स्केफ अवार्ड: ‘पहिलो पाइला शिखरमा पुराउछौँ’

‘संघर्ष गरेपछि जिवनको कुनै क्षणमा अप्रत्याशित खुशी मिल्ने रहेछ’
निर्माण सञ्चार, काठमाडौँ | सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्केफ) को २८ औँ वार्षिक उत्सवको विशेष समारोहका बीच ८ जना युवा सिभिल इन्जिनियर तथा आर्किटेक्टहरुलाई अवार्ड वितरण गरिएको छ ।

तीमध्ये ६ जना महिला र २ जना पुरुष इन्जिनयर तथा आर्किटेक्टलाई गत मंगलबार होटल हिमालयनमा वितरण गरिएको हो ।

जसअन्तर्गत स्केफले महिला आर्किटेक्ट तर्फ रजिना श्रेष्ठ र पुरुष आर्किटेक्ट तर्फ विष्णुलाल श्रेष्ठलाई प्रमाणपत्र सहित ७५/७५ हजारका चेक हस्तान्तरण गरेको थिए भने बाँकी ७ जनालाई प्रमाणपत्र अवार्डस्वरुप प्रदान गरिएको थियो ।

ती दुई जनालाई स्केफले प्रतिस्पर्धाकाबीच उनीहरुको यसअघिका संघर्ष, क्षमता, पारिवारिक पृष्ठभूमी हेरेर विशेष अवार्डका लागि छनेको थियो ।

पुरस्कार छनोटका लागि ‘जुरी’ समेत गठन गरी योग्यतमहरुबाट प्रतिस्पर्धाका आधारमा पुरस्कृतहरुको छनोट गरिएका स्केफले सो कार्यक्रममार्फत् घोषण गरेको थियो ।

स्केफले यस अघिको ट्रेन्डलाई विविधीकरण गर्दै यसपटक सिभिल तथा आर्किटेक्चरल इन्जिनियरहरुलाई पुरस्कृत गरेको हो ।

ती आर्किटेक्ट तथा इन्जिनियरलाई केशवमान अमात्य युवा इन्जिनियर पुरस्कार मार्फत् स्केफले आफ्नो क्षेत्रमा देखिएका नवप्रतिभा तथा लामो समय योगदान दिने व्यक्ति तथा फर्महरुलाई सम्मान गर्दै आएको छ ।

उत्कृष्ट प्रतिस्पर्धिमध्ये अझै विशिष्ट पुरस्कार पाउन सफल रजिना श्रेष्ठ तथा विष्णुलालसँग निर्माण सञ्चारले पुरस्कार पाउँदाका अनुभव तथा अगामी भविष्यका योजनाबारे कुराकानी गरेको थियो । सोही कुराकानीको अंशः

स्थायी घर दोलखा भएकि रोजिना हाल काडाघाँरीमा बस्दै आएकी छिन् । भर्खरै स्नातक तह सम्पन्न गरेकि उनी अहिले इनोभेटिभ क्रियटर कन्सल्ट्यान्टमा काम गरिरहेकि छिन् ।

रजिनाले सो कन्सल्ट्यान्टमा विगत एक वर्षदेखि आर्किटेक्टसम्बन्धि नै काम गर्दै आइरहेको बताइन् ।

अब स्नाकोत्तर पढ्ने तयारीमा रहेकी रजिना अबका दिनमा अझै मिहेनत गरेर अगाडि बढ्ने बताउँछिन् । स्केफले वितरण गरेको उत्कृष्ट अवार्ड जिवनकै पहिलो रहेको बताउँदै उनले स्केफलाई धेरै धन्यावद दिएकि छिन् ।

केशवमान अमात्य युवा इन्जिनियर पुरस्कार मार्फत् आफूले उत्कृष्ट अवार्ड पाउँदा निकै खुशी र गौरन्वित भएको रजिनाको भनाई छ ।

तपाईंले नै यो अवार्ड कसरी पाउनु भयो भन्ने प्रश्नमा रजिनाले भनिन्, ‘स्केफले विभिन्न विश्वविद्यालयबाट उत्कृष्ट एक–एक जनालाई ल्याएकोमध्ये १३ जनालाई छानेको थियो, जसमध्ये पनि टप ८ जनालाई छानिएको थियो, तीनै टप आर्किटेक्ट तथा इन्जिनियरमध्ये दुईजनालाई उत्कृष्ट अवार्ड प्रदान गरियो, जसमध्ये म पनि परे, सायद अध्ययनप्रतिको मेरो महिनेत नै भन्नुपर्छ ।’

