तीव्र गतिमा अघि बढ्यो १५ ‘नयाँ शहर’को काम !

कस्तो बन्नेछ नयाँ शहर ? यस्ता छन् लक्ष्य
निर्माण सञ्चार, काठमाडौँ | सरकारले मुलुकभरका निर्माण गर्न लागेका १५ नयाँ शहरको कामले तीव्रता पाएको छ ।

सरकारको तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा र मध्यपहाडी राजमार्गमा पर्ने ५ वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजनाको कामले एकै साथ गति लिएको शहरी विकास तथा भवन निर्माण विभागले दावी गरेको हो ।

हुलाकी राजमार्गमा १० नयाँ शहर निर्माण गर्ने कार्यक्रम सरकारले ल्याइएको छ । साथै मध्यपहाडी राजमार्गमा ५ वटा शहरको छनोट गरी नयाँ शहरका रुपमा विकास गर्ने योजना लिइएको छ ।

कस्ता काम सुरु

नयाँ शहरका रुपमा विकास गरिने स्थानमा सघन शहरी विकास कार्यक्रम अन्तर्गत उक्त शहरमा हाल शहरी सडक निर्माण, ढल, बसपार्क, हाटबजार, पोखरी र मनोरञ्जन पार्क निर्माण गर्ने लगायतका काम थालिएको छ ।

विभागका अुनुसार चालु आर्थिक वर्षबाट ती शहर बनाउनका लागि परामर्शदाता नियुक्त गरी मास्टरप्लान निर्माणसँगै सघन शहरी विकास कार्यक्रम अन्तर्गत सो शहरमा भौतिक पूर्वाधार निर्माणको काम पनि अगाडि बढाइएको हो ।

उक्त परियोजनाका लागि आयोजना कार्यालय स्थापना गरिएको छ ।

ती १५ नयाँ शहरको निर्माणको काम चालु आर्थिक वर्षबाट थालिएको शहरी विकास तथा भवन निर्माण विभाग नयाँ शहर आयोजना समन्वय कार्यालयका कार्यक्रम निर्देशक पराग कायस्थले जानकारी दिए ।

निर्देशक कायस्थले भने ‘१५ नयाँ शहरका लागि मास्टर प्लान निर्माण गर्ने देखि आवश्य भौतिक संरचना तयार गर्ने काम अगाडि वढेको छ, हाल मास्टर प्लानको काम माघ मसान्तभित्र टुंगिएपछि फागुनबाट नयाँ शहर निर्माण गर्ने कामले तीव्रता पाउँनेछ ।’

मस्टर प्लान र सामान्य संरचना निर्माणका लागि चालु आर्थिक बर्षका लागि २ अर्ब १३ करोड रुपियाँ वजेट विनियोजन भएको कार्यक्रम निर्देशक कायस्थले जानकारी दिए ।

आर्थिक वर्ष ०७३/७४ मै सरकारले तराई मधेशको हुलाकी राजमार्गमा पर्ने १० वटा बस्ती र तराई मधेशका पाँच बस्तीलाई नयाँ शहरका रुपमा विकास गर्ने कार्यक्रमलाई बजेटमा समावेश गरेको थियो ।

हुलाकी राजमार्गमै १० नयाँ शहरको स्थान पहिचान, विस्तृत परियोजना प्रतिवेदनको तयारी र पूर्वाधार निर्माण गर्ने भनिए पनि पहिचान भएका शहरको कुनै पनि प्राविधिक तयारी हुन सकेको थिएन । त्यसैगरी, वजेट अभावमा पूर्वाधार निर्माणको काम पनि अगाडि बढन सकेको थिएन ।

यसअघिका कार्यक्रमहरुको यस्तो अवस्था रहेकै अवस्थामा सरकारले पुनः २०७४ असार २८ गते थप १० वटा शहरलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने निर्णय गरेको थियो ।

ती १५ वटा शहरलाई १० वटा प्याकेजमा व्यवस्थापन गर्ने आयोजनाले लक्ष्य लिएको छ ।

अगामी पुस मसान्तभित्र परामर्शदाताले उक्त शहरका एकीकृत विकास योजना निर्माणको समय पाउने छन् भने पाँच वर्षभित्र न्यूनतम पूर्वाधारयुक्त शहर विकास गरिसक्ने लक्ष्य लिइएको छ ।

सरकारले मध्यपहाडी राजमार्गमा जस्तै हुलाकी मार्गमा पनि आधुनिक शहर बनाउन लागेको हो । सरकारले हुलाकी सडकको दायाँरबायाँ तीन किमि क्षेत्रमा त्यस्ता शहर बसाउने योजना लिएको छ । 

केका अधारमा शहरी क्षेत्र छनोट ?

