दा नआउने तर, मन्त्री आउना साथै उडान गर्ने भन्दै विरामीका आफन्त प्रेमराज गिरीले आक्रोस व्यक्त गरे ।

ठुलालाई मस्ती र सर्वसाधरण्लाई सास्ती दिने संस्कार हावी हुँदा समस्या भएको जुम्लाबासीले बताए ।

‘विरामी उडाउनका लागि थप जहाज मगाउन खोज्दा सुरक्षा चुनौति भन्ने, तर एक जना मन्त्री आउनको लागि जहाज लिएर आउनु पर्ने विडम्बनाको विषय हो, गीरिले भने ।

जुम्लाका सर्वसाधारणको चित्कारका अगाडि सस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रबिन्द्र अधिकारी जहाज चढेर जुम्ला आउँदा र बिहीबार पनि विमानस्थल बन्दकैबीच फर्कदा जुम्लाबासीले आक्रोश पोखेका छन् ।

दुर्गम क्षेत्रका विरामीले जहाज मगाउँदा पनि बन्द गरिएको वाहनामा आउन नमान्ने गरेको भएपनि मन्त्री आफै बन्द गरिएको विमानस्थलमा जहाजमै आउँदा जाँदा चर्को विरोध भइरहेको छ ।

बिहीबार विहान पनि मन्त्री अधिकारी तारा एयरको जहाज चडेर गएका हुन् । त्यसपछि पनि सर्वसाधारणका लागि स्तरउन्नती गर्ने भन्दै विमानस्थल बन्द गरिएको छ ।

जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले विमानस्थल स्तरउन्नतीका लागि एक महिना बन्द गरिएको बताए । तर, नागरिक उड्ययनमन्त्री नै जुम्ला आउन र जानका लागि मात्र खुला गरिएको शर्माले बताए ।

विमानस्थल निरीक्षणको लागि भएपनि मन्त्रीका लागि खुल्ला गरिएको उनको भनाई छ ।

जुम्ला विमानस्थल सुरक्षा समितिले स्तरउन्नतीको लागि बन्द गर्ने सिफारिस गरेकोले नागरिक उड्ययन प्राधिकरण केन्द्रीय कार्यालयले सूचना प्रकाशित गरेर जुम्ला बिमानस्थल बन्द गराएको थियो ।

तर, सर्वसाधारणले गुहार माग्दा पनि जहाज ल्याउन नमान्ने, मन्त्री आउँदा/जाँदा जहाज ल्याएको भन्दै हाल जुम्लामा चर्को विरोध भइरहेको छ ।

शान्ती स्तुपा उद्घाटन तथा रारामा हुने कार्यक्रमका लागि जुम्ला पुगेका पर्यटन मन्त्री रविन्द्र अधिकारी बिहीबार फर्किएका छन् ।

कर्णाली प्रदेशका निर्माण संवाददाता सागर परियार

....

बिहीबार १५ कार्तिक २०७५ 

प्रतिक्रिया

Related