चीनको केरुङ नाकासम्म जोड्ने सडक अब दुई लेनको बन्ने

आगामी दुई बर्षमा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता
निर्माण सञ्चार, काठमाडौँ | चीनको केरुङ नाका जोड्न गल्छीदेखि रसुवागढीसम्म पुग्ने सडक अब दुई लेनको बन्ने भएको छ । आगामी दुई बर्षमा पक्की सडक निर्माण पूरा गर्ने लक्ष्य लिएर सडक विभागले काम अगाडि बढाएको छ । हाल गल्छीसम्म मात्र दुई लेनको सडक रहेको छ ।

अब भने गल्छीदेखि त्रिशुली/मैलुङ/स्याफ्रुवेशी हुँदै रसुवागढी जोड्ने सडक दुई लेनको बनाउन लागिएको हो । गल्छीदेखि रसुवागढीसम्मको सडक दूरी ८२ किलोमिटर छ।

अहिलेको सडकलाई ११ मिटर चौडाइमा स्तरोन्नति गर्न लागिएको सडक विभाग अन्तर्गतको मर्मत सम्भार महाशाखा प्रमुख शिवप्रसाद नेपालले जानकारी दिए ।

जसअन्तर्गत क्यारिजवे (गाडीँ हिँड्ने बाटो) ९ मिटरको हुनेछ भने बाँकी दुई मिटरमा आवश्यकता अनुसार सोल्जररफुटपाथ निर्माण हुनेछ प्रमुख नेपालको भनाई छ ।

त्यसैगरी, गल्छीबाट मैलुङसम्मको करिव ४६ किलोमिटर सडक एक बर्षदेखि कोभेक टुण्डी रसुवा कन्स्ट्रक्सनले निर्माण गर्दै आएको छ ।

मैलुङदेखि स्याफ्रुवेशीसम्म भने नेपली सेनाले गत वैशाखमै ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ ।

करिव १६ किलोमिटर सडक नेपाली सेनाले हस्तान्तरण गरेपछि सडक विभागले स्तरोन्नतिका लागि डिजाइन तयार पारेको छ ।

आगामी पुससम्ममा यो खण्डको सडक निर्माण गर्न टेण्डर निकाल्ने योजना रहेको नेपालले जानकारी दिए । विस्फोटक पदार्थको प्रयोग गरेर ट्रयाक खोलिएका कारण अधिकांश ठाउँमा पहिरो गएको छ ।

रसुवागढीबाट स्याफ्रुवेशीसम्म करिव १७ किलोमिटर सडक चीन सरकारले आँफैले बनाइदिन लागेको विभागको भनाई छ ।

यसका लागि चिनियाँहरुले सर्भे र डिजाइन सम्पन्न गरेर सडक विभागबाट स्विकृत गराईसकेका छन् ।

उक्त सडकको निर्माण आगामी दुई बर्षमा सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता (एमओयु) भएको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले जानकारी दियो ।

हाल निर्माणाधिन गल्छी/त्रिशुली खण्डमा स्तरोन्नतिको काम तीव्र रुपमा अगाडि बढिरहेको छ । प्रमुख नेपालका अनुसार २ किलोमिटर खण्ड कालोपत्रे गर्ने अवस्थामा पुगिसकेको छ ।

आयोजनाले ९ अर्ब ५० करोड रुपियाँ मुआब्जा पनि वितरण गरिसकेको प्रमुख नेपालले बताए ।

केही स्थानमा भने मुआब्जा वितरण गर्न बाँकी नै छ । ती बाँकी मुआब्जा यसै आर्थिक बर्षमा बाडिसक्ने लक्ष्य लिइएको छ ।

त्यस्तै, टोखा/गोर्खे भन्ज्याङ/छहरे हुँदै त्रिशुली ५७ किलोमिटर र बालाजु/ककनी/रानीपौवा हुँदै त्रिशुली पुग्ने ७६ किमीका दुई वटा सडक रहेका छन् ।

सरकारले टोखा छहरे करिव ४ किलोमिटरको सुरुङमार्ग र सँगै छहरेबाट त्रिशुली पुग्ने ३६ किलोमिटर सडक निर्माण गर्ने योजना समेत बनाएको छ।

चिनियाँ पक्षले पछिल्लो समय रसुवागढी नाकालाई प्राथमिकतामा राखेको छ। नेपाल तर्फको करिव १७ किलोमिटर सडक आँफैले बनाउँदैछ ।

अधिकारीहरु भन्छन्, ‘रसुवागढीको आफ्नो र नेपाली भूभाग दुबैमा अनुदान रकमले सुक्खा बन्दरगाह बनाउन लाग्नुले उक्त चिनियाँ प्राथमिकतामा परेको हो ।’

प्रमुख नेपालका अनुसार रसुवागढीबाट सबैभन्दा नजिक रहेको तिब्बती नगर केरुङसम्म ५ बर्षमा चीनले रेल ल्याउने योजना अनुसार काम अघि बढाउनुले चीनले रसुवागढी नाकालाई प्राथमिकतामा राखेको हो ।

...

सोमबार, १० मंसिर २०७५ 

प्रतिक्रिया

Related