विदेशी ऋण सहयोगमा बन्ने ठूला ठेक्कामा नेपाली कन्ट्रयाक्टरलाई बञ्चित गरियो किन ?

‘आफ्नै देशका ठेक्कामा जोइन्ट भेन्चर्सका रूपमा समेत काम गर्न नसक्ने प्रावधान कसको इसारामा केका लागि राखिएको हो ?’– एफक्यान
निर्माण सञ्चार, काठमाडौँ | नेपाली निर्माण व्यवसायीहरु सहभागी हुनै नपाउने गरी एशियाली विकास बैंक लगायतका दातृ निकायले टेण्डर प्रक्रिया आह्वान गर्न थालेकोमा नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले कडा आपत्ति जनाएको छ ।

एफक्यानले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी ए.डि.बी लगायतका दातृ निकायहरुको ऋण सहयोगमा आह्वान हुने अरबौंको ठेक्काहरुमा नेपाली व्यवसायीले नै प्रतिस्पर्धा गर्न नपाउनु कुनै पनि दृष्टिकोणबाट जायज नभएको बताएको छ ।

स्वदेशी निर्माण व्यवसायीलाई अन्तर्राष्ट्रिय निर्माण कार्य गर्नको निमित्त क्षमतावान् बनाई निर्माण व्यवसायको क्षेत्रमा आत्मनिर्भरता बढाउनु पर्नेमा त्यसको ठिक विपरीत राष्ट्रले ऋण व्यहोर्नु पर्ने र राष्ट्रबाट पुँजी विदेशिने किसिमले भैरहेको काम कार्वाहिप्रति महासंघले कडा विरोध जनाएको हो ।

दातृ निकायको ऋण सहयोगमा सञ्चालन हुने आयोजनामा नेपाली निर्माण व्यवसायीको मापदण्ड नै नपुग्ने गरी प्रावधान राखिएपछि नेपालकै निर्माण कार्यमा नेपाली व्यवसायी सहभागी हुन नपाउने अवस्था आएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

नेपाली निर्माण व्यवसायीलाई नेपालमै हुने ठेक्कापट्टामा वञ्चित गरेर विदेशीलाई मात्रै ठेक्का सुम्पिन सुनियोजित रुपमा प्रावधान बनाइएको भन्दै एफक्यानले आफ्नै देशमा निस्केका ठेक्कामा जोइन्ट भेन्चर्सका रूपमा समेत काम गर्न नसक्ने प्रावधान कसको इसारामा के का लागि राखिएको हो प्रष्ट पार्न सरोकारवाला निकाय समक्ष जोडदार माग गरेको छ ।

करीब १८ अर्बको लागतमा निर्माण हुने ८७ किलोमिटर लामो कञ्चनपुर कमला सडक खण्डका लागि नेपाली निर्माण व्यवसायीहरुले प्रतिस्पर्धा नै गर्न नपाउने गरी एशियाली विकास बैंकले टेण्डर आह्वान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यस अघि वुटवल नारायणगढ सडक खण्डको टेण्डरमा पनि विदेशी कम्पनीहरु मात्र सामेल हुने गरी प्रक्रिया अघि बढाइएको महासंघको भनाई छ ।

यसअघि नेपाल सरकार, सडक विभाग, आयोजना निर्देशनालय (ए.डि.बी) द्वारा टेण्डर आह्वान गर्दा सिङ्गो खण्डलाई बढी भन्दा बढी स्वदेशी निर्माण कम्पनी सहभागिता हुने गरी साना तथा मझौला आकारका प्याकेज बनाई टेण्डर आह्वान गर्ने प्रचलन रहेको स्मरण महासंघले गराएको छ ।

देशमा निर्माण हुन लागेको ठूला ठूला पुर्वाधार विकासका परियोजनाहरुमा नेपाली निर्माण व्यवसायीहरु पनि विदेशी कम्पनीहरुसँग साझेदार गरि सहभागी हुन पाएको खण्डमा नेपाली निर्माण व्यवसायीहरुको प्रबद्र्धन तथा विकास हुने महासंघका अध्यक्ष रवि सिंहको भनाई छ ।

साथै भविष्यमा स्वदेशमा निर्माण गरिने निर्माण कार्यहरु गर्न नेपालीहरु आफैँ सक्षम हुने, परनिर्भरताको अन्त्य हुनुको साथै राज्यको स्रोत तथा साधनको उचित सदुपयोग हुने महासंघको दाबी छ ।

तर, पछिल्ला घटनाक्रमले नेपाली निर्माण व्यवसायीहरुले भविष्यमा काम नपाउने खतरा बढेसँगै स्वदेशी लगानीहरु डुब्ने अवस्थामा पुगेको, राज्यलाई पनि ऋणको भार थुप्रिनुको साथै पुँजी पलायन हुने अवस्थाको सिर्जना भएको महासंघले बतायो ।

महासंघका अध्यक्ष सिंहले स्वदेशी निर्माण व्यवसायीहरु माझ काम गर्ने अहिले सुअवसर आएपनि सरकारले त्यसको सुदपयोग गर्न नसकेको बताए ।

अव्यवहारिक ऐन नियमका कारण व्यवसायीहरु ठूलो मारमा परेको उनको भनाई थियो । समस्या समाधानका लागि आफूहरु सबै ठाउँमा पुगेपनि कहीँ कतैबाट सुनुवाई नभएको उनको गुनसो छ ।

अध्यक्ष सिंहले नीति निर्माणको तहमा हुने ठूलो आर्थिक चलखेलका कारण पनि नेपाली व्यवसायीहरुलाई पेशाबाटै पलायन गर्ने षडयन्त्र हुन थालेको आशंका व्यक्त गरे ।

नेपाली व्यवसायीहरुले विदेशमा समेत उत्कृष्ट कार्य गरिरहेको जानकारी दिँदै अध्यक्ष सिंहले आफ्नै देशको परियोजनामा भने सहभागी हुनु नपाउनु दुर्भाग्य भएको बताए ।

विदेशी कम्पनी संलग्न धेरै परियोजनाहरु लथालिंग रहेको उदाहरण दिँदै सिंहले त्यस्ता बिग्रिएका परियोजनाहरु अन्ततः नेपाली व्यवसायीहरुले नै सफल पारेको बताए ।

परियोजना पूरा गरेपनि व्यवसायीहरुको अरबौं रकम भुक्तानी हुन बाँकी रहेको भन्दै उनले महासंघ अब विसंगति र विकृति विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिए ।

त्यसैगरी, महासंघका उपाध्यक्ष आङ दोर्जी लामाले नेपाली व्यवसायी आफैंले गर्न सक्ने काममा विदेशीलाई गुहार्नु कुनै पनि हिसाबले जायज नभएको तर्क गरे ।

महासचिव रोशन दाहालले ए.डि.बीबाट अव्यवहारिक किसिमले आह्वान भएको टेण्डरहरु यथास्थितिमा रोकी नेपाली निर्माण व्यवसायीहरु समावेश हुन पाउने गरी आवश्यक सुधार गर्नका लागि सम्बन्धित निकाय समक्ष माग राखे ।

महासंघका उपमहासचिव तथा प्रवक्ता टंकप्रसाद चौलागाईले स्वदेशी निर्माण व्यवसायीलाई बलियो बनाउन राज्य नै बढी जिम्मेवार हुनुपर्ने बताए ।

...

मंगलबार ११ मंसिर २०७४ 

प्रतिक्रिया

Related