तातोपानी नाका खोल्न चीनले गर्दै धमाधम काम !

सडक पुनःनिर्माणका लागि विभागले माग्यो ३० करोड
निर्माण सञ्चार, काठमाडौँ | २०७२ को भूकम्पका कारण बन्द भएको तातोपानी नाका खोल्न धमाधम काम भइरहेको छ । सडक विभागले भने नेपाल/चीनको प्रमुख व्यापारिक नाका पुनर्निमाणका लागि ३० करोड रुपियाँ माग गरेको छ ।

वैशाखसम्म बाह्रविसे–तातोपानी हुँदै चीन जोड्ने लिपिङ बजारको मितेरी पुलसम्मको सडक पुननिर्माणका लागि विभागले सो रकमको माग राखेको हो ।

भूकम्पपछि खासा बजार क्षेत्रका वासिन्दालाई सिगात्से पुनःस्थापना गरेको छ । उक्त नाका खोल्न चीनले आफ्नोतर्फको पुनर्निर्माण तीव्र रुपमा गरिरहेको छ ।

हाल चीनले मितेरी पुल पुनःनिर्माण गरिरहेकोले सो नाकालाई प्राथमिकतामा राखिएको विभाग बताउँछ । दुई देशलाई जोड्ने मितेरी पुल समेत चीन सरकार आफैले तीव्र रुपमा निर्माण गरिरहेको छ ।

आउँदो फागुन मसान्त चैतसम्ममा मितेरी पुल समेत तयार हुने विभागको भनाई छ ।

नेपालतर्फको मितेरी पुलदेखि ६ किमी सडक चीन सरकार आफैले बनाइदिन थालिसकेको छ ।

विभागका प्रवक्ता मुक्ति गौतमले सडक पुनःनिर्माणका लागि ३० करोड रुपियाँ अर्थमन्त्रालयसँग माग गरिएको बताउँदै वैशाखसम्म उक्त सडकको निर्माण सम्पन्न भइसक्ने दाबी गरे।

‘हामीले सडक पुनःनिर्माणका लागि अर्थसँग पैसा मागेका छौं’ प्रवक्ता गौतमले भने ‘पैसा निकासा हुने वित्तिकै ठेक्का निकालेर काम थालिहाल्छौँ ।’

आगामी वैशाखसम्म सडकको निर्माण तथा स्तरोन्नती सम्पन्न गरेर पूर्ण रुपमा संचालन गर्न मिल्ने उनलको भनाई छ ।

करिब २२ किमी लामो सो सडक ‘डेडिकेटेड डबल’ लेनको निर्माण गर्न लागिएको हो।

कोदारी राजमार्गका ६० भन्दा बढी स्थानको सडक ०७१ मा गएको जुरे पहिरो, ०७२ सालको विनाशकारी महाभूकम्प,०७३ सालमा भोटेकोसीमा आएको बाढीले क्षतिग्रस्त भएको छ ।

जसमध्ये पनि सबैभन्दा बढी क्षति तातोपानी आसपासको क्षेत्रमा भएको थियो। सडकको पहिरोहरु हटाएर हाल तातोपानीसम्म गाडी संचालनमा छन् ।

तर, साँघुरो बाटो भएका कारण मालवाहक ट्रकहरु भने सो स्थानसम्म पुग्न सक्दैनन्।

माथिपट्टी भीर धेरै भएकाले त्यसलाई कटिङ नगरि तलबाट वाल उठाउने र पहिरो फ्याँकेर स्तरोन्नति गरि दुईलेनको सडक बनाउन लागिएको विभागले जानकारी दियो ।

...

बिहीबार ६ मंसिर २०७५ 

प्रतिक्रिया

Related