आजदेखि वितरण गरिदै राष्ट्रिय परिचयपत्र

जैविक परीक्षण गरेपछि मात्रै परिचय पत्र वितरण
निर्माण सञ्चार, काठमाडौँ | सरकारले आज (सोमबार)देखि बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र बाँड्दै छ  ।

चिप प्रविधिमा आधारित परिचयपत्र पाँचथर फिदिमकी १०१ वर्षीया वृद्धा भगवती भण्डारी र एक उच्च सरकारी अधिकारीलाई दिएर वितरण अभियान थालिने भएको हो ।

दुइजनालाई परिचयपत्र हस्तान्तरण गरेर गुहमन्त्री रामबहादुर थापा ‘बादल’ले वितरण अभियानको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

यससँगै पहिलो दिन पाँचथरका अन्य ४८ जनालाई पनि परिचयपत्र वितरण गरिने भएको छ ।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा परिचयपत्र बाँड्नका लागि सरकारले पहिलो चरणमा पाँचथरमा बाट सुरु गरेको हो ।

यसै वर्षबाट ७७ वटै जिल्लामा परिचयपत्र बाँड्न थालिने राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी योजना ०६६/६७ मा सरकारको नीति तथा कार्यक्रममै समेटिएको थियो । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र ०६७ मा स्थापना गरिएको थियो । एक लाख १७ हजार परिचयपत्र छपाइका लागि सुरुमा एडिबीले अनुदान दिने भएको छ ।

ती संंख्यामा परिचयपत्र छाप्नका लागि ५५ करोड रुपियाँ खर्च हुने विभागको भनाई छ । बाँकी परिचयपत्र भने सरकारको बजेटमा छापिने भएको छ ।

परिचय वितरणसम्बन्धी कानुन नै नबनेकाले शुल्क नलिई परिचयपत्र दिइने व्यवस्थापन केन्द्रको दाबी छ ।

विभागका अनुसार एउटा कार्ड छपाइका लागि करिब तीन सय ५० रुपियाँ खर्च गर्नुपर्छ ।  नागरिकता वितरणमा फर्जी काम वृद्धि भइरहेको बेला विभागले राष्ट्रिय परिचयपत्र वितरणलाई भने वैज्ञानिक बनाएको बताएको छ ।

नागरिकताजस्तो सिफारिस गरिएकै आधारमा मात्रै राष्ट्रिय परिचयपत्र पाइदैँन ।

जसका लागि पहिला नै जैविक परीक्षण गुर्नपर्छ ।

साथै विवरण संकलन गरेको विभागले वितरण पनि परीक्षणपछि मात्रै गर्ने बताएको छ । उक्त राष्ट्रिय परिचयपत्रमा व्यक्तिका १० वटै औँलाका छाप र व्यक्तिगत विवरण हुनेछ ।

विभागका अनुसार आउँदो ३ वर्षभित्र सम्पूर्ण जिल्लामा राष्ट्रिय परिचयपत्र बाँडिने योजनाका साथ तीव्र रुपमा काम अगाडि बढिरहेको छ । सरकारले नागरिकतालाई विस्थापित गर्न राष्ट्रिय परिचयपत्र जारी गर्ने उद्देश्य लिएको थियो ।

तर, वितरण गर्न लागिएको परिचयपत्र नागरिकताको विकल्प नबन्ने विभाग बताउँछ ।

परिचयपत्र लिए पनि नागरिकता लिनुपर्नेछ ।

...

सोमबार ३ मंसिर २०७५ 

प्रतिक्रिया

Related