जुम्ला चन्दनाथ नगरपालिकामा गाडी आगजनी, गोठीचौरमा तोडफोड

विद्युतीय सामाग्री तथा महत्वपुर्ण कागजजातहरु जलाइयोः लाखौका सामग्री नष्ट
निर्माण सञ्चार, जुम्ला । अज्ञात समुहले जुम्लाका दुई वटा स्थानीय तहमा एकैसाथ आक्रमण गरेका छन् ।

सनिबार राती १ बजे कर्णालीकै पहिलो चन्दननाथ नगरपालिकाको स्करपी गाडीमा आगजनी भएको हो । साथै गुठिचौर गाउँपालिका कार्यालयमा पनि एकैपटक तोडफोड गरिएको छ ।

एकैसाथ भएको आगजनी तथा तोडफोडले दुई स्थानीय तहकै बासिन्दा त्रसित भएका छन् । चन्दननाथ नगरपालिकाको गाडी स्टेण्डमा राखिएको क १ झ १ नम्बरको गाडी जलाइएको छ ।

राती करिब १ः१० बजे नगरपालिकाका पाले बिष्णु प्रसाद न्यौपाने आफु र सानो छोरा सुतेको अवस्थामा पुर्वतिर रहेको ढोकामा अज्ञात व्यक्तिले ढक–ढक हानेपछि ढोका खोलेर हेर्दा गाडी जलिरहेको देखेको बताए ।

उनले भने, ‘गाडीमा आगजनी भएको देखेपछि टोलमा आफु कराएर र सवै जम्मा भएर निभाउन प्रयास गर्यौ, तर पछि प्रहरी सेना आएर आगो निभाइदिनु भयो ।’

गाडीको माथिल्लो भाग पुरै जलेर नष्ट भएको छ । गाडीमा रहेको व्यट्री नपट्केर ठुलो क्षति हुनबाट बचेको प्रहरीको भनाई छ ।

प्रहरी र सेना समयमै पुगेर गाडी आगजनी नियन्त्रणमा लिएको डिएसपि सिताराम रिजालले बताए ।

झण्डै ४० लाख भन्दा बढी परेको उपमेयर अप्सरोदवि महतले चड्दै आएको क १ झ १ नम्बर गाडी अज्ञात समुहले निशाना बनाएर जलाएको नगरपालिका निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाए ।

उनले भने, ‘स्थानीय सरकारमा आक्रमण गर्ने अज्ञात व्यक्ति तथा समुहलाई कानुनी दायरामा ल्याएर काबार्ही गर्न हाम्रो जोडदार माग छ ।’

हाल नगरपालिकाका मेयर कान्तिका सेजुवाल भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएका छन् ।

गोठीचौरमा तोडफोड

जुम्लाकै गुठीचौर गाउँपालिकाको कार्यालयमा पनि शनिबार रातीनै तोडफोड गरिएको छ ।

जुम्लाको डिजटल गाउँपालिकाका रुपमा रहेको पालिकामा राखिएका सबै विद्युतीय सामाग्री तथा महत्वपुर्ण कागजजातहरु जलाइएको छ ।

साथै डिजिटल गाउँपालिका बनाउन खरिद गरिएका लाखौका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार, गाउँपालिकामा भर्खर जडान गरिएको सिसि क्यामरा चुडेर फालिएको छ ।

घटनाको प्रकृती हेर्दा ठुलै गिरोह रहेको प्रहरी नायव उपरीक्षक सिताराम रिजालको भनाई छ । सिसिक्यामरा नै शुरुमा तोडफोड गरेको हुँदा प्रमाण केही नरहेको उनको भनाई छ ।

प्रहरीले चन्दननाथ नगरपालिका र गुठिचौर दुबै घटनाको मुछुल्का गरिसकेको र घटनाको विवरण सहित अनुसन्धान सुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए ।

स्थानीय सरकारमाथि आक्रमण गर्ने व्यक्ती तथा समुह सजायको भागेदार हुने उनको भनाई छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

....

आइतबार २ मंसिर २०७५ 

प्रतिक्रिया

Related