कर्णालीसँग द्रूतमार्ग जोड्ने चीनको तयारीः सम्भाव्यता अध्ययन हुँदै

प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रूतमार्ग, जमुनाह नाकादेखि हुम्लाको हिल्सा नाकासम्म जोडिने
निर्माण सञ्चार, जुम्ला | कर्णाली प्रदेशसँग जोडिएको एकमात्र अन्तराष्ट्रिय नाका हिल्सा जोड्ने द्रूतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ ।

दक्षिणमा भारतसँग जोडिएको बाँकेको जमुनाह नाकादेखि उत्तरमा चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकासम्म जोड्ने गरी निर्माण गर्न लागिएको द्रूतमार्गको चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन सुरु गरेको हो ।

कर्णाली प्रदेश सरकारले ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रूतमार्ग’ नाम दिएको यो सडक निर्माणका लागि चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनको काम अगाडी बढाएको हो ।

यही क्रममा चीनको सरकारी चाइना रेलवे कम्पनीका ईन्जिनियरहरुको टोलीले मंगलबार हेलिकोप्टरबाट द्रूतमार्ग निर्माण हुने स्थलको हवाइ सर्वे गरेको छ ।

५ सय ३० किलोमिटर लामो यो मार्ग निर्माणका लागि चिनियाँ कम्पनीले बुधबारबाट भने सडक निर्माण हुने क्षेत्रको स्थलगत सर्वे समेत सुरु गरेको हो ।

कर्णाली प्रदेशलाई चीन र भारतसँग जोड्ने गरी उक्त द्रूतमार्ग निर्माण गर्न लागिएको हो ।

प्रदेश राजधानी सुर्खेतबाट हेलिकोप्टरमा गएको ईन्जिनियरसहितको टोलीले मंगलबार हुम्लाको हिल्सा नाकासम्म पुगेर द्रूतमार्गको हवाइ सर्वे सम्पन्न गरेको छ ।

कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले भने, ‘हेलिकोप्टरबाट हिल्सासम्म सर्वे भएको छ, चिनियाँ कम्पनीले स्थलगत अध्ययन पनि थालेको छ । अब यो टोलीले ६ महिनाभित्रै प्रदेश सरकारलाई पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन दिनेछ, त्यसैको आधारमा हामी द्रूतमार्ग निर्माणका लागि डीपीआरको काम अगाडी बढाउने छौँ ।’

हाल कर्णाली प्रदेश दक्षिणमा रहेको भारतको नाकासँग जोडिएको छैन ।

त्यसकारण पनि प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै हिल्सादेखि जमुनाह जोड्ने द्रूतमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ ।

चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययनको काम सुरु गरेसँगै अब सडक निर्माणको काम पनि अगाडी बढ्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाही बताउँछन् ।

द्रूतमार्गको हवाइ सर्वे भएको र स्थलगत सर्वेको काम पनि अगाडी बढेको भन्दै शाहीले सडक निर्माणका लागि भौगोलिक अवस्थाको जानकारी लिन सर्वे गरिएको बताए ।

सडक बिना कर्णालीको समृद्धि सम्भव नभएको भन्दै उनले प्रदेश सरकारले सडकलाई पहिलो प्राथमिकतामा राखेको दाबी गरे ।

यो फाष्ट ट्र्याक निर्माणका लागि संघीय सरकार पनि सकारात्मक रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

सर्वे टोलीसँगै हिल्सा पुगेका कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले द्रूतमार्ग निर्माण भए कर्णालीको काँचुली फेरिने दाबी गरे ।

कर्णालीलाई अन्तर्राष्ट्रिय नाकासम्म जोड्नका लागि पनि यो सडक निर्माणको काम तत्काल सुरु हुनुपर्ने उनको भनाई छ ।

जमुनादेखि हिल्सासम्मको फाष्ट ट्र्याक निर्माण गर्नसके मानसरोवरका कारण पनि प्रदेशले लाभ लिनसक्ने अपेक्षा गरिएको छ ।

यस्तै, चिनियाँ कम्पनीका नेपाल प्रतिनिधि कविन्द्र जैशीले आफूहरुले हवाइ सर्वे गरिसकेको र ईन्जिनियरको टोलीले स्थलगत सर्वे पनि सुरु गरेको बताए ।

सर्वेको प्रतिवेदन आएपछि मात्र डीपीआरको काम अगाडी बढ्ने उनको भनाई छ ।

हाल कर्णाली प्रदेश उत्तरमा चीनसँगको हिल्सा नाकासँग मात्र जोडिएकाले पनि यो द्रूतमार्ग निर्माणमा चीनले चासो दिएको छ ।

कर्णाली प्रदेश संवाददाता सागर परियार

...

शुक्रबार, ३० कार्तिक २०७५

प्रतिक्रिया

Related