भेरी बबईको लागत बढ्यो, ५ महिनाभित्रै काम सकिदै

संशोधित लागत ३० अर्ब, हालसम्म कति भयो काम ?
निर्माण सञ्चार, काठमाडौँ | भेरी–बबई नदी स्थानान्तरण बहुउद्देश्यीय आयोजनाको संशोधित लागत बढेको छ । संशोधित लागत बढेर अहिले झन्डै ३० अर्ब रुपियाँ पुगेको छ ।

सुरुङसहित बाँध र विद्युतगृहसमेतको निर्माण गर्न करिब ३० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको हो ।

उक्त आयोजना भेरी नदीको पानी १२.२ किलोमिटर सुरुङबाट बबईमा खसालेर बर्दियामा ५१ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने उद्देश्यका साथ बनाइदैछ ।

यसअघि सुरुङ बनाउन मात्रै करिब १६ अर्ब ४३ करोड रुपियाँ अनुमान गरिएको आयोजना निर्देशक सञ्जिव बरालले बताए ।

बरालले भने ‘बाँध क्षेत्र, पेनस्टक तथा विद्युतगृहको विस्तृत डिजाइन तयार नभएकाले यसअघि वास्तविक लागत निकालिएको थिएन’, हाल विस्तृत डिजाइनसहितको लागत अनुमान ३० अर्ब रुपियाँ गरिएको छ ।’

यस आयोजनाबाट ४६ मेगावाट विद्युतसमेत उत्पादन हुने आयोजनाको दाबी छ ।

के हुँदैछ काम ?

अबको १५ दिनभित्रमा उक्त आयोजनाको सिभिलको बाँकी कामको ठेक्काका लागि सूचना निकालिने आयोजना निर्देशक बरालले जानकारी दिए ।

चालू आर्थिक वर्षभित्र ठेक्का गरेर सिभिल तर्फको काम थाल्ने योजनामा रहेको उनको भनाई छ ।

आयोजना निर्देशक बरालले भने ‘अबको करिब ५ महिनाभित्र सुरुङको काम सम्पन्न हुने अवस्था छ, १२.२ किलोमिटरमध्ये हालसम्म झन्डै ९ किलोमिटर खनिएको छ ।’

उनका अनुसार आउँदो चैतभित्र सुरुङ वारपार (छेडिने) हुने अनुमान गरिएको छ ।

कहिले थालिएको थियो सुरुङ खन्न ?

यो सुरुङ खन्ने काम २०७४ कात्तिक २० गतेबाट टनेल बोरिङ मेसिन (टिबिएम) थालिएको थियो ।

चालू आवमा सिभिलको बाँकी काम सुरु गर्न सके आयोजना सम्पन्न हुने अवधिमा खासै फरक नपर्ने देखिएको आयोजना निर्देशक बरालले जानकारी दिए ।

चीनको चाइना ओभर्सिज ग्रुप कम्पनी (कोभेक) ले निर्माण गरिरहेको यो आयोजनाको आर्थिक वर्ष २०६८/६९ मा थालिएको थियो ।

आयोजनाको सबै काम (सुरुङ, बाँध, विद्युतगृह) आव २०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

हाल डिजाइन तथा अवधि संशोधन गर्दा आव २०७९÷८० मा सम्पन्न हुने अनुमान गरिएको छ ।

...

मंगलबार २७ कार्तिक २०७५ 

प्रतिक्रिया

Related