प्रा.डा बज्राचार्य प्यानलको घोषणासभाको उद्घोषः नेइए चुनाव, दुई तिहाइ ल्याउने उद्घोष

संस्थापनलाई पेचिलो बन्दै चुनावी स्पर्धा, देश दौडाहमा पनि पिन अगाडि कारबाही’
निर्माण सञ्चार, काठमाडौं | नेपाल इन्जिनियर्स असोसिएसन (नेइए) को मंसिर २८ गते हुने ३२ औं कार्यकारिणी समिति चुनावी स्पर्धामा दुई तिहाइ ल्याउने उद्घोषका साथ प्रगतिशील समूहले आफ्नो घोषणा पत्र सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीस्थित नयाँ बानेश्वरमा आयोजित भव्य घोषण सभामार्फत् प्रगतिशील समूहले एनइएको आमूल परिवर्तनका लागि वामपन्थी समूहको जित आवश्यक रहेको औंल्याएको हो ।

सरकारका मन्त्रीहरु– श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन समेत सहभागी उक्त घोषणा सभामा पिन समूहले आफूले जिते पछि गर्ने कामहरुको फेहरिस्त जारी गर्दै ८ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेको छ ।

विगत जस्तो नभई तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको एनइए इलेक्सनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट प्रगतिशील इन्जिनियरहरुले इन्जिनियरिङ क्षेत्रमा नाम चलेका प्रा. डा. त्रिरत्न बज्राचार्यको नेतृत्वको प्यानल अगाडि सारेका छन् ।

जसमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहेका इन्जिनियर छविराज पोख्रेल महासचिवका उम्मेदवार रहेका छन् भने उपमहाचिवका लागि इन्जिनियर कपिल आचार्य सहितको टिम अघि बढेको छ 

त्यस्तै, एनइए आफ्नो कब्जामा रहेको दाबी गर्दै आएको विपक्षी दल नेपाली काँग्रेस निकट रहेको डेमेक्रेटिक इन्जिनियरहरुले भने प्रा.डा हीरेन्द्रमान प्रधान नेतृत्वको प्यानल अगाडि सारेको छ ।

चुनावी सरगर्मी बढ्दै जाँदा देशव्यापी दौडाहमा दुवै समूह लागेका छन् । देश दौडाहको हिसाब हेर्ने हो भने प्रगतिशील समूहको गतिविधि अझै तीव्र रहेको देखिन्छ ।

प्रगतिशील समूहले उक्त चुनावी घोषणा सभामार्फत् केन्द्रीय कार्यकारिणी समिति र सातै प्रदेश केन्द्रित उम्मेदवारहरुलाई सार्वजनिक गरेको थियो ।

सरकारमा झन्डै २ तिहाइ रहेको नेकपाले समृद्धिको नारा अघि सारेको सरकारको सपना अब इन्जिनियरहरुले मात्रै पूरा गर्न सक्ने भन्दै यसपटकको एनइएको चुनाव नेकपाको समेत इज्जतको विषय रहेको स्पष्टै सन्देश दिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको गत असोजमा भएको चुनावलाई खासै प्रतिष्ठाको विषय नबनाए पनि चुनावी पराजयपछि त्यसको मूल्य चुकाएको महसुस गरेको नेकपाले इन्जिनियहरुको यो चुनावलाई सिधै प्रतिष्ठाको विषय रहेको सन्देश दिनुले चुनावी तौललाई आँकलन गरिएको छ ।

चुनावी सम्बोधन क्रममा मन्त्री बिस्टले भने, ‘यो चुनाव कुनै व्यक्तिको मात्र होइन, तपाईं इन्जिनियरहरुको मात्र हो भन्ने पनि नठान्नुस् ।

यसमा प्रा डा बज्राचार्यले हार्छन् या जिन्छन् भन्ने पनि होइन । यो विगतको जस्तो चुनाव होइन भन्ने हामीलाई हेक्का छ । सरकारले समृद्धिको सपना अघि सारको छ ।

