‘अब २ महिनामै मेलम्चीको पानी आइपुग्ने पक्का’

‘पानी आउने सही समय कहिले हो ?’–संसद विष्ठ, ‘ढुक्क हुनुस् ६० दिनमै सबै काम पूरा हुन्छ’– खानेपानी सचिव ठाकुर
निर्माण सञ्चार, काठमाडौँ | खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अबको दुई महिनामा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने ठोकुवा गरेका छन् ।

संसदको विकास तथा प्रविधि समितिको आइतबार बसेको बैठकमा सचिव ठाकुरले अब ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने दाबी गरेका हुन् ।

‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम पूरा हुन्छ’, उनले भने ‘ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी पक्का आउँछ ।’

यसअघि कामदारहरुले निर्माण काममा तीव्रता नदिएका कारण मेलम्ची तोकिएका समयमा आउन नसकेको सचिव ठाकुरले बताए ।

केही महिनाअघि खानेपानीमन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि उनले माफी मागेका छन् ।

‘मन्त्रीले भनेको विषयमा माफी माग्छु’, सचिव ठाकुरले भने, ‘हामीलाई विश्वास गर्नुस् अबको २ महिनामा प्राविधिक काम सम्पन्न गरेर पानी हाल्छौं ।’

निर्माणको काम सम्पन्न भएपछि पानी जम्मा हुन ३ दिन लाग्ने बताउँदै उनले त्यसपछि काठमाडौंमा पानी ल्याउन सकिने दाबी गरे ।

‘मेलम्चीको पानी आउने सही समय किटान होस्’

सोही बैठकमा सांसदहरुले मेलम्ची आयोजनाको पानी काठमाडौंमा कहिले आउँछ भनी प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै सचिव ठाकुरले दुई महिनामा पानी आउने जवाफ दिएका हुन् ।

त्यसैगरी, बैठकमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले पनि २ महिनामा आयोजनाको काम सम्पन्न हुने बताएका थिए ।

तर सांसदहरुले भने दुई महिनामा मेलम्चीको पानी आउने आधार नभएको भन्दै आलोचना समेत गरेका थिए ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले अबको दुई महिनामा पानी आउँछ भन्न सकिने अवस्था नरहेको बताए । आगामी मार्चसम्म पानी आउँछ भन्ने आधार के हो भन्दै पूर्वप्रधानमन्त्री खनालले प्रश्न तेर्साएका थिए ।

सो छलफलमा मन्त्री विना मगरलाई बोलाए पनि उनी उपस्थित भएकि थिइनन् ।

मन्त्री नआएकोमा पूर्वप्रधानमन्त्री खनालले आपत्ति प्रकट गरे ।

‘यति महत्त्वपूर्ण छलफलमा मन्त्री नआनु दुखद हो’ उनले भने । सांसदहरुले पानी आउने सही समय कहिले हो स्पष्ट पार्न अनुरोध समेत गरे ।

खानेपानीमन्त्री विना मगरले दशैंको उपहार मेलम्चीको पानी भने पनि नआएको भन्दै अब कहिले आउँछ किटान गर्न उनीहरुको आग्रह थियो ।

त्यसैगरी, सांसद रामबहादुर विष्टले दशैं अघि आएछ भनिए पनि नआएको भन्दै अबको २ महिनामा आउँछ भन्नेमा पत्यार नभएको बताए ।

बैठकमा उपस्थित खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सांसद विष्टले दुई महिनामा पानी आउने आधार पेश गर्न पनि अनुरोध गरे ।

सो बैठकमा सचिव ठाकुरले आफूले प्रस्तुति नदिएर खानेपानी संस्थानका महाप्रबन्धकलाई दिन लगाएकोमा पनि सांसदहरुले आपत्ति जनाएका थिए ।

सांसद गणेश पहाडीले खानेपानी मन्त्रालयका सचिवले मिनी सांसदको अपमान गरेको आरोप लगाए ।

‘सचिवज्यू आफूले प्रस्तुति नराखेर सेफ हुन खोज्नुभएको हो ? सांसद पहाडीले भने ‘यो मिनी संसद हो, यसको अपमान नगरी गम्भीर बन्नुहोस् ।’

....

आइतबार १६ मंसिर २०७५ 

प्रतिक्रिया

Related