चालू आर्थिक वर्षभित्रै निजी आवासको पुनर्निर्माण सक्ने प्रतिबद्धता

झुठा विवरण पेश गरी अनुदान लिएको भए पुस मसान्तभित्र फिर्ता गर्न प्राधिकरणको आग्रह
निर्माण सञ्चार, काठमाडौँ | राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघीय संसदको विकास समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अनुदान सम्झौता गरेका मध्ये ७७ प्रतिशत ९७ लाख २७ हजार १ सय २३ ले निजी आवास पुनर्निर्माण गरेको र त्यसमध्ये ४३ प्रतिशतले निर्माण सम्पन्न गरेको जानकारी दिए ।

उनले गुनासो सुनुवाई, एकीकृत बस्ती, परम्परागत बस्ती, बस्ती स्थानान्तरण र जोखिममा परेका वर्गको घर निर्माणको समयावधि भने कार्यकारी समितिले निर्धारण गरे अनुसार हुने बताए ।

अनुदान लिएर अहिलेसम्म घर पुनर्निर्माण नगरेकाहरुलाई घर पुनर्निर्माण गर्न आग्रह गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले झुठा विवरण पेश गरी अनुदान लिएको भए पुस मसान्तभित्र फिर्ता गर्न आग्रह गरे ।

शिक्षा, स्वास्थ्य, सरकारी भवन, सुरक्षा निकायका भवन, सम्पदाहरु पुनर्निर्माणमा भएको प्रगति विवरण पेश गर्दै उनले प्राधिकरणको बाँकी अवधि दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने दाबी गरे ।

बैठकमा प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले पहिला छुट भएका वास्तविक भूकम्प पीडितको पहिचान गर्न समस्या नरहेको उल्लेख गर्दै स्थानीय तहबाट प्रमाणीत भएर आए भूकम्प पीडितहरुले अनुदान पाउन सक्ने बताए ।

बैठकमा बोल्ने अधिकांश सभासद्हरुले पुनर्निर्माणको प्रगति सन्तोषजनक भएको टिप्पणी गर्दै बैठकमा प्रस्तुत कार्ययोजना अनुसारका कामहरु अघि बढाउन आग्रह गरेका थिए ।

बैठकमा सभासद्हरु जीपछिरङ लामा, गौरीशंकर चौधरी, गणेश पहाडी, केदार सिग्देल, यज्ञराज सुनुवार, रामबहादुर विष्ट, विनाकुमारी श्रेष्ठ, महेन्द्रराय यादव, अनिल झा लगायतले सुझाव दिएका थिए ।

...

बुधबार, १२ मंसिर २०७५

प्रतिक्रिया

Related