अबको एक सातापछि कलंकी अण्डरपास पूर्ण रुपमा संचालनमा

कोटेश्वर–कलंकी सडकखण्ड विस्तारको काम पनि अन्तिम चरणमा
निर्माण सञ्चार, काठमाडौँ | कलंकी अण्डरपास अब एक साताभित्रै पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ । नेपालकै पहिलो उक्त अण्डरपासको हाल ‘फिनिसिङ’को काम भइरहेको छ ।

चार दिनदेदखि अण्डरपास बन्दै गरेर निर्माणको कामलाई तीव्रता दिइएको हो ।

फिनिसिङको काम सम्पन्न भएलगत्तै अण्डरपास पूर्ण रुपमा संचालनमा आउने काठमाडौं चक्रपथ सुधार आयोजनाले जानकारी दियो ।

यसअघि भदौ १ गते पहिलो पटक अण्डरपास संचालनमा ल्याइएको आयोजनाका इन्जिनियर निरञ्जन शर्मा अर्यालले जानकारी दिए ।

तर, कालोपत्रे र अन्य प्राविधिक काम बाँकी रहेको भन्दै अन्डरबास सञ्चालन बन्द गरिएको थियो ।

हाल के–के हुँदैछ काम ?

सो अण्डरपासको वालहरुमा रङ लगाउने सतह(पेभमेन्ट)मा लेन छुट्याउनका लागि पेन्टिङ गर्ने, अण्डरपास भित्र सरसफाई गर्ने, ट्राफिक सिग्नल राख्नेलगायतका केही प्राविधिक कामहरु भैरहेका छन् ।

अण्डरपास उज्याला नै भएकाले लाइटिङको आवश्यकता नरहेको इन्जिनियर अर्यालले जानकारी दिए ।

उक्त अण्डरपास संचालनमा आएपछि घण्टौसम्म जाम भैरहने सो सडकखण्डको समस्या न्यून हुने अपेक्षा लिइएको छ ।

कोटेश्वर–कलंकी सडकखण्डको काम अन्तिम चरणमा

सो अण्डरपाससँगै कोटेश्वर–कलंकी १०.४ किलोमिटर खण्ड विस्तारको कार्य पनि अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाले बताएको छ ।

अर्यालले डिसेम्वर १५ मा उक्त सडकखण्ड सडक विभागलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ तीव्र रुपमा काम भइरहेको अर्यालले बताए ।

यो सडकखण्डको विस्तार र अण्डरपास निर्माण चीनको पाँच अर्ब रुपियाँ अनुदान सहयोगमा विस्तार भैरहेको आयोजनाले बतायो ।

...

आइतबार, २ मंसिर, २०७५

प्रतिक्रिया

Related