सुनसरीमा इट्टा उद्योगीको हत्या

हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन
निर्माण सञ्चार, विराटनगर | सुनसरीको दुहबीमा एक इट्टा उद्योगीको हत्या भएको छ ।

दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले गोली हानी हत्या गरेको हो ।

बुधबार बिहान ६ः३० बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए ।

हुसेनलाई न्यूरो अस्पताल बिराटनगरमा लैजाने क्रममा उनको मृत्यु भएको सुनसरीका एसपी राजन अधिकारीको भनाई छ । घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

हुसेनको शव अहिले उनकै निवासमा राखिएको एसपी अधिकारीले जानकारी दिए । मर्निङवाकमा निस्किएका ५४ वर्षीय हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने हालसम्म खुलेको छैन ।

‘एसपी अधिकारीले भने, ‘हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन’, ‘सो घटनाबारे हामीले अनुसन्धान गरिरहेका छौं ।’

दक्षिणतर्फबाट नहरको बाटो हुँदै मोटरसाइकल चढेर आएका दुई व्यक्तिले हुसेनमाथि गोली हानेका थानीयबासीको भनाई छ ।

हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष मेहेदी हुसेनका भाइ समेत हुन् ।

हाल हत्यारामाथि कारबाहीको माग गर्दै दुहबीबासीले सडकमा टायर बालेर प्रदर्शन थालेका छन् ।

...

बुधबार ४ मंसिर २०७५ 

प्रतिक्रिया

Related