जाजरकोटको पासागाढबाट सुरु भएर डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्रयाक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो ।
एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्रयाक खोलिएको थियो ।
छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबिच सिधा सम्पर्क जोड्न योगदान दिनेछ ।
कर्णाली प्रदेश अन्तर्गतको प्राकृतिक विविधताले भरिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पा जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ ।
जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ ।
उक्त सडकको निर्माणले बाह्रैमहिना चिसो हावापानी रहने ठूला हिमाली घाँसे मैदानसमेत रहेको डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले आवश्यक बजार र उचित मूल्य पाउने विश्वास गरिएको छ ।
जाजरकोट–डोल्पा सडकको ट्र्याक खेलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि स्थानीय जनताले सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने माग गर्दै आएका छन् ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त सडक आगामी मङ्गलबार डोल्पाको त्रिपुरासुन्दरीमा उद्घाटन गर्नु हुने कार्यक्रम रहेको सडक आयोजना कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए ।
सडक भेरी नदीको किनारै किनार दर्जनौं अक्कर र भिर, पहरा छिचोल्दै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हुँदै दुनै पुग्नेछ ।
सेनाद्वारा निर्माण सम्पन्न सडक कति ?
सेनाले यसअघि मुलुकमा एक हजार ११४ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको बताएको छ ।
विसं २०१६ मा काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकमार्गबाट सडक निर्माणमा संलग्न भएको नेपाली सेनाले हालसम्म निकै अप्ठेरा र सामरिक महत्व बोकेका २० वटा सडक निर्माण गरी हस्तान्तरण समेत गरिसकेको छ ।
सेनाले निर्माण गरेका सडकमा हिले लेगुवाघाट २८ किमी, कटारी ओखलढुङ्गा (८८ किमी), कान्ति लोकमार्ग (६५किमी), त्रिशूली– सोमदाङ (१०५ किमी) र गोर्खा–मनकामना सडक (३६ किमी) रहेका छन् ।
यस्तै गोरखा–आरुघाट–अर्खेत ४५ किमी, द्रब्य शाह मार्ग २६.५० किमी, सातदोवाटो–निमेल बालुवा २० किमी वेशी सहर–चामे ६५ कि मी, बाग्लुङ–बेनी– जोमसोम ७५ किमी, जोमसोम–कागबेनी ९ किमी, सल्यान–मुसिकोट ४४ किमी, मुसिकोट–बुर्तिबाङ ३५ किमी, देवीस्थान–कैनडाँडा–चौरजहारी ४२ किमी सडक पनि नेपाली सेनाले खनेको हो । नेपाली सेनाले छिञ्चु–जाजरकोट(४५किमी), कर्णाली राजमार्ग ८८ किमी, नाग्मा–नाग्मागढी ४ किमी, मैलुङ–स्याफ्रुवेशी १८ किमी काठमाडौं–तराई दु्रतमार्गको ९० किमी ट्र्याक पनि खोलेको थियो ।
निर्माणधिन सडक
सेनाले अहिले निर्माण गरिरहेका ठूलो सडक आयोजनामा बेनीघाट–आरुघाट– लार्केभञ्ज्याङ १२० किमी, कालीगण्डकी करिडोर ७६ किमी र कर्णाली करिडोर १४५ किमी रहेको छ ।
जाजरकोट–डोल्पा सडक निर्माणसँगै राष्ट्रिय सडक सञ्जालमा नेपाली सेनाको योगदान १०३ किमी थपिएको छ ।
सरकारले मुलुकका जिल्ला सदरमुकाममा सडक सञ्जाल पुर्याउने नीतिअनुरुप हुम्लाबाहेक ७६ जिल्लामा मोटर बाटोको पहुँच पुगेको छ ।
डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताललगायतका क्षेत्रमा पर्यटन विस्तारमा ठूलो योगदान पुग्नेछ ।
...
आइतबार, २ मंसिर, २०७५
प्रतिक्रिया