घट्यो स्याउ निर्यातः बगैंचा बढे, उत्पादनमा ह्रास !

बर्षेनी घट्दो स्याउ उत्पादन, निराश किसान
निर्माण सञ्चार, जुम्ला | जुम्लामा यो वर्ष स्याउ उत्पादन विगतको भन्दा कम उत्पादन भएको छ । आम्दानी पनि अपेक्षाअनुसार नभएको किसानहरुको गुनासो छ ।

घर–घरमा स्याउका बगैंचा भएता पनि लक्ष्यअनुसारको उत्पादन नभएका पाइएको छ ।

यस वर्ष चार हजार टन स्याउ उत्पादनको लक्ष्य राखिए पनि सदरदर ३६ सय टन उत्पादित स्याउ निर्यात भएको कृषि ज्ञान केन्द्र जुम्लाले जानकारी दियो ।

स्याउका बगैचा बढे पनि उत्पादन बढ्ने सम्भावना देखिएन ‘किसान रविलाल बुढाले भने, ‘अब थोरै बगंैचामा नै मलजल, सिचाईको व्यवस्था गरेर उत्पादन बढाउनतर्फ लाग्न आवश्यक छ ।’

बजारीकरणको समस्याले मुल्यमा एकरुपता नभएपछि पनि लक्ष्य आम्दानी नभएको बुढाले बताए ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लाको कुल ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेती भैरहेको छ । गत वर्ष ३६ सय टन स्याउ निर्यात भएको थियो । उक्त संख्या यसवषको भन्दा बढी हो ।

१४ हजार घरमा स्याउ बगैचा

जुम्लाका कुल १८ हजार घरधुरिमध्ये करिब १४ हजार घरमा स्याउ बगैंचा छन् । हरेक वर्ष स्याउका बिरुवा बढ्दै गएका छन् । तर, बिरुवाको अनुपातमा स्याऊ उत्पादन घट्दै गएको छ ।

तीनवटा बिरुवाले दिने उत्पादन बराबर विगत चार वर्ष पहिले एउटा बिरुवाले उत्पादन दिने गरेको स्याउ कृषक जयप्रसाद गौतमले बताए ।

यस वर्ष स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका बरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले बताए ।

उनले भने, ‘स्याउ फुल्ने समयमा असिना पर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र विभिन्न रोगका कारण स्याउ उत्पादन घटेको हो ।’

जिल्लामा स्याउ उत्पादन गर्ने कृषकको संख्यामा वृद्धि हुँदै गए पनि स्याउ उत्पादन भने वर्षेनी घट्दै गएकाले स्याउ किसान चिन्तामा परेका छन् ।

कृषि ज्ञान केन्द्रका कृषि विज्ञ बालकराम देवकोटाका अनुसार कृषकले स्याउ उत्पादनसम्बन्धी प्रयाप्त ज्ञान, सीप तथा सामाग्री पाए पनि व्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको छ ।

कतिपय स्याउ बगैचामा बारबन्देज लगाउने कार्य हुन नसक्दा पनि स्याउ उत्पादन बढ्न सकेको छैन ।

विशेषगरी यस वर्ष जिल्लाको चौधबिस क्षेत्रमा परेको असिना पानी र अन्य ठाउँमा चलेको ठूलो हावा हुरीले स्याउ उत्पादनमा असर परेको हो ।

स्याउबाट भित्रियो १७ करोड 

जुम्लामा यस वर्ष स्याउबाट १७ करोड रकम मात्रै भित्रिएको छ।

आर्थिक वर्ष ०७५/०७६ को भदौदेखि कार्तिकसम्म व्यापारीले जिल्लाबाट १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् ।

यस वर्ष स्याउ बेचेर जिल्लाका प्रति स्याउ कृषकले पाँच हजारदेखि १० लाखसम्म आम्दानी गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाकाअनुसार जिल्लामा झण्डैं ३४ सय टन बढी स्याउ उत्पादन भएकोमा २३ सय टन बढी स्याउ निर्यात भैसकेको छ । जसमध्ये पहिलो पटक ठूलो परिणाममा दुई टन फुजी स्याउ निर्यात भएको हो ।

जिल्लाका आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब तीन सयजना व्यापारीले अनुमति लिएका थिए। स्थानीय तहले प्रति किलो स्याउ निर्यातको ५० पैंसाका दरले अनुमति दिँदा लाखौं कर संकलन गरेका छन् ।

साथै स्याउ व्यापारीले सरदरमा प्रतिकेजी ५० रुपियाँका दरले कृषकबाट स्याउ खरिद गरेका थिए ।

जिल्लाबाहिर काठमाडौं नेपालगंज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगरलगायत देशका प्रमुख व्यापारिक सहरमा जुम्ली स्याउ निर्यात भएको छ ।

काठमाडौं भाटभटेनी सुपरमार्केटमा जुम्लामा प्रतिकेजी ५० रुपियाँले खरिद भएको स्याउ एक सय ५० रुपियाँ र प्रतिकेजी दुई सयसम्मले खरिद भएको फुजी स्याउ तीन सय रुपियाँमा बिक्री भैरहेको छ ।

जिल्लामा उत्पादन हुने ठूलो दाना स्याउ बिक्री गरिन्छ भने साना दाना भएको स्याउको जाम, जेली, जुस, साइटर स्याउ चाना र स्याउको मदिरा समेत बनाएर बिक्री गरिन्छ ।

जुम्लाबाट सागर परियारको रिर्पोट

...

आइतबार, ९ मंसिर, २०७५ 

प्रतिक्रिया

Related