‘दिउँसो टिपर चलाउन पाउनुपर्ने’ माग खारेज, व्यवसायी भन्छन्, ‘मान्छे किच्ने टिपर–ट्रक मात्रै हैनन् कि सरकार !’

अदालतको धारणाको सम्मान तर, सडक सुरक्षाका लागि सरकारकै नीति बढी जिम्मेवार, ओभर टेकलाई मात्रै नियन्त्रण गर्न सके पनि आधा भन्दा बढी दुर्घटना घट्ने
निर्माण सञ्चार, काठमाडौं । ट्रक तथा टिपर व्यवसायीले आफ्नो व्यावसायिक अधिकारको ग्यारेन्टी हुनु पर्ने भन्दै उपत्याकामा दिउसो पनि टिपर चलाउन पाउनु पर्ने माग राखेर दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवरको इजलासले उक्त रिट नै खारेज गरिदिएको हो ।

रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिए अनुसार टिपर व्यवसायीहरुले सरकारको निर्णयलाई बहन गर्नु पर्ने गरी अदालतले रिट खारेज गरेको बताए ।

गत मंगलबार विरूवा कन्स्ट्रक्सन प्रालीले उक्त रिट दायर गरेको थियो । बुधबार नै रिट खारेज भएको हो । यस अघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रातको समयमा मात्र टिपर चलाउन दिने निर्णय गरेको थियो ।

व्यवसायीले भने सरकारको निर्णयले व्यावसायिक हक हनन भएको भन्दै रिट खारेजीको माग गरेका थिए । अदालतको उक्त निर्णयपछि अब उपत्यकाका भित्री सडकमा वा रिङरोडमा दिउसोको समयमा टिपरहरु चल्न पाउने छैनन् ।

अदालतको आदेश आएपछि व्यवसायीहरुले भने आफ्नो संस्थागत धारणा अझै तयार भइनसकेको बताएका छन् ।

सरकार दुर्घटनाको कारण टिपरहरु मात्रै हैनन् कि !

सरकारी निर्णयकै पक्षमा उच्च अदालतले रिट खारेजी गरिदिएपछि ट्रक तथा टिपर व्यवसायीहरुले भने आफूहरुको पेसाप्रति सरकार उदासीन बनेको आरोप लगाएका छन् ।

उनीहरुले अदालतको आदेशको सम्मान गर्ने पनि बताएका छन् । तर, सडक दुर्घटनाको कारण टिपर र ट्रक मात्रै नभएको भन्दै सरकार आफैंले बृहत सडक सुरक्षा नीति र कार्यक्रम पनि ल्याउन नसकेको उनीहरुको भनाइ छ

भक्तपुर ट्रक तथा टिपर व्यवसायी संघको पूर्व अध्यक्ष समेत रहेका शेरबहादुर कुँवरले अदालतको कदमलाई आफूहरुले सम्मान गर्ने बताए ।

उनले भने, ‘व्यवसायीहरुले अदालतको सम्मान गर्ने छौं, तर सरकारले के बुझ्न जरुरी छ जस्तो लाग्छ भने नेपालमा भइरहेका सबै सडक दुर्घटनाहरु ट्रक वा टिपरकै कारणले भएका हैनन् ।’

व्यवसायीहरुले व्यावसायिक हितसँगै सामाजिक तथा मानिसको बाँच्न पाउनु पर्ने अधिकारका पक्षमा आफूहरु पनि अभियान सञ्चालन गर्न र सरकारलाई सहयोग गर्न तयार रहेको तर सरकारले नै कार्यक्रम दिन नसकेको बताउँदै आएका छन् ।

सडकमा ओभर टेक गर्नेहरुलाई मात्रै नियन्त्रण गर्न सके पनि आधा भन्दा बढी दुर्घटना घट्ने थियो । यात्रुहरुलाई जहाँ पनि झार्ने, जहाँ पनि टिप्ने र जसले जतिबेला जताबाट पनि ओभर टेक गर्ने माथि पनि सरकारले कारबाही गरेको सुन्न र देख्न पाए पनि हुन्थ्यो

