जोखिमयुक्त पूर्वपश्चिम लोकमार्ग: जीर्ण बन्दै अधिकांश पुल

यात्रा गर्न जोखिम, पथलैया–ढल्केबर सडक खण्डको ६९ वटा पुल नयाँ बनाउन तयारी
निर्माण सञ्चार, चन्द्रपूर | देशकै मेरुदण्डका रूपमा रहेको पूर्वपश्चिम लोकमार्ग अन्तर्गत रहेको अधिकांश पूलहरु जिर्ण बन्दै गएका छन् ।

जसअन्तर्गत बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्लाका नदीका पुल जीर्ण भएका हुन् ।

झन्डै ५० वर्षअघि बनेका पुल जीर्ण बन्दै गएपछि यातायात सञ्चालनमा निकै असहजता भएका स्थानीयको गुनासो छ । साथै दुर्घटनाको जोखिम समेत बढेको छ ।

कुन–कुन पुल जिर्ण ?

सर्लाही र रौतहटको सिमानामा रहेको वागमती नदीको पुलको पिलरको जग नै देखिन सूरु भएको छ । सो पुलको पिलर पनि जीर्ण बनिसकेको छ ।

केही वर्ष अगाडिसम्म वागमती नदीको सतह माथि रहेको भएता पनि पछिल्ला वर्षमा सतह गहिरिएको छ।

स्थानीयका अनुसार नदीको दक्षिणतर्फ पुल नजिकै ठूलो परिमाणमा नदीजन्य पदार्थ निकाल्न थालेपछि उक्त पुलको जग नै देखिन थालेको हो ।

बारा जिल्लाको ३ नम्बर पुल भने भासिएर मर्मत भइरहेको छ । त्यसैगरी, बाराकै दुधौरा खोलाको पुल दुईपटक भासिएर मर्मत गरिसकिएको छ ।

यता लालबकैया तथा पसाहा नदीमा रहेको पुल पनि जीर्ण बन्दै गएको छ ।

रौतहट र बाराको सिमानामा रहेको धन्सर पुल भत्किएपछि नयाँ पुल निर्माण गरिएको थियो । नयाँ पुलको पश्चिमतर्फको भाग पनि गत वर्ष आएको बाढीले क्षति पुर्याएको थियो ।

रौतहटको चादी नदी र पौराइ नदीका पुल पनि जीर्ण बन्दै गएका छन् ।

पुलको फलाममा रंगरोगन लगाउने काम भए पनि नदीको सतह गहिरो हुँदै जाँदा पिलरको जग देखिन थालेको उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

उनकाअनुसार लोकमार्गका केहीपुल जीर्ण भएकाले र मर्मत गर्दै सञ्चालनमा ल्याइएको छ ।

६९ वटा पुल नयाँ बनाउन छलफल पूर्व–पश्चिम लोकमार्ग अन्तर्गतको पथलैया–ढल्केबर सडक खण्डको ६९ वटा पुल नयाँ निर्माण गर्न छलफल र प्रकृया अगाडि बढेको पुल महाशाखाले जानकारी दिए ।

पथलैयादेखि ढल्केवरसम्मको साना खोलामा रहेको पुल पनि जीर्ण हुँदै गएका छन् । सडक प्रयोगकर्ताहरुले जीर्ण पुलले जोखिम बढाएको बढाएको बताएका छन् ।

सो मार्गमा धेरैजसो दुर्घटना पुलको आसपास र पुलमा नै हुने गरेको पाइएको छ ।

प्रत्येक दिन तीन हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन चल्ने सडकका पुल व्यवस्थित हुनुपर्ने सवारी चालकको सुझाव छ ।

करीव ५० वर्षअघि रुस सरकारको सहयोगमा पथलैयादेखि ढल्केबर सम्मको सडकमा ५५ वटा पुल छन्, ती सबै पुल जीर्ण छन् ।

प्राविधिकले भने अधिकांश पुल सिंगल लेन र रोड दुई लेन हुँदा समस्या भएको बताएका छन् । पुल सिंगल लेनको हुँदा सवारीसाधन जाम हुने तथा दुर्घटनाको खतरासमेत हुने उनीहरुको भनाई छ ।

पुलमा कस्ता समस्या ?

पुलमा जडान भएका फलाममा खिया लागेका छन् ।

सडक कार्यालयका इन्जिनियरका अनुसार पुलमा संचालन गरिएको फलाम लामो समय मर्मत नहुँदा भाँच्चिने, पिलर भासिने जस्ता समस्या आउँछन् ।

पुलको संकेत दिन पुलको दुवै छेउको दायाँबायाँ राखिएका ढुंगेजाली (ब्रिज सेफ्टि नेट) समेत भत्किएको भन्दै स्थानीयले कहिले पुल बन्ला र सुरक्षित यात्रा गर्न पाइएलाभन्ने अपेक्षा गरिरहेको बताए ।

....

आइतबार १६ मंसिर २०७५

प्रतिक्रिया

Related