समृद्धिका सम्पूर्ण औजार बोक्ने प्रा डा त्रिरत्न बज्राचार्यको नेतृत्वमा मैदानमा उत्रनु भएका तपाईं इन्जिनियरहरुले यो चुनाव हाम्रो प्रतिष्ठाका रुपमा समेत लिनु हुने छ ।’ दुई तिहाइ नै ल्याउनु पर्ने दबाबमूलक भाषण गरेका मन्त्री बिस्टले देशैभरका इन्जिनियरहरुलाई प्रतिशील समूहमा मत जाहेर गर्न अपिल समेत गरेका थिए ।

उनले भने, ‘यथास्थितिवादी शक्तिले जित्दा मुलुक बनाउने शक्ति भए पनि इन्जिनियहरुको शक्तिलाई समृद्धिको सपनासँग जोड्न सकेन । हामीले यसको महत्वलाई बुझेका छौं । तपाईहरुले जित्नु भयो भने मात्रै समृद्धिको हाम्रो सपना साकार हुन सक्ने छ ।’

अघिल्ला चुनावी पराजय आफूभित्र रहेका मतभेद र चुनावी टेक्निकहरुको तालमेल नमिलेको तर्फ औंल्याउँदै मन्त्री बिस्टले मतभेद नराखी चुनावमा होमिन इन्जिनियरहरुलाई अपिल गरेका थिए ।

उनले मतदाताहरुसँग कसरी बोल्ने, नमस्कार गर्ने, कसरी आँखा जुधाएर कुरा गर्र्ने जस्तो उपायहरु समेत सिकाउँदै दुई तिहाइ नै जितेर ‘अबको मुलुकको समृद्धिको सपना जोडिएको पूर्वाधार विकासको क्रान्तिकारी नेतृत्व लिन’ भनेका थिए ।

मन्त्री बिष्टले इन्जिनियरहरुको न्यूनतम तलबको मापदण्ड समेत तोक्न इन्जिनियर्स एसोसियसनलाई आग्रह गरेका थिए । उनले अबका दिनमा सरकारले इन्जिनियरहरुको न्यूनतम तलब तोक्ने र सोही अनुसार कार्यान्वयन नभएमा कारबाही पनि अघि बढाउने समेत घोषणा गरेका थिए ।

पिन इन्चार्ज समेत रहेका मन्त्री बिस्टले भने, ‘इन्जिनियरको न्यूनतम तलबमान राज्यले तोक्ने छ, लागू नगर्नेलाई कडाइका साथ कारबाही गर्ने छ ।’

१५ वर्षपछि आफ्नो विधान संशोधन मार्फत् संघीय संरचना सहित बहुनेतृत्वको अवसरको ढोका खोलेको नेपाल इन्जिनियर्स असोसिएसन (नेइए) को यो चुनावमा केन्द्र तथा प्रदेशमा गरी १३० जनालाई निर्वाचित गर्ने छ ।

करिब साँढे १७ हजार मतदाता रहेको एनइए चुनावको मुख्य केन्द्र प्रदेश नम्बर ३ रहेको छ जहाँ झन्डै १३ हजार मतदाता रहेका छन् ।

चुनाव जितका लागि नेकपा तथा नेका निकट इन्जिनियरहरुको ध्यान ३ नम्बर प्रदेशमै बढी केन्द्रित रहेको देखिन्छ । प्रगतिशील समूह तर्फबाट खानेपानी तथा ढल निकास विभागमा कार्यरत इन्जिनियर नन्दलाल बन्जाडे प्रदेश नम्बर ३ को नेतृत्व गर्दै चुनावी मैदानमा उत्रिएका छन् ।

‘समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रको आह्वान, गतिशील इन्जिनियर, जिम्मेवार योगदान’ नारा सहितको सो घोषणा सभामा पिन समूहले ३ नम्बर प्रदेशका उम्मेदवारहरु सहितको साझा घोषणा पत्र सार्वजनिक गरेको बतायो ।

सरकार तथा निजी क्षेत्रमा विशिष्ट योगदान पुर्याएका इन्जिनियरहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा उनीहरुले यो निर्वाचनबाट नेइएको इतिहास बदल्ने प्रण गरेका थिए ।

 

...

आइतबार, ९ मंसिर, ०७५ 

प्रतिक्रिया

Related