त्रिभुवन विमानस्थलमा जान र आउन फरक–फरक गेट !

विमानस्थलको पार्किङ स्थानान्तरण, छुट्टाइयो लेन पनि
निर्माण सञ्चार, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश गर्न र बाहिरिन फरक–फरक सडक तथा गेट प्रयोगमा ल्याइएको छ ।

आइतबारदेखि गोल्डेन गेटको सडकलाई एकतर्फी बनाउँदै पश्चिमतर्फको नयाँ गेटबाट बाहिरिने व्यवस्था थालिएको हो ।

विमानस्थलालाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले पहिलो पटक यो नियम लागू गरिएको विमानस्थल प्रहरी प्रमुख डिआइजी शेरबहादुर बस्नेतले जानकारी दिए ।

यससँगै विमानस्थलमा गाडी पार्किङ समेत स्थानान्तरण गरिएको छ । यसअघि गाडी पार्किङ रहेको स्थानलाई आइतबारदेखि खाली गराइएको छ ।

डिआइजी बस्नेतका अनुसार उक्त स्थानलाई लेन छुट्याइएर यात्रु चढाउन मात्र पाइने छ । गोल्डेन गेटसँगै निर्माण गरिएको नयाँ पार्किङस्थलमा गाडी पार्किङ गर्नुपर्नेछ ।

सिनामंगल चोकबाट ‘टर्न’ लिनुपर्ने !

अब विमानस्थलबाट निस्कने गाडीहरू सिधैँ गौशालातर्फ जान नपाउने भएका छन् । उनीहरूले सिनामंगल चोकबाट ‘टर्न’ लिनुपर्ने डिआइजी बस्नेतले बताए ।

‘तुरुन्तै मोडिँदा सवारी व्यवस्थापनमा समस्या हुने भएकाले सिनामंगल चोक भएर घुम्नुपर्ने नियम लागू गरिएको छ’, डिआइजी बस्नेत भने ‘यसले गर्दा सिनामंगल चोकमा सवारीको चाप बढेको छ ।’

तर, गाडी मोडिँदा जाम नहुने गरी विमानस्थलको गाडीलाई लेन छुट्याइएको उनको भनाई छ । गौशालातर्फ जाने गाडीहरू सिनामंगलतर्फ आउँदा र जाँदा दायाँतर्फको लेन प्रयोग गर्नुपर्ने नियम लागू गरिएको छ ।

विमानस्थलमा लेन छुट्याइयो विमानस्थलसँगैको पार्किङ हटाएपछि लेन समेत छुट्याइएको छ ।

जसअन्तर्गत पहिलो लेनमा ‘ड्रप’को मात्र सुविधा दिइएको छ भने दोस्रो लेन भिभिआइपी, भिआइपी र डिप्लोम्याटका लागि छुट्याइएको छ ।

त्यसैगरी, तेस्रो लेनमा ट्यांकी तथा निजी गाडीले पिक गर्न पाउने छन्। चौथो लेन भने विमानस्थलको आन्तरिकतर्फबाट आउने सवारीलाई छुट्याइएको छ ।

.....

सोमबार, १० मंसिर २०७५ 

प्रतिक्रिया

Related