जानकी मन्दिर सौन्दर्यीकरण योजनाको शुभारम्भः कसरी फेरिदैछ मुहार ?

‘विकासको कामको थालनी माता जानकीको मन्दिरबाट’
निर्माण सञ्चार, जनकपूर | हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रका रुपमा रहेको जनकपुरस्थित जानकी मन्दिर सौन्दर्यकरणको काम थालिएको छ ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरको सौन्दर्यकरणका लागि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बिहीबार सौन्दर्यकरणको बिहीबार संयूक्त शिलान्यास गरेका हुन् ।

धार्मिक एवं पर्यटकीयस्थल शिलान्यासपछि जानकी मन्दिरको सौन्दर्यकरण प्रारम्भ भएको घोषणा समेत गरिएको छ ।

मुख्यमन्त्री राउत र भौतिक पूर्वाधार विकास मन्त्री सोनलले हिन्दु परम्परा अनुसार विधिवितरुपमा मन्त्रोचारण गरि जानकी मन्दिरको सौन्दर्यीकरणको औपचारीक आरम्भ गरेका हुन् ।

सो कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले विकासको कामको थालनी माता जानकीको मन्दिरबाट गरेको दाबी गरे । उनले हिन्दुहरुको आस्थाको केन्द्र रहेको जानकी मन्दिरबाट विकासको काम थालिएकाले प्रदेशले विकासको गतिलाई कसैले रोक्न नसक्ने बताए । जानकी मन्दिरलाई स्वच्छ एवं सुन्दर बनाएमा जनकपुरधाम मात्र नभई प्रदेश दुई र सिङ्गै देश नेपाल त्यसबाट लाभान्वीत हुनसक्ने मुख्यमन्त्री राउतको भनाई थियो । जानकी मन्दिर सौन्दर्यीकरणका लागि प्रदेश सरकारले ७ करोड ७५ लाख रुपियाँ उपलब्ध गराएको छ । मुख्यमन्त्री राउतले प्रदेश सरकारको यो पहिलो विकासको कार्यक्रम रहेको भन्दै यसलाई पुरा गर्न अपुग रकम प्रदेश सरकारले व्यहोर्ने समेत स्पष्ट पारेका थिए ।

कस्तो बन्नेछ जानकी मन्दिर ?

जानकी मन्दिर सौन्दर्यकरणको लागि तीन वटा प्रवेशद्धारको मर्मत सम्भार, जानकी मन्दिर परिसर भित्र मार्बल, ग्रे नाइट लाईट र जानकी मन्दिरको उत्तर, दक्षिण प्रवेशद्धारमा चरण गंगा निर्माण हुने डिजाइनर प्रभाकर चौधरीले जानकारी दिए ।

त्यसैगरी, आयोजना अन्तर्गत ३१ वटा पोखरीहरुको सरसफाई र सम्बद्र्धन गर्ने, बाह्र बिघा रंगभूमि मैदानलाई सरसफाई तथा सम्बर्द्धन गरी अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने र जनकपुर धाम क्षेत्रमा ३० वटा सार्वजनिक शौचालय बनाउने सम्झौता भएको छ ।

यी कार्यहरु अबको दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । जानकी मन्दिर सौन्दर्यकरणको ठेक्का आरजे. रञ्जन कम्पनीले लिएको छ । .

..

बिहीबार, १३ मंसिर २०७५

प्रतिक्रिया

Related