सरकारले जमीनको उपलब्धता, जनसंख्या, जनघनत्व, नोडल–जक्सन, आर्थिक विकासको सम्भावना, गैरकृषिमा संलग्न जनसंख्या, खानेपानीको स्रोत, बसाइँसराइ, सरकारी सेवाको अवस्था, साक्षरता र सडकको पहुँचजस्ता ११ सूचकलाई आधार मानेर शहर बसाउने क्षेत्र छनोट गरेको हो ।

१७ सय ९२ किमि लामो हुलाकी राजमार्गले झापाबाट कञ्चनपुर जोड्ने निर्देशक कार्यस्थले बताए । उनकाअनुसार सातमध्ये चार वटा प्रदेशमा व्यवस्थित बस्ती बसाउने योजना लिइएको छ ।

यी हुन् नयाँ शहरका स्थान

प्रदेश १ मा झापाको गौरीगञ्ज र मोरङको रंगेली, प्रदेश २ मा बाराको गढीमाई, सर्लाहीको ईश्वरपुर, सप्तरीको शम्भुनाथ, महोत्तरीको बलावा सरपल्लो, प्रदेश ५ मा बर्दियाको राजापुर र नवलपरासीको बर्दघाट तथा प्रदेश ७ मा कञ्चनपुरको बेलौरी र कैलालीको भजनी त्रिशक्तिमा शहर विकास गरिने भएको हो ।

हुलाकी राजमार्गले जोडेका २० जिल्लाका बासिन्दाको जीवनस्तर उकास्न आधुनिक शहर निर्माण गर्ने अवधारणा रहेको कायस्थको भनाई छ ।

यस्तो हुनेछ नयाँ शहर

योजनाबद्ध शहरीकरण गरी केन्द्रको रुपमा विकास गर्ने तथा प्रत्येक नयाँ शहरमा एक लाखसम्मको जनसंख्या पुर्याउनका लागि आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको कार्यक्रम निर्देशक कायस्थले जानकारी दिए ।

उनका अनुसार ठूला शहरी क्षेत्र तराई तथा कृषि योग्य उपत्यकामा हुन सक्ने बसाइँ सराइलाई नियन्त्रण गर्ने, त्यस क्षेत्रबाट अन्यत्र बसाइसराइ गरेका परिवारलाई आकषिर्त गर्ने, कृषि पर्यटन, शैक्षिक तथा औद्योगिक क्षेत्रको विकास एवं प्रवर्द्धन गरी आर्थिक क्रियाकलाप गर्ने सरकारको लक्ष्य रहेको कायस्थ बताउँछन् ।

सोही लक्ष्यअनुसार पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी गल्छी, बागलुङको बुर्तिबाङ, अछामको साँफेबगर, तनहुँको डुम्रे, रुकुमको चौरजहारी, दैलेखको राकम कर्नाली, बैतडीको पाटन, प्यूठानको भिंग्री र सुर्खेतको भेरीगंगालाई मध्य पहाडी राजमार्गअन्तर्गतका १० नयाँ शहर निर्माण गर्ने सरकारले योजना रहेको छ ।

हुलाकी राजमार्गमध्ये झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाहीको ब्रहृमपुरी, रौतहटको भोलापुर र कटहरिया, बाराको महागढीमाई, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलौरीलाई स्मार्ट शहर बनाउने लक्ष्य लिइएको छ ।

त्यसैगरी, सरकारले तराई मधेशका पाँच शहरमा सप्तरीको शम्भुनाथ, महोत्तरीको बलवा, सर्लाहीको ईश्वरपुर, नवलपरासीको बर्दघाट र दाङको गढवा रहेका छन् ।

साथै स्मार्ट सिटीका रुपमा लुम्बिनी, पालुङ, निजगढ, धनकुटा, मिर्चैया, चन्द्रपुर, काभ्रे उपत्यका, भरतपुर, वालिङ, दुल्लु, अमरगढी, तुल्सीपुर र टीकापुरलाई विकास गर्न छनोट गरिएको छ ।

....

आइतबार १६ मंसिर २०७५ 

प्रतिक्रिया

Related