सुदूरपचिश्मका सामाजिक विकासमन्त्री ‘सोडारी’ बर्खास्त

सोडारीको ठाउँमा नेकपाका सांसद सुवेदीले पाए अवसर
निर्माण सञ्चार, धनगढी | सुदूरपचिश्म प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी पदबाटै बर्खास्त भएका छन् ।

नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मंगलबार पदबाटै बर्खास्त गरेका हुन् ।

प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाका अनुसार सोडारीले पद अनुकुलको आचरण नगरेको र पटक–पटक पार्टीको सुझाव वेवास्ता गरेकाले पदबाट हटाउन निर्देशन दिइएको थियो ।

प्रदेश इन्चार्ज रावलले केही दिनअघि मुख्यमन्त्री भट्टलाई बोलाएर सोडारीका सन्दर्भमा छलफल गरेका थिए ।

स्रोतका अनुसार सोडारीको बारेमा अत्याधिक गुनासो आएकापछि उनलाई हटाइएको थियो ।

केही दिन अघि मात्र्र मन्त्री सोडारी सवार गाडीले मसुरियामा ठक्कर दिएर एकजना घाइते भएका छन् । सो बिषय विवादमा तानिएको थियो । यस अघि पनि मन्त्री सोडारी पटक–पटक विवादमा तानिएका थिए ।

सोडारी प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा दोस्रो व्यक्ति भएका छन् । 

यसअघि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित पदबाट बर्खास्त भएका थिए ।

सोडारीको ठाउँमा सुवेदीले पाए अवसर

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य कृष्ण सुवेदीलाई नियुक्त गरिएको छ ।

सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित नेकपाका प्रदेश सांसद समेत हुन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ सोडारीलाई बर्खास्त गरेसँगै सुवेदीले अवसर पाएका हुन् ।

मंगलबार साँझ ४ बजे सुवेदीको सपथग्रहण हुने सम्भावना रहेको स्रोतको दाबी छ । 

बर्खास्तीमा परेका सोडारी सोही क्षेत्रको क बाट निर्वाचित भएका हुन् ।

...

मंगलबार २७ कार्तिक २०७५  

प्रतिक्रिया

Related