‘ठगी’ गर्ने लेखा अधिकृत नै असारे विकासका कारक, अब कार्वाही हुने

‘बेरूजुमा रहेको रकममध्ये ४५ प्रतिशत रकम लेखा अधिकृतले सचेत नहुँदा आएको’
निर्माण सञ्चार, काठमाडौँ | सरकारले हरेक वर्ष असारे विकासमा देखापर्ने समस्याका कारक लेखा अधिकृतहरु नै रहेको दाबी गरेको छ ।

सेवाका नाममा ‘ठगी’ गर्ने त्यस्ता लेखा अधिकृतमाथि अब निगरानी राखीने अर्थमन्त्री डा. युवाराज खतिवडाले बताए ।

हिजो (आइतबार)देखि सुरु भएको ‘सार्वजनिक वित्तीय व्यवस्थापन’ राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले माथिको आदेश भन्दै विनाप्रमाण चेक काट्ने र प्रक्रिया पूरा गर्दा समेत विभिन्न बहाना गरेर चेक नकाट्ने कर्मचारीहरूमाथि सरकार निगरानीमा रहेको घोषण गरेका हुन् ।

कार्यक्रममा उनले भने ‘हामीले भनिरहेको असारे विकास हाम्रो लेखाको कारक पनि हुनपुगेको छ, सबै प्रकिया पूरा भएका र कागजात पुगेको चेक नकाट्ने कर्मचारीहरूमाथि हामीले नजिकबाट निगरानी गरिरहेका छौं ।’

लेखा अधिकृतहरूकै कारण असारे विकास हुन पुगेको भन्दै अर्थमन्त्री डा. खतिवडाले कोष तथा लेखा नियन्त्रक कार्यालय र महालेखा नियन्त्रक कार्यलयका कर्मचारीलाई सचेत समेत गराएका थिए ।

उनले महालेखामा जान हतार गरिरहेका केही कर्मचारीहरू पनि मन्त्रालयको निगरानीमा रहेको भन्दै सचेत भएर काम गर्न तथा वित्तीय अनुशासन कायम गर्न आग्रह गरे ।

अर्थमन्त्री खतिवडाले अधिकतम कामको लोड भएको स्थानमा गएर क्षमता देखाउँछु भन्नेलाई सरकारको सहयोग निरन्तर रहने र पुरस्कृत समेत गरिने भएको छ ।

उनले त्यतिमात्रै नभएर असारमा चेक काट्नकै लागि जानेहरूप्रति झनै धेरै निगरानी बढाएको सुझाए ।

माथिको आदेश अडिटले नचिन्ने भन्दै अर्थमन्त्री खतिवडाले राजनीतिक दबाब आएमा कुनै मोलाहिजा नगरी सिधै सचिवमार्फत अर्थमा पठाउन आग्रह गरेका छन् ।

‘राजनीतिक दबाब आयो भनेर हामीले फेस गर्ने हो’, उनले भने ‘सिधैँ मन्त्रायलमा पठाउनुस् र तपाइँहरू वित्तीय पारदर्शीता कायम हुनेगरी व्यावसायिक भएर काममा जोड दिनुस् ।’

महत्वपूर्ण ठाउँमा बसेका व्यक्तिहरूले उच्च व्यावसायिकता कायम गरेर काम गर्नुपर्ने अर्थमन्त्री खतिवडाको भनाई थियो ।

करदाताहरूलाई आफूले एक/एक रुपियाँ खर्चको विवरण दिन तयार रहेको प्रतिवद्धता जनाएको भन्दै उनले सोहीअनुसार काम गर्नसमेत निर्देशन दिए ।

अर्थमन्त्री खतिवडाले चेक नकाट्ने कर्मचारीमाथि निगरानी गरिहरेको बताउँदा महालेखा परीक्षक टंकमणि शर्माले भने जथाभावी चेक काट्ने कर्मचारीलाई सचेत गराएका थिए ।

उनले बेरूजुमा रहेको रकममध्ये ४५ प्रतिशत रकम लेखा अधिकृतले सचेत नहुँदाको कारण आएको समेत दाबी गरे ।

शर्माले नीति नियम र योजना कार्यान्वयनको पक्ष कमजोर रहेको भन्दै फिल्ड अफिसरभन्दा पनि ऐन नियम उल्लंघन गर्नेमा केन्द्र र मन्त्रालय अगाडि देखिएको आरोप लगाए ।

कार्यक्रम निर्माण, बजेट तर्जुमालगायत हरेक ठाउँमा कमजोरी देखिएकाले त्यसलाई सुधार गदै अघि बढ्न उनको सुझाव थियो ।

...

सोमबार ३ मंसिर २०७५ 

प्रतिक्रिया

Related