नेपालगन्ज विमानस्थल स्तरोन्नति: थपिदैं अन्तर्राष्ट्रियस्तरका पूर्वाधार

६ वटा एटिआर ७२ जहाज अट्न सक्ने एप्रोन एरिया निर्माणको शिलान्यास
निर्माण सञ्चार, काठमाडौँ | नेपालगन्ज विमानस्थलमा अन्तर्राष्ट्रियस्तरका पूर्वाधार निर्माणलाई गति दिइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगन्ज विमानस्थलमा अन्तर्राष्ट्रियस्तरका पूर्वाधारलाई तीव्रता दिन निर्देशन दिएको हो ।

सोहीक्रममा बिहीबार ६ वटा एटिआर ७२ वा सोसरहका जहाज अट्न सक्ने एप्रोन एरिया निर्माणको शिलान्यास संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरेका छन् ।

उक्त विमानस्थलमा अहिले दुईवटा मात्र एटिआर ७२ स्तरका जहाज एकैसाथ रोकेर यात्रु चढाउन र ओराल्न मिल्छ ।

एप्रोन एरिया निर्माणको शिलान्यासका क्रममा मन्त्री अधिकारीले नेपालगन्ज विमानस्थलको स्तरोन्नति गर्ने सरकारको लक्ष्यअनुसार नै कार्यक्रम शुभारम्भ भएको बताए ।

सरकारले नेपालगन्ज विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न वायुसेवा कम्पनीहरूलाई अनुमति दिइसकेको छ ।

सोही योजनाअनुसार क्रमशः आवश्यक पूर्वाधार थप गरिने नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज कार्यालयले जानकारी दियो । यो आयोजना कान्छाराम कन्ट्रक्सन प्रालिले निर्माण गर्दै छ ।

गत असोज १६ बाट निर्माण ठेक्का पाएको कम्पनीले १८ महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरीले जानकारी दिए ।

प्राधिकरणको करिब २८ करोड ५३ लाख रुपियाँ लागतमा सो आयोजनाको काम थालिएको थियो ।

हिमाली भेगमा उडान हुने हब विमानस्थल

नेपालगन्ज विमानस्थलमा हुम्लाको सिमिकोट, जुम्ला, बाजुरा, डोल्पा, मुगुको ताल्चा, अछामको साफेबगरमा क्षेत्रीय उडान हुन्छ ।

साथै मध्यपश्चिम तथा कर्णाली भेगका मानिस नेपालगन्ज झरिसकेपछि काठमाडौं आउन पनि सोही विमानस्थल प्रयोग गर्छन ।

भारतीय पर्यटकहरू समेत नेपालगन्जबाट ठूलो संख्यामा काठमाडौं आउने गरेको प्रमुख ठाकुरले जानकारी दिए । यो विमानस्थल कर्णाली र सुदूरपश्चिममा पहाडी तथा हिमाली भेगमा उडान हुने हब विमानस्थल हो ।

प्रमुख ठाकुरीका अनुसार पर्यटन सिजनमा यस विमानस्थलबाट दैनिक ५०–६० उडान हुने गर्दछ ।

कुन–कुन एयरले उडान ?

नेपालगन्जबाट पहाड तथा हिमालका साना विमानस्थलमा तारा एयर, समिट एयर, नेपाल वायुसेवा निगम र सिता एयरले उडान गर्दै आएका छन् ।

काठमाडौंबाट भने श्रीएयरलाइन्स, बुद्ध एयरलाइन्स र यति एयरलाइन्सलगायतले नियमित उडान गर्दै आएका छन् ।

सिजनमा विमानस्थल अति व्यस्त

पर्यटकीय तथा चाडबाडको सिजनमा यो विमानस्थल अति व्यस्त हुने प्रमुख ठाकुरीको भनाई छ । तर, पर्याप्त भौतिक पूर्वाधारको अभावले व्यवस्थापनमा गर्न निकै हम्मेहम्मे पर्ने गरेको बताउँछन्, उनी ।

प्राधिकरणले पार्किङ क्षेत्रको विस्तारबाट विमानस्थलमा हवाई सुरक्षा अभिवृद्धिमा टेवा पुग्ने को विश्वास लिएको छ ।

जहाजलाई चार्टर्डमा लैजान पूर्ण रोक

पर्यटनमन्त्री अधिकारीले नेपालगन्ज विमानस्थललाई हब मानेर उडान गर्न सकिने यस आसपासका सबै विमानस्थल सञ्चालनको वातावरण बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन् ।

चार्टर्ड उडानका कारण नियमित उडान प्रभावित गर्न नपाइने बताउँदै मन्त्री अधिकारीले जहाजलाई अब चार्टर्डमा लैजान पूर्ण रोक लगाइने दाबी गरे ।

...

शुत्रबार, १६ कार्तिक २०७५ 

प्रतिक्रिया

Related