उपत्यकामा सार्न मिल्ने १० अकाशेपुलः कहाँ–कहाँ बन्ने ?

चावहिलका लागि केही दिनमै बोलपत्र आह्वान, कहिले होला निर्माण पूरा ?
निर्माण सञ्चार, काठमाडौँ | ट्राफिक व्यवस्थापनसँगै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौँ महानगरले उपत्यकामा मात्रै सार्न मिल्ने १० अकाशेपुल बनाउने भएको छ ।

पदैलयात्रुको चाप बढी हुने स्थान चाबहिल चोक र माइतीघरमा स्थानान्तरण गर्न मिल्ने ‘नयाँ खाले’ पुल सुरुवातको चरणमा बन्ने भएको हो ।

यससँगै अन्य आठ स्थानमा पनि सोही किसिमका पुल बनाउने महानगरको योजना रहेको छ ।

महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार चाबहिल र माइतीघरसहीत टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा यस्तो किसिमको पुल राख्ने महानगरको योजना छ ।

ती स्थान बाहेक यात्रुको चाप हुने अन्य स्थानमा समेत आवश्यकता अध्ययन भइरहेको निर्देशक कार्कीले जानकारी दिए । आकाशे पुल निर्माणका लागि यसै वर्षको बजेटमा १२ करोड छुट्याइएको छ ।

उक्त रकममध्ये पहिलो चरणमा चाबहिल र माइतीघरमा पुल निर्माण गर्न साढे दुई करोड लाग्ने महानगरको आकलन छ । ती दुवै स्थानमा निर्माण हुने पुलको नमुना तयार भइसकेको निर्देशक कार्कीले बताए ।

स्थानान्तरण गर्न सकिने यो नयाँखाले पुल निर्माणका लागि यो साता नै बोलपत्र आह्वान गर्ने तयारी रहेको उनको दाबी छ ।

चावहिल चोक र माइतीघरमा अकाशे पुल निर्माण यसै वर्ष सम्पन्न गर्ने योजना रहेको महानगरले जानकारी दियो ।

कस्ता हुन्छन् स्थानान्तरण गर्न मिल्ने पुल ?

नयाँ खाले आकाशे पुल फलामका हुन्छन् भने नट खोलेर सजिलै अर्को ठाउँमा स्थानान्तरण गर्न मिल्छ । नयाँ खाले आकाशे पुलको तल्लो भागमा मात्रै कंक्रिटको हुनेछ ।

कंक्रिटको जगमा अड्याएर माथिल्लो भागमा भने फलामको पुल निर्माण हुने निर्देशक कार्कीले बताए ।

उनकाअनुसार पुलका आवश्यक फलामका फ्रेमहरूलाई नट/बोल्ट कसेर पुल निर्माण गरिनेछ । सोहीकारण यस्तो पुलललाई आवश्यक परेमा नट खोलेर अन्य स्थानमा स्थानान्तरण गर्न सकिन्छ ।

यस्ता किसिमका पुल यसअघि नै संचालनमा पनि छन् ।

पुरानो वसपार्कमा संचालित पुल सार्न मिल्ने एक उदाहरणीय पुल हो । काम खर्चमै निर्माण गर्न सकिने यस्ता किसिमका पुलले फाइदा पुग्ने महानगरको भनाई छ ।

करिब ३० लाख रुपियाँमै बनाउन सकिने यस्ता पुलको निर्माणले यात्रुको चापलाई व्यवस्थित गरि दुर्घटना समेत न्यून हुन्छ ।

अन्य ठाउँमा निर्माण गरिने पुल भन्दा चाबहिल, माइतीघरमा राखिने पुलको मोडल फरक रहेको निर्देशक कार्कीले बताए ।

यसकारण अन्य पुल निर्माणको तुलनामा ती दुई स्थानमा बनाइने पुलको लागत केही बढी हुने उनको भनाई छ ।

‘चावहिल चोक र माइतीघरमा निर्माण गर्ने आकाशे पुल गोलो आकारको हुन्छ’ उनले भने ‘तीन/चार स्थानबाट आवात/जावत गर्न मिल्छ ।’ तर, बाँकी स्थानमा निर्माण गरिने पुल दुईतर्फी मात्रै हुनेछ ।’

सडक विस्तार गर्नुपरेको खण्डमा पुल सार्न परेता पनि थोरै रकममै सार्न सकिने निर्देशक कार्किले बताए । कंक्रिटको तुलनामा निकै आकर्षक देखिने यस्तो पुलले सो स्थानको सोभा बढाउनेछ ।

धेरै ठाउँ ओगट्ने कंक्रिटको पुल हेर्दै भद्दा हुन्छ भने सार्न मिल्ने नयाँ किसिमका अकाशे पुल सानो र सुन्दर देखिन्छ ।

अब बन्ने फलामका अकाशे पुल भाडा र विज्ञापनका लागि उपलब्ध नहुने निर्देश कार्कीले निर्माण सञ्चारलाई जानकारी दिए ।

हाल कहाँ–कहाँ छन् यस्ता पुल ?

अहिले काठमाडौँ महानगरपालिकाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल संचालनमा रहेका छन् । त्यस्तै, रत्नपार्कमा एउटा सब–वे छ ।

भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि बनाइएको पुल मर्मत गर्न नपर्ने अवस्थामा रहेको छ ।

ती पुल बाहेक बाँकी स्थानका पुल भने तुरुन्तै मर्मत गर्नुपर्ने अवस्थामा रहेको महानगरपालिकाले जानकारी दियो ।

पहिलोपटक परीक्षणका रूपमा सार्न मिल्ने पुल पुरानो बसपार्कमा निर्माण गरिएको थियो ।

महानगरअनुसार यस्ता किसिमका पुल निर्माणपछि संचालन पनि राम्रो भएकाले सोही किसिमका पुल अन्य ठाउँमा पनि निर्माण गरिने भएको हो ।

...


शुक्रबार, ३० कार्तिक २०७५ 

प्रतिक्रिया

Related