मुक्तिनाथमा नेपालकै सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण

अग्लो स्थानबाट बुद्ध नेपालमै जन्मेको सन्देश विश्वलाई दिने उद्देश्य
निर्माण सञ्चार, मुस्ताङ |  मुक्तिनाथमा नेपालकै सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति निर्माण गरिएको छ । यो मूर्तिको केही दिनअघि एक विशेष कार्यक्रमबीच धार्मिक विधिपूर्वक अनावरण गरिएको थियो ।

अमेरिका निवासी व्यवसायी सोनाम लामाको करिब ४ करोड रुपियाँ लगानीमा उक्त मूर्ति निर्माण गरिएको हो ।

मुक्तिनाथमै जन्मथलो भएका सोनाम लामाले भने ‘मूर्ती निर्माणको सुरुवातमा २ करोड रुपियाँ लागतमा स्थापनाको योजना लिइएको थियो, पछि लागत बढेर ४ करोड पुग्यो ।’

बुद्धको मूर्ति मुक्तिनाथमा स्थापित गरेर नेपालको अग्लो स्थानबाट बुद्ध नेपालमा जन्मेको सन्देश विश्वलाई दिन खोजेको मूर्ती स्थापनाकर्ता लामाले बताए । सन् २०१३ बाट निर्माण थालिएको यो बुद्धमूर्ति ३५ फिट अग्लो छ ।

साथै मूर्तिको तौल ६० हजार किलो भन्दा बढी छ ।

मुक्तिनाथमा प्रतिस्थापित बुद्धमूर्ति ललितपुरको पाटनमा निर्माण गरिएको छ ।

मूर्तिकार धर्मराज शाक्यको डिजाइन र उनका भाई उत्तम शाक्यसहित बुद्धमूर्ति निर्माणमा अन्य २० जना कालीगढ जुटेका लामाले जानकारी दिए ।

सन् २०१३ मा तत्कालिन पर्यटनमन्त्री पोष्टबहादुर बोगटी (हाल दिवंगत) ले बुद्धमूर्ति स्थापनास्थलको शिलन्यास गरेका थिए । उक्त मूर्ति फर्पिङबाट ल्याइएको विशेष ढुंगाबाट निर्माण गरिएको हो ।

सन् २०१५ अप्रिल (२०७२ वैशाख १२) को भूकम्पले बनिसकेको मूर्ति भत्काइदिएको थियो ।

पाटनमा यो मूर्ति सन् २०१५ अक्टोबरमै तयार भएतापनि त्यहाँबाट मुक्तिनाथसम्म पुर्याउन ६ महिना लागेको थियो ।

मूर्तिलाई ट्रकमा हालेर सन् २०१६ मार्चमा मुक्तिनाथमा लगिएको थियो ।

कस्तो छ मूर्ति ?

बुद्धमूर्तिको टाउको मात्रै पाँच फिट अग्लो छ भने टाउकोको तौल करिब ५ हजार किलो रहेको छ । टाउकोमाथि डेढ फिट अग्लो मुकुट समेत राखिएको छ । बुद्धमूर्तिको पाखुरो ९ फिट र चौडाई १८ इन्च छ ।

उक्त विशाल मूर्ति मुक्तिनाथको १२ हजार ६ सय फिटमा स्थापित गरिएको छ ।

यो बुद्धमूर्ति नेपालको सबैभन्दा अग्लो स्थानमा स्थापित सबैभन्दा ठूलो ढुंगाको बुद्धमूर्ति हो । संसारको सबैभन्दा ठूलो पत्थरको बुद्धमूर्ति चिनको सिचुवान प्रान्तमा छ । त्यो मूर्ति ७१ मिटर अग्लो छ ।

नेपालमा सिमेन्टका बुद्धमूर्ति यो भन्दा अग्ला छन् । तर, ढुंगाबट बनाइएको यो बुद्धमूर्ति नेपालको सबैभन्दा ठूलो हो । उक्त बुद्धमूर्ति लुम्बिनीमा जन्मिएका गौतम बुद्ध भूमिस्पर्स मुद्रामा छन् ।

पवित्र क्षेत्र मुक्तीनाथ

हिन्दुहरुले मुक्तिनाथलाई मुक्तिक्षेत्रका रुपमा लिन्छन् ।

उनीहरुले भगवान विष्णुको पावन क्षेत्रकारुपमा मुक्तिनाथलाई पूजा गर्ने गर्छन् ।

सतीदेवीको अंग पतन भएको शक्तिपीठकारुपमा समेत दर्शन गरिने मुक्तिनाथ क्षेत्रमा बौद्धगुरु रिन्पोछे पद्मसम्भव तिब्बतबाट यात्राका क्रममा ध्यान गरेको पवित्र क्षेत्र पनि मानिन्छ ।

हिन्दुधर्मालम्बीहरु पशुपतिनाथको दर्शनपछि मुक्तिनाथ क्षेत्र जाने गर्छन् । बौद्ध धर्मालम्बी पनि लुम्बिनीको दर्शनपछि मुक्तिनाथ क्षेत्रमा आउने वातावरण बनाउन बुद्धमूर्तिको स्थापना गरिएको लामाको भनाई छ ।

को हुन् मुर्तिस्थापना कर्ता सोनाम

बुद्धमूर्ति स्थापनाकर्ता सोनाम मुक्तिनाथमै जन्मिएका हुन् । उनको जन्म सन् १९६१ मा हालको मुक्तिनाथको पुराङमा भएको थियो । १६ वर्ष गाउँमै बसेका उनी २२ वर्षदेखि अमेरिकामा छन् ।

लामा अमेरिकामा एक सफल नेपाली व्यवसायीका रुपमा पनि चिनिँदै आएका छन् ।

...

शुत्रबार, १६ कार्तिक २०७५

प्रतिक्रिया

Related