पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न बोलपत्रको थपियो समय

कस्तो बन्नेछ सडक ?
निर्माण सञ्चार, काठमाडौं | पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कञ्चनपुर–कमला सडकखण्डको विस्तार गर्न बोलपत्र प्रक्रियाको समय थप गरिएको छ।

उक्त राजमार्ग अन्तर्गतको कञ्चनपुर–कमला सडकखण्डको ८६ दशमलव ८२ किलोमिटर सडक विस्तार गर्ने बोलपत्रका लागि २० दिन समय थप गरिएको हो ।

प्रारम्भिक छलफलमा निर्माण कम्पनीले बोलपत्र दस्तावेजका विषयमा प्रश्न उठाएको बताउँदै सडक विभाग अन्तर्गतको एसियाली विकास बैंक (एडीबी) निर्देशनालयका प्रमुख सरोज प्रधानले भने ‘त्यसैको जवाफ दिन समय थप गर्नुपर्ने अवस्था सिर्जना भयो ।’

‘कम्पनीलाई जवाफ पठाउनका लागि १० दिनको समय पर्याप्त हुन्थ्यो, सोही अवधिमा चाडपर्व परेकाले २० दिन थप गरिएको हो, प्रमुख प्रधानले दाबी गरे ।’

यसअघि निर्देशनालयले असोज १५ गते बोलपत्र प्रक्रियामा सहभागीसँग ठेक्काको विषयमा प्रारम्भिक छलफल गरेको थियो । सप्तरी र सिरहा जिल्लामा पर्ने कञ्चनपुर–कमला सडक दुईवटा प्याकेजमा विस्तार गर्न लागिएको हो ।

जसअन्तर्गत कञ्चनपुर–कुशाह खण्डको ४० किलोमिटर र कुशाह–कमला खण्डको ४७ किलोमिटरको दुई प्याकेज बनाइएको छ ।

सो सडकखण्ड विस्तार गर्न निर्देशनालयले गत भदौ २७ गते नै बोलपत्र आह्वान गरेको थियो भने कात्तिक ९ गते बोलपत्र बुझाउने अन्तिम म्याद तोकेको थियो ।

चार लेनमा स्तरोन्नति

हाल कञ्चनपुर–कमला सडक खण्ड दुई लेनको छ । निर्देशनालयले सही सडकलाई चार लेनमा स्तरोन्नति गर्न लागेको हा ।

लागत अनुमान कति ?

उक्त सडक विस्तार गर्न निर्देशनालयले २५ करोड ६० लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।

एडीबीले सो सडक विस्तारका लागि १८ करोड ५० लाख अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । एडीबीले ३२ वर्षका लागि १.५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने भएको हो ।

अबको दुई साताभित्रै एडीबीसँग ऋण सम्झौता हुने निर्देशनालयले जानकारी दियो । यसैगरी, यो सडक विस्तारका लागि अपुग रकम (सात करोड १० लाख अमेरिकी डलर) नेपाल सरकारको लगानी गर्ने निर्देशनालयको भनाई छ ।

कस्तो बन्नेछ सडक ?

उक्त सडक दायाँ र बायाँ दुईरदुई लेन गरी चार लेनको बन्नेछ ।

दायाँ र बायाँ भागलाई एक अर्काबाट छुट्याउन तीन मिटरको मेडियन (सडकको बीचमा छाडिने खाली भाग) निर्माण गरिने भएको छ ।

विस्तारित यो सडक दुवैतर्फ ७/७ मिटरको हुनेछ भने एउटा लेन साढे तीन मिटर चौडा हुनेछ । घना बस्ती क्षेत्रमा सडक ५० मिटरसम्म फराकिलो हुने निर्देशनालयको भनाई छ ।

त्यस्तै, सडकखण्डको छेउमा रहेका बस्तीका लागि ‘सर्भिस लेन’ निर्माण गरिनेछ।

निर्देशनालयका अनुसार १९.१ किलोमिटर सडकमा सर्भिस लेन रहने र यो सडकको दायाँ र बायाँ साढे ६ मिटरको हुनेछ। यसैगरी, बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्की बाटो पनि निर्माण गरिनेछ ।

निर्देशनालयका अनुसार मुख्य सडकको दुईतर्फ ४/४ मिटर ठाउँ हरियालीका लागि छुट्याइनेछ । सो भागमा बिरुवा रोपेर सडकलाई हरियो बनाउने निर्देशनालयले योजना लिएको छ ।

स्थानीय पैदलयात्रीको सहजताका लागि सडकको दायाँ र बायाँ ३÷३ मिटरको फुटपाथ समेत निर्माण गरिने भएको निर्देशनालयले बतायो ।

यसैगरी, पातलो बस्ती भएका स्थानमा २४ मिटर चौडाइको सडक हुने भएको छ । यो खण्ड ६७.७ किलोमिटर लामो रहेको छ। निर्देशनालयका अनुसार सडक दायाँ र बायाँ २/२ लेन गरी ४ लेनको हुनेछ ।

दायाँ र बायाँ भागलाई एक अर्काबाट छुट्याउनका लागि तीन मिटरको मेडियन समेत बनाइने भएको छ । त्यस्तै, बिग्रेका सवारी रोक्न साढे दुई मिटरको पक्कि बाटो पनि बनाइने छ ।

सो खण्डमा सर्झिस लेन नबनाइने निर्देशनालयले बताएको छ । बोलपत्र प्रक्रियामा भने कात्तिक २९ गतेसम्म मात्रैसहभागी हुन सकिने निर्देशनालयले जानकारी दियो ।

विशेष ट्राफिक नियन्त्रण प्रणाली पनि

विस्तारित उक्त सडकमा विशेष ट्राफिक नियन्त्रण प्रणाली पनि प्रयोगमा ल्याइने भएको छ ।

जसका लागि लहान, रुपनी, गोलबजार र मिर्चिया तोकिएको निर्देशनालयको भनाई छ । सो सडकमा आठ अन्डरपास, दुई ओभरपास, दुई पैदल यात्री पुल बनाइनेछ ।

अन्य स्थानको तुलनामा घना बस्ति भएकोे लहान र मिर्चिया ओभरपास पनि बनाइने भएको छ ।

ओभरपास निर्माण गर्दा स्थानीय सवारीले राजमार्गका सवारी आगवनलाई बाधा नपुग्ने निर्देशनालयको विश्वास छ । बस स्टप पनि मुख्य सडकबाट अलिक दुरिमा बनाइनेछ ।

यसरी बस स्टप निर्माण ट्राफिक जाम र सवारी जुध्ने जोखिम न्युनिकरण हुने निर्देशनालयको अनुमान छ। निर्देशनालयका उपआयोजना निर्देशक शौरभ बज्रचार्यका अनुसार आगामी पुससम्ममा ठेक्का सम्झौता हुने बताए।

...

सोमबार, २६ कार्तिक २०७५ 

प्रतिक्रिया

Related