उत्कृष्ट आर्किटेक्ट तथा इन्जिनियरहरुमध्येमा दुई जनालाई विशिष्ट अवार्ड वितरण गरेको स्केफले पढाईको स्तरमात्रै नभएर पारिवारिक पृष्ठभूमी, सरकारी विद्यालयबाट पासआउट भएर आएकालाई मध्यनजर गरेको थियो ।

साथै, ती छानिएका १३ उत्कृष्ट इन्जिनयिर तथा आर्किटेक्टलाई स्केफले जुरी समेत गठन गरी अन्तवार्ता लिएको रजिना बताउँछिन् ।

सोही अन्तवार्ताका आधारमा पनि अवार्ड वितरण गरिएको उनको भनाई छ ।

स्केफले सो अवार्ड प्रदान गरेर अझै हौसला र शहास बढेको भन्दै रजिनाले स्केफप्रति आफै निकै आभारी रहेको दाबी गरिन् । स्केफले गर्दा पहिलो पाइला अगाडि बढाउन सफल भएको उनको भनाई छ ।

‘अब यो प्रगतिको पाइला शिखरमा पुर्याउने कोशिश गर्नेछु’ उनले भनिन् ।

त्यस्तै, अर्का उत्कृष्ट युवा इन्जिनियर विष्णुलाल श्रेष्ठ पनि उत्कृष्ट अवार्ड प्राप्तपछि उत्तिकै खुशी र उत्साहीत देखिन्थे ।

स्थानी घर धादिङ रहेका श्रेष्ठ हाल डल्लु, काठमाडौँमा बस्दै आएको बताउँछन् ।

निकै संघर्षका बाबजुद यो स्थानसम्म आएको उनको भनाई थियो । 

इन्जिनियरिङ गर्न मन हुँदाहुँदै आर्थिक अभावका कारण मानविकी संकायमा गएको बताउँदै उनले लेवर काम समेत गरेर केही समयपछि मात्रै इन्जिनियरिङ गरेको दुःखेसो पोखे । 

आफ्नो अध्ययनप्रतिको लगानशीलता र लामो समयदेखि गर्दै आएको संघर्षले नै यो अवार्ड पाउन सफल भएको भन्दै श्रेष्ठले असिमित खुशीका साथै गर्वान्वित महशुश भएको बताए ।

स्केफले दिएको यो विशिष्ट अवार्ड उनको पनि जिवनको पहिलो रहेको छ ।

निकै निष्पक्ष ढंगले स्केफले दिएको यो अवार्ड आफ्नो जिवनकै महत्तपूर्ण क्षण रहेको बताउँछन्, श्रेष्ठ ।

हाल सडक विभागमा निजामती सेवामा कार्यरत उनी अब मास्टर पढ्ने सोचाइमा छन् ।

स्केफले दिएको यो अवार्डले धेरै प्रेरणा मिलेको बताउँदै उनले भने ‘संघर्ष गरेपछि जिवनको कुनै क्षणमा अप्रत्याशित खुशी मिल्ने रहेछ ।’

यसअघि यस्तो अवार्ड नपाएको भन्दै श्रेष्ठले आफूले यस्तो अवार्ड पाउँछु भन्ने नसोचेको बताए । मध्यम वर्गमा जन्मिएका श्रेष्ठ सानो उमेरदेखि निकै संघर्ष गरेर पढेको बताउँछन् ।

सानैदेखि पढाईमा अब्बल रहेका श्रेष्ठ भन्छन्, ‘यो आवार्डले अझै दाहित्व थपिएको महशुश भएको छ ।’

सम्मान स्वरुप पाएको उक्त अवार्डले आउने कामहरुमा अझै ऊर्जा मिल्ने भन्दै उनले स्केफलाई धेरै धन्यवाद दिएका छन् ।

अगामि दिनमा झन् धेरै मनोबल दरो बनाएर प्रगतिका पाइला अगाडि बढाउनेउनको दाबी छ ।

 

प्रस्तुतिः मीरा खतिवडा

...

शुक्रबार ७ मंसिर २०७५ 

प्रतिक्रिया

Related