प्रदेशमन्त्री केशव स्थापित पदबाट विस्थापित !

निर्माण सञ्चार, काठमाडौँ | प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो ।

मन्त्रिपरिषद्को बैठकमै मुख्यमन्त्री पौडेलमाथि अपशब्द प्रयोग गरेर गाली गरेको आरोप स्थापितमाथि लागेको थियो ।

बैठकका क्रममा प्रदेशको भौतिक विकासको जिम्मेवारी सम्हालेका मन्त्री स्थापित र उनको मन्त्रालयको सुस्त गतिलाई बढाउन मुख्यमन्त्रीले भनेपछि विवाद सुरु भएको हो ।

जनतासँग प्रत्यक्ष जोडिने भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको गति सुस्त भएको र मन्त्री स्थापितको पनि कार्यशैली ठीक नभएको कुरा मुख्यमन्त्रीले बताएपछि उनी स्थापीत आक्रोशित भएका थिए ।

स्रोतका अनुसार बैठकको अन्तिममा मुख्यमन्त्रीले मन्त्री स्थापितको कार्यशैली र उनको मन्त्रालयको गति सुस्त हुँदा कार्यप्रगति शून्य रहेको टिप्पणी गरेपछि सुरु भएको विवाद गालीगलौजसम्म पुगेको थियो ।

मन्त्री स्थापित मन्त्रिपरिषद् बैठकमै नेपाली भाषामा प्रयोग हुने सबै किसिमका गाली प्रयोग गरेको मुख्यमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

त्यसपछि उनलाई मन्त्रिपरिषद्बाट हटाउन मुख्यमन्त्री पौडेल र अर्का मन्त्री कैलाश ढुंगेलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग परामर्शका लागि राजधानी आएका थिए ।

स्थापितलाई नहटाए आफूले काम गर्न नसक्ने भनाइ पौडेलले प्रधानमन्त्रीसँग शिक्षण अस्पतालमै पुगेर राखेका थिए । त्यसपछि भने मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

मुख्यमन्त्री पौडेलले स्थापित संविधानको धारा १६९ को उपाधार २ को खण्ड ख अनुसार स्थापितलाई बर्खास्त गरी उनको मन्त्रालयको जिम्मेवारी पनि आफैँले लिएका पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

‘संविधानले दिएको अधिकार अनुसार मुख्यमन्त्रीले मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको छ’, स्वकीय सचिव पौडेलले भने, ‘तत्काललाई स्थापितले सम्हालेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्नुहुनेछ ।’

...

शुत्रबार, १६ कार्तिक २०७५

प्रतिक्रिया

Related