आगामी असारभित्रै संचालनमा आउने गौतम बुद्ध विमानस्थल !

लागत बढेर ११ अर्ब पुग्ने अनुमान, कस्तो हुदैंछ काम ?
निर्माण सञ्चार, काठमाडौँ | आगामी असारभित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग संचालनमा आउने भएको छ ।

भैरहवामा निर्माणधीन यो विमानस्थल संचालनको पहिलो चरणमा आन्तरिकतर्फका सबै विमानको उडान/अवतरण नयाँ रनवेबाट गरिने विमानस्थल आयोजनाले बताएको छ ।

आयोजनाअनुसार विमानस्थलको धावनमार्गमा कालोपत्रे सम्पन्न भएपछि विमानस्थलको अहिलेको धावनमार्गलाई ट्याक्सी वे बनाइने र नयाँ धावनमार्गबाट आन्तरिक उडानका विमानहरुलाई उडान तथा अवतरण गराउने तयारी छ ।

आयोजनाका प्रमुख प्रवेश अधिकारीले भने ‘अन्तर्राष्ट्रिय उडानमा केही समय लाग्ने भएकोले नयाँ धावनमार्ग तयार हुनेवित्तिकै आन्तरिक उडान थाल्ने गरि काम तीव्र रुपमा भइरहेको छ ।

हाल रनवे पिच गर्ने काम धमाधम भइरहेको हुँदा यो सम्पन्न हुनेवित्तिकै आन्तरिकतर्फको उडान नयाँबाटै सुरु गर्न लागेका अधिकारीको भनाई छ ।

निर्माण अवधि कहिलेसम्म ?

उक्त आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई जुन २९ सम्मको समय तोकिएको छ ।

हाल कम्पनीले टर्मिनल भवन, टावर तथा धावनमार्गको कालोपत्रे गर्ने काम सँगसँगै गरिरहेको आयोजनाले बतायो ।

आयोजना प्रमुख अधिकारी भन्छन् ‘सरकारले तोकेको समयमा टर्मिनल भवन तयार भए पनि अन्य प्राविधिक जडानका थुप्रै काम हुने भएकोले सञ्चालनमा ल्याउन केही समय लाग्ने भए पनि धावनमार्ग भने तयार हुन्छ ।’

अहिले विमानस्थलको ३ हजार मिटर धावनमार्गमा पहिलो चरणको कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

त्यसमा पनि १ हजार मिटर पूरा भइसकेको छ ।

निर्माण कम्पनीले पहिलो चरणको कालोपत्रे गर्न समय लाग्ने दोस्रो, तेस्रो र चौथो चरणमा गर्नका लागि भने दैनिक ३ सय मिटरसम्म गर्ने प्रतिबद्धता जनाएकोले तोकिएकै समयमा सबै काम सम्पन्न हुने आयोजनाको दाबी छ ।

कस्तो हुनेछ धावनमार्ग ?

आयोजनाका अनुसार विमानस्थलको धावनमार्ग ३ हजार मिटर लामो हुने छ भने चौडाई ४५ मिटर छ ।

अहिलेको आन्तरिक उडान गरिरहेको धावनमार्ग भने १ हजार ५ सय मिटर लामो र २३ मिटर चौडाई मात्रै रहेको छ ।

सोही पुरानो धावनमार्गलाई नै ट्याक्सी–वे को रूपमा प्रयोग गरिने आयोजना प्रमुख अधिकारीले बताए ।

हाल सम्मको प्रगति कति ?

हाल विमानस्थल निर्माणको भौतिक प्रगति ५७ प्रतिशत छ ।

अहिले टर्मिनल र टावरको फिनिसिङ काम धमाधम भइरहेको र धावनमार्गको कालोपत्रे पनि ९० प्रतिशत भएको अधिकारीले जानकारी दिए ।

उनका अनुसार बाँकी १० प्रतिशत भने इक्युपमेन्ट जडान भएकोले टेन्डर भएको र कम्पनी छनोट गरेर काम थाल्ने उनको भनाई छ ।

लागत अनुमान कति ?

उक्त आयोजनाको निर्माण लागत ८ अर्ब ५५ करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । तर, लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ । साथै मुआब्जाका लागि २३ अर्ब रुपियाँ माग गरिएको छ ।

हाल ९ अर्ब वितरण गरिएको छ भने बाँकी निकासा गर्दै जाने सरकारको तयारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा गौतमबुद्ध विमानस्थललाई हेरिएको छ ।

...

आइतबार, ९ मंसिर, २०७५ 

प्रतिक्रिया

Related