चाबहिल र माइतीघरमा यात्रुको चापः ‘नयाँ खाले’ पुल बन्ने

अत्याधिक चाप हुने ८ स्थानमा ‘आकाशे पुल’ बनाउने योजना
निर्माण सञ्चार, काठमाडौँ | अब चाबहिल चोक र माइतीघरमा ‘नयाँ खाले’ पुल बन्ने भएको छ ।

काठमाडौँ महानगरपालिकाले पदैलयात्रुको चाप बढी हुने ती दुई स्थानमा ‘स्थानान्तरण आकाशे पुल’ निर्माण गर्ने भएको हो ।

ट्राफिक व्यवस्थापनसँगै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले एक ठाउँबाट अर्काे ठाउँमा सार्न सकिने पुल बनाउन लागिएको महानगरपालिकाले बतायो ।

ती स्थान बाहेक अन्य आवश्यक स्थानको समेत अध्ययन गरिरहेको महानगरपालिकाको भनाई छ ।

भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर रामबहादुर थापाका अनुसार चाबहिल चोक र माइतीघरमा निर्माण गरिने आकाशे पुलका लागि यसै वर्षको बजेटमा १२ करोड छुट्याइएको छ ।

ती दुवै स्थानमा बन्ने पुलको नमुना समेत तयार भइसकेको प्रमुख इन्जिनियर थापाले बताए ।

यससँगै छठलगत्तै निर्माणको बोलपत्र आह्वान गरिने उनको भनाई छ ।

सडक विभाग र ट्राफिक प्रहरीसँग सहकार्य गरेर पुल बनाउने काम अगाडि बढ्ने महानगरपालिकाले बताएको छ ।

कामपाले पैदलयात्रुको अत्याधिक चाप हुने ८ स्थानमा स्थानान्तरण आकाशे पुल निर्माण गर्ने योजना बनाएको थियो ।

जसमध्ये उपत्यकाकै सबैभन्दा बढी यात्रुको बाटो काट्ने नयाँ बानेश्वर चोकमा भने तत्काल आकाशे पुल बनाउने योजना नभएको महानगर बताउँछ ।

तर, प्रतिनिधिसभा भवन चोकमा नै भएकाले सुरक्षा खतरा हुन सक्ने भन्दै सो स्थानमा विकल्पको खोजी भइरहेको इन्जिनियर थापाले जानकारी दिए ।

अन्य सम्भावित स्थान

कामपाका अनुसार आकाशे पुल निर्माण गरिने अन्य सम्भावित स्थानका रूपमा टेकु भन्सार, त्रिपुरेश्वर, माइतीघर, बबरमहल (काठमाडौँ जिल्ला अदालत), पुतलीसडक, महाराजगन्ज, कोटेश्वर, गौशाला चोक रहेको छ ।

स्थानान्तरण गर्न सकिने ‘आकशे पुल’ पहिलोपटक परीक्षणका रूपमा पुरानो बसपार्कअगाडि निर्माण गरिएको थियो ।

हाल कुन– कुन स्थानमा पुल सञ्चालन ?

हाल काठमाडौँ महानगरपालिकाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा रहेका छन् । यसैगरी, रत्नपार्कमा एउटा सब–वे छ ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि बनाइएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छ ।

ती पुल बाहेक बाँकी स्थानका पुल भने तुरुन्तै मर्मत गर्नुपर्ने अवस्थामा रहेको महानगरपालिकाको भनाई छ ।

...

सोमबार, २६ कार्तिक २०७५ 

प्रतिक्रिया

Related