आयोजना निर्माण नहुँदै ‘लोडसेडिङमुक्तका नारा

१८ घण्टा लोडसेडिङको मार खेप्दै खलंगाका उपभोक्ता
निर्माण सञ्चार, जुम्ला | चर्काे लोडसेडिङ खेप्दै आएको तत्कालिन कर्णाली अञ्चलको सदरमुकाम खलंगा चन्दननाथ नगरपालिकामा आउने वैशाखसम्म लोडसेडिङ मुक्त हुने भएको छ ।

एकै साथ दुई विद्युत आयोजना निर्माण हुन थालेपछि आउने वैशाख महिनाभित्रै जुम्ला लोडसेडिङबाट मुक्त हुने भएको हो । तर, खलंगाबासीले सपना जस्तै मानेका छन् ।

निमार्ण गर्नु पहिले सपना बाढ्नु उपयुक्त नभएको स्थानीयबासीको भनाई छ । तर, जुम्लामा हाल दुई विद्युत आयोजना निर्माणधी अवस्थामा छन् । तर, सम्पन्न कहिले हुने टुंगो छैन ।

लोडसेडिङ मुक्तको नारा भने घन्किन थालेका छन् ।

हाल दैनिक १८ घण्टा लोडसेडिङको मार खेपिरहेका सदरमुकाम खलंगाका उपभोक्ताले खलंगा झिलिमिली होला भन्ने कुनै आशा नराखको नगरबासी राज रावतले गुनासो गरे ।

उनले भने, ‘दुई होईन चारै वटा आयोजना बनेपनि हाम्रा दुःख उस्तै हुन, बनाउनु पहिले लोडसेडिङ मुक्तको सपना बाड्नु उपयुक्त हुँदैन ।’

‘पहिला दिर्घकालिन रुपमा आयोजना निर्माण गरेर विकास गर्नु स्थानीय सरकारको जिम्मेवारी हो’, नागरिक समाजका अध्यक्ष राज बहादुर महतले भने, ‘जुम्लालाई उज्यालो बनाउन भने जस्तै सहज छैन, त्यसका लागि गुरुयोजना बनाउन आवश्यक रहेको छ ।’

खलंगा झिलिमिली हुनु सुखद पक्ष भएको बताउँदै उनले निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिए ।

तर, सदियौँदेखि लोडसेडिङको मार खेपेका सदरमुकामबासी भने, ‘खलंगा लोडसेडिङ मुक्त हुने कुरामा विश्वस्त भएका छैनन् ।’

यसअघि पनि नियमित विद्युत् बाल्न भन्दै करोडौको खर्च गर्दा उपभोक्ता ठगिएका छन् ।

खलंगामा हालको अबस्था

विद्युत आपूर्तिका हिसाबले जुम्लाको सदरमुकाम खलंगाको अवस्था निकै दनिय छ । दैनिक १८ घण्टा लोडसेडिङ खेप्दै आएका छन्, उपभोक्ता ।

विद्युत् अभावकै कारण कलकारखाना, उद्योग धन्दा होटल व्यवसायलगायत संचालनमा समस्या छ । खलंगामा रहेको विद्युत आयोजनाको क्षामता बढाउने नाममा मनपरी मात्रै चल्दा टुटि बाल्ने समस्या जस्ताको त्यस्तै छ ।

२०४० सालमा घुघुत्ती साना जलविद्युत आयोजना दुई सय किलोवाटको विद्युत पाँच सय घरधुरीका लागि निर्माण गरिएको थियो ।

तर न्यून क्षमताको विद्युत अहिले दुई हजार ८ सय घरधुरीमा वितरण गरेपछि यहाँका बासिन्दा चर्काे लोडसेडिङको मारमा परेका हुन् । ४ हजार २ सय ७१ घरधुरी र २० हजार ८ सय ८४ जनसंख्या रहेको चन्दननाथ नगरपालिकाको ८ र ९ नम्बर वडामा अझै पनि विद्युत पुगेको छैन ।

१० वडा रहेको नगरपालिकामा न्यून क्षमताको विद्युत भएका कारण २ वडामा विद्युत पुग्न नसकेको हो ।

खलंगामा बासोबास गर्नेको संख्या बृद्धि हुँदै जानु र विद्युत क्षमता वृद्धि नभएका कारण यहाँका नागरिकले दैनिक १८ घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको साना जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले बताए ।

‘यसै वर्षभित्र जुम्ला सदरमुकाम खलंगा लोडसेडिङ मुक्त हुने र २४ घण्टा विद्युत प्रवाह हुने भएको छ’ उनले भने ।

दुई आयोजना निर्माण हुँदै

चार करोड लागतमा एक सय किलोवाटको ठिन्के जलविद्युत आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चैतमा विजुली बाल्ने गरी काम भईरहेको उपभोक्ता समितिका अध्यक्ष बुढ्थापाले बताए ।

‘आयोजनाको बाँध, नहर इन्ट्यांक निर्माण भईसकेको छ’ उनले भने, ‘अब पावर हाउस निर्माण गर्न र मेसिन जोड्ने काम बाँकी रहेकोले ३/४ महिनामा सबै काम सकिन्छ ।’

उता जुगाड खोला जलविद्युत सहकारीको आयोजनामा ५८ किलोवाटको विद्युत उत्पादन गर्ने काम अन्तिम चरण पुगेको छ ।

सवा एक करोड लागतमा जुगाड खोला जलविद्युत आयोजना सुरु भएको सहकारिका अध्यक्ष रामकृष्ण बुढ्थापाले बताए ।

‘६० लाख चन्दननाथ नगरपालिकाको रकम र बाँकी सहकारीको लगानी रहेको छ’ उनले भने, ‘ मंसिरभित्र विद्युत बाल्ने तयारीका साथ काम भईरहेको छ ।’

चन्दननाथ नगरभित्र तीन वटा जलविद्युत आयोजना गरी तीन सय ५८ किलोवाट विद्युत उत्पादनले सबै घरधुरीमा बत्ति बाल्न पुग्ने नगरप्रमुख कान्तिका सेजुवालले दाबी गरिन् ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

...

बुधबार ४ मंसिर २०७५ 

प्रतिक्रिया

Related