उनीहरुले सडक दुर्घटना विभिन्न कारणले हुने बताउँछन् । सडकको भौतिक अवस्था र स्वयम् दुर्घटना पीडितहरु पनि दुर्घटनाप्रति जिम्मेवार रहेको जिकिर उनीहरुको छ ।

सरकारले ट्राफिक अनुशासन र ट्राफिक व्यवस्थापन गर्न नसक्ता दुर्घटना हुने उनीहरुको भनाइ छ । नाम नखोल्ने सर्तमा एक टिपर व्यवसायी भन्छन्, ‘सडकमा ओभर टेक गर्नेहरुलाई मात्रै नियन्त्रण गर्न सके पनि आधा भन्दा बढी दुर्घटना घट्ने थियो । यात्रुहरुलाई जहाँ पनि झार्ने, जहाँ पनि टिप्ने र जसले जतिबेला जताबाट पनि ओभर टेक गर्ने माथि पनि सरकारले कारबाही गरेको सुन्न र देख्न पाए पनि हुन्थ्यो ।’

पछिल्ला दिनमा उपत्यकाभित्र सडक दुर्घटनाको प्रतिशत बढिरहेको छ । ती दुर्घटनाहरु मध्ये सबैभन्दा बढी टिपर र ट्रकको रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

ट्रक टिपरहरुको अनुशासनहीन चलाइकै कारण दुर्घटना बढेको पनि सुरक्षा अधिकारीहरुको भनाइ छ ।

उनीहरुको चलाइ अराजक हुने र सडकमा चल्ने स–साना गाडी, बाइकहरुलाई सवारी साधन हो भन्ने मानसिकता समेत उनीहरुमा नरहेको एक प्रहरी अधिकारीले आरोप लगाए ।

‘ट्रक र टिपर चालकहरु सबै खराब छन् भन्ने आशय हैन, तर उनीहरु साना सवारी साधनहरु बाइक, स्कुटीमा चल्नेलाई मानिस हुन् जतिको सम्मान पनि नगर्ने घृणित मानसिकता बढ्दै गएको हो कि भन्ने डर पनि हामीमा लागेको छ । व्यवसाय गर्नु भनेको अपराधपूर्ण तरिकाले हैन सबैले बाँच्न पाउने अधिकारी सुनिश्चित गर्नु पनि एक चालकको कर्तव्य हो भन्ने नबुझुनज्येल सुरक्षा खतरा रहिरहने देखिन्छ,’ ती अधिकारीले भने ।

सामाजिक रुपमा पनि बढी नै आलोचित टिपर चालकहरुमा गाडी चलाउने, ओभरटेक गर्ने, सडक नियमहरु मिच्ने बानी नै परेको आरोप लाग्ने गरेको छ ।

ट्रक र टिपर चालकहरु सबै खराब छन् भन्ने आशय हैन, तर उनीहरु साना सवारी साधनहरु बाइक, स्कुटीमा चल्नेलाई मानिस हुन् जतिको सम्मान पनि नगर्ने घृणित मानसिकता बढ्दै गएको हो कि भन्ने डर पनि हामीमा लागेको छ 

‘उनीहरुको बोली वचन पनि रुखो हुने देख्दा यिनीहरुको मन पनि रुखो हुन्छ कि जस्तो डर लाग्छ’, भन्छिन् जोरपाटी बस्ने गृहिणी खिलकुमारी तामाङ ।

व्यवसायीहरुले भने सरकारी निर्णयले आफूहरुलाई मर्का परेको बताउँदै आएका छन् । उपत्यकामा ट्रक र टिपर निर्वाध रुपमा चल्न नपाउँदा निर्माण कार्यहरुमा अवरोध पुगेको उनीहरु बताउँछन् ।

 

 

 

...

बिहीबार ६, मंसिर, ०७५

 

प्रतिक्रिया

Related