सिक्टा अन्तर्गतको डुन्डुवा सिँचाइको तोडियो ठेक्काः कालोसूचीमा ‘पप्पु’ !

‘पटक–पटक ठेकेदारलाई ताकेता गर्दा समेत लक्ष्यअनुसार काम हुन सकेन’
निर्माण सञ्चार, नेपालगञ्ज | राष्ट्रिय गौरवको सूचीमा रहेको देशकै ठूलो सिँचाइ आयोजना सिक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणालीको ठेक्का तोडिएको छ ।

हाल विवादमा तानिएको ‘बदनाम कम्पनी’ पप्पु कन्स्ट्रक्सनले उक्त आयोजनाको जिम्मा लिएको थियो ।

यस आयोजनाको निर्माण कार्यमा ठेकेदारले आलटाल गर्दै आएपछि आयोजना नै प्रभावित भएको भन्दै जलस्रोत तथा सिँचाइ विभागले उक्त कम्पनी सँगको ठेक्का तोडेको हो ।

कोस्टल–पप्पु जेभीका नाममा रहेको एसआइपी/डिआइएस/एमसी/आइसिबी–०१ नम्बरको ठेक्का गत कात्तिक २१ गते तोडिएको विभागका महानिर्देशक सरोज पण्डितले जानकारी दिए ।

विगत दुई वर्षदेखि सिँक्टा अन्तर्गतको डुन्डुवा सिँचाइ प्रणाली सुधारको काम भइरहेको थियो ।

कामलाई तिव्रता दिन पटक–पटक ठेकेदारलाई ताकेता गर्दा समेत लक्ष्यअनुसार काम हुन नसकेको महानिर्देशक पण्डित बताउँछन् ।

‘सार्वजनिक सूचना निकालेर दबाब दिँदा पनि निर्माणको कामले गति लिन सकेन’, उनले भने ‘बाध्य भएर ठेक्का तोडिएको हो ।’

कहिले भएको थियो ठेक्का सम्झौता ?

उक्त आयोजनाको ठेक्का सम्झौता सन् २०१६ जुन २० तारिखमा भएको थियो । ९८ करोड ८१ लाख रुपियाँ लागतमा सम्भौता गरिएको थियो ।

सन् २०१८ अक्टोबर ८ सम्ममा निर्माण कम्पनीले ६.९ प्रतिशतमात्र काम गरेको विभागले जानकारी दियो ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) तथा ठेक्का सम्झौताको एफआइडिआइसीको बुँदा नं. १५.२ (बी) अनुसार ठेक्का अन्त्य गरिएको विभागको निर्णयमा उल्लेख गरिएको छ ।

कम्पनीसँगको ठेक्का तोडिएसँगै निर्माण व्यवसायीले राखेको जमानतबापतको सबै रकम जफत गर्ने निर्णय समेत भएको महानिर्देशक पण्डितले निर्माण सञ्चारलाई बताए ।

यसँगै पप्पु कन्स्ट्रक्सन कालोसूचीमा राख्न पत्र पठाउने उनको दाबी छ ।

‘सम्झौता अनुसार बाँकी रहेको निर्माण पूरा गर्न लाग्ने रकम निज व्यवसायीबाट सरकारी बाँकी सरह असुलउपर गरिनेछ, साथै, निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा पत्र पठाउने निर्णय पनि भएको छ’, विभागको निर्णयमा उल्लेख छ ।

 

...

मंगलबार २७ कार्तिक २०७५

प्रतिक्रिया

Related