भारतसँग भाडामा लिएर जनकपुर–जयनगर रेल सञ्चालनको लाग्यो टुंगो

एक टिपमा ४ सयसम्म यात्रु क्षमताको रेल चलाउने तयारी
निर्माण सञ्चार, काठमाडौँ | भारतसँग भाडामा लिएर जनकपुर–जयनगर रेल सञ्चालनको टुंगो लागेको छ ।

नवनिर्मित जनकपुर–जयनगर मार्गका लागि आवश्यक यात्रुबाहक रेल लिजमा दिन नेपालले राखेको प्रस्तावमा भारतले सहमति जनाएको हो ।

रेल विभागका अनुसार भारतले आफ्नो विदेश मन्त्रालयमार्फत ४ दिनअघि नेपाललाई पत्राचार गरी लिजमा रेल दिन सहमति जनाएको छ ।

यसअघि नेपालले रेल लिजमा लिने प्रस्ताव गरेता पनि भारतले टुंगो लगाएको थिएन ।

हाल भारतले नेपाललाई लिजमा रेल दिने सहमति जनाएसँगै त्यसका लागि विभागले अनौपचारिक नेगोसिएसन अगाडि बढाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

नेपालले लिजमा लिने उक्त रेल भारतीय सार्वजनिक संस्थानअन्तर्गतको रेल हुने महानिर्देशक मिश्रको भनाई छ ।

जसका लागि भारतीय संस्थानअन्तर्गतका दुईवटा कम्पनीसँग अनौपचारिक रूपमा छलफल भइरहेको छ । लिजका विषयमा अब औपचारिक छलफल गरी निष्कर्शमा पुग्ने बताइएको छ ।

महानिर्देशक मिश्र भन्छन्, ‘छलफलमा रेलको भाडा, रेलको नियमित मर्मत, सञ्चालन मोडालिटी, नेपाली प्राविधिक तथा सञ्चालन गर्ने टिमलाई दिनुपर्ने तालिम, यात्रुसँग उठाउनुपर्ने भाडादर जस्ता विषयमा सहमति खोजिनुपपर्छ ।’

नेपाललाई सबैभन्दा सस्तो दरमा रेल उपलब्ध गराउने कम्पनीसँग लिज सम्झौता गरिने बताउँछन्, मिश्र ।

उनले भने ‘अब आउँदो एक महिनाभित्रमै छलफल टुंग्याएर सम्झौता गरिसक्ने र अर्को महिनाभित्र रेल सेवा सञ्चालनमा ल्यनउजे हाम्रो उद्देश्य छ ।’

रेलमा नेपाली झन्डा फहराउने रेल विभागले कुर्था–जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्गमा तत्काल भाडाकै रेल चलाउने भए पनि त्यसमा नेपाली झन्डा फहराउने तयारी थालेको छ ।

भारतकै ७ अर्ब रुपियाँ अनुदानमा बनेको उक्त ब्रोडगेज रेलमार्गमा भारतकै रेल संचालन हुने भएको छ ।

प्रतिघन्टा सय किलोमिटरका दरले कुद्ने गरी डिजाइन गरिएको रेलमार्गमा एक टिपमा ४ सयसम्म यात्रु क्षमताको रेल संचालन गर्ने तयारी रहेको महानिर्देशक मिश्रले जानकारी दिए ।

रेलले दैनिक ४ पटक दोहोरो यात्रा पूरा गर्न सक्ने अनुमान लिइएको छ । यात्रुको चापअनुसार एक वा दुईवटा रेल चलाउने भन्ने टुंगोमा पुग्न सकिने उनको भनाई छ ।

अनुभवी जनशक्तिको खाँचो

तत्काल रेलसेवा सञ्चालन गर्न नेपालसँग अनुभवी जनशक्तिको खाँचो रहेको विभाग बताउँछ ।

रेल सञ्चालन गर्न हामीसँग अनुभवी जनशक्ति अभाव छ,’ महानिर्देशक मिश्रले भने, ‘वेट लिजमा चलाउने जिम्मा दिँदा पाइलट र आवश्यक दक्ष जनशक्तिसमेत भारतीय कम्पनीले नै परिचालन गर्छ र हाम्रा कर्मचारीलाई सँगै राखेर तालिम र अनुभव बाँड्छ ।’

विभागले रेलसेवा सञ्चालमा ल्याएको एक वर्षपछि नेपाल आफैँले जनशक्ति तयार गरी सञ्चालन गर्ने आशा लिएको छ ।

सो मार्गका लागि आवश्यक गुणस्तरको रेल खरिद गर्न ५० करोड रुपियाँ लगानी हुने विभागको अनुमान छ ।

...

मंगलबार २७ कार्तिक २०७५

प्रतिक्रिया

Related