एसिया प्यासिफिक समिटको ‘उदांगो’ पाटो: एन्जियो कार्यक्रममा सरकारी अधिकारी

क्रिस्चियन धर्मप्रचारक संस्था आयोजक, सरकारको ५५ लाख खर्च हुँदै, ३५ सय सुरक्षाकर्मी परिचालन
निर्माण सञ्चार, काठमाडौँ | काठमाडौंमा शुक्रबारदेखि सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटको आयोजक युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्मप्रचारक संस्था हो । सन् २००५ मा कोरियाका धार्मिक नेता सन म्युङ मुनले यो संस्था स्थापना गरेका थिए ।

व्यापारमा समेत संलग्न उनले दशकौँदेखि धर्म प्रचार गर्दै आएका थिए ।

तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले दुर्नाम वाटरगेट काण्डपछि राजीनामा दिने अवस्था आएपछि अमेरिकी चर्चका सदस्यहरू जम्मा गरेर मुनले वासिङ्टन डिसीमा तीन दिन धर्ना दिएका थिए । त्यसबापत उनले निक्सनबाट धन्यवाद पाएका थिए ।

९२ वर्षको उमेरमा सन् २०१२ मा मुनको निधन भएको हो । सन् २००५ मै यो संस्था नेपाल आइपुगेको हो ।

नेपालका संस्थापक अध्यक्ष सुरेशराज आचार्य थिए भने अहिले एकनाथ ढकाल अध्यक्ष छन् । परिवार दलबाट दुवै संविधानसभामा प्रतिनिधित्व गरेका ढकाल मन्त्रीसमेत भएका थिए ।

यसपालिको संसदीय निर्वाचनअघि तत्कालीन एमालेमा पार्टी नै विलय गराएका उनको नाम समानुपातिक सूचीमा थियो । तर, महिला र जनजाति प्रतिनिधित्व गराउनैपर्ने एमालेको बाध्यताले ढकाल सांसद हुन पाएनन् । सांसद नभए पनि उनले यसपालि पनि राजनीतिक शक्ति देखाएका छन् ।

उनले सरकारी संयन्त्र प्रयोग गरेर विदेशी राष्ट्रप्रमुख तथा सरकारप्रमुखको लाइन लगाइदिएका छन् ।

उनको धर्मप्रचारक संस्थाले गरेको कार्यक्रममा भाग लिन आएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन सीधै प्रधानमन्त्रीको निमन्त्रणामा आएको पुष्टि भएको छ ।

त्यस्तै, अन्य नेताहरूलाई पनि राज्यको तर्फबाटै आमन्त्रण गरिएको छ । यो सम्मेलनको खर्चको यकिन विवरण छैन । सम्मेलनका प्रेस संयोजक विष्णु निश्चलले १८ देखि २० करोड खर्च हुने बताए ।

सरकारको करिब ५५ लाख खर्च हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताए । सम्मेलनका पाहुनाको सुरक्षामा करिब ३५ सय सुरक्षाकर्मी खटिएका छन् । चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दै छ ।

सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ ।

सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुनेछ । ‘एउटा पर्यटक आउँदा त सुरक्षा दिनुपर्छ भने भिआइपीलाई सुरक्षा दिने, सम्मान गर्ने कुरा सामान्य हो,’ सञ्चारमन्त्री बाँस्कोटाको भनाइ छ ।

कम्बोडियाका चुनावी तानाशाह हुन सेनलाई काठमाडौंमा भव्य स्वागत गत जुलाईमा भएको संसदीय निर्वाचनमा हुन सेनले ८० प्रतिशत मत पाए ।

संसद्का १२५ मध्ये १०० सिट जिते । अत्यधिक मतका साथ उनी फेरि पनि निर्वाचित भए ।

किनकि, विपक्षी दललाई चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो । विरोधीहरूलाई हत्या गरेर, जेल हालेर र विदेश धपाएर गरिएको निर्वाचनको नतिजा पनि एकतर्फी भयो ।

यस्तै प्रायोजित निर्वाचनका आधारमा हुन सेन सन् १९८५ देखि कम्बोडियाको सत्तामा छन् । ३३ वर्षदेखि शासनमा रहेका उनीभन्दा लामो समय सत्तामा रहेका ‘निर्वाचित’ नेता विश्वमा अरू कोही छैन ।

निर्वाचनको नाममा सत्तालाई कब्जामा राख्दै आएका उनी भ्रष्टाचार र मानवअधिकार हननका हिसाबले पनि विश्वमै दुर्नाम छन् ।

यसपालिको संसदीय निर्वाचनमा पर्यवेक्षकका रूपमा नेकपाका नेता माधव नेपाल कम्बोडिया पुगेका थिए । तर, यो निर्वाचनलाई संयुक्त राष्ट्रसंघले भने मान्यता दिएको छैन ।

नेपालमा भने हुन सेनले भव्य स्वागत पाएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल हुन सेनलाई स्वागत गर्न विमानस्थल पुगेका थिए भने सर्वसाधारणलाई ट्राफिक जाममा रोकेर उनलाई सोल्टी होटेल पुर्याइएको थियो ।

संयोग अर्को के भने, आफ्नै अल्पसंख्यक सात लाख मुस्लिम नागरिकलाई देशबाहिर धपाएर विश्वकै आलोचनाको केन्द्रमा परेकी आङ सान सुकी पनि शान्ति सम्मेलनमा भाग लिन नेपाल आएकी छिन् ।

यी भिआइपीलाई छ निमन्त्रणा

यी भिआइपीलाई छ निमन्त्रणा
नेपालः प्रधानमन्त्री केपी ओली
फेडेरेसनका संस्थापकः डा. हक जा हन मुन
कम्बोडियाः प्रधानमन्त्री हुन सेन
कम्बोडियाः उपप्रधानमन्त्री प्राक सोखोन
म्यानमारः स्टेट काउन्सिलर आङ सान सुकी
फिलिपिन्सः उपराष्ट्रपति मारिया लियोनर
भानुआटुः मोसेस टाल्लिस
तुभालुः राष्ट्रप्रमुख लाकोबा इटालेनी
नौरुः राष्ट्रपति बारोन वाका
भारतः पूर्वप्रधानमन्त्री देवे गौडा
पाकिस्तानः पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानी
कोलम्बियाः पूर्वराष्ट्रपति एन्ड्रेस पास्ट्राना
इरानः पूर्वउपराष्ट्रपति हसान घाफोरी
अफगानिस्तानः पूर्वउपराष्ट्रपति करिम खालिली

सम्मेलनमा ४५ राष्ट्रका १५ सय सहभागी
–७ जनाः राष्ट्ररसरकारप्रमुख तथा उपप्रमुख
–५ जनाः प्रथम महिला
–१० जनाः पूर्वराष्ट्ररसरकारप्रमुख
–१ जनाः उपप्रधानमन्त्री
–७ जनाः मन्त्री
–५ जनाः सभामुखरउपसभामुख

आयोजकले दिएको जानकारीअनुसार राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई सोल्टी होटेलमा बसोवासको व्यवस्था मिलाइएको छ । पूर्वराष्ट्रप्रमुख तथा पूर्वसरकारप्रमुख र सभामुख तथा सांसदहरूलाई द्वारिकाज होटेलमा राखिनेछ ।

भारतबाट आएका प्रतिनिधिलाई भने याक एन्ड यती होटेलमा राखिने आयोजकले जनायो ।

सम्मेलनमा राजनीतिकदेखि धार्मिक विषयसम्म छलफल हुँदै छ । सम्मेलनको मुख्य विषय ‘वर्तमान समयका गम्भीर चुनौतीहरूमाथि सम्बोधन, अन्तर्निर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्य–मान्यता’ छ ।

फेडेरेसनले सरकारको समृद्धि नारालाई सम्मेलनले सहयोग गर्ने दाबी गरेको छ । उसले जलवायु परिवर्तन र काठमाडौं घोषणासहित विशेष उद्घोषपछि सम्मेलन समापन हुने जनाएको छ ।

शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

स्रोतः नयाँपत्रिका

...

शुक्रबार, १४ मंसिर २०७५

 

प्रतिक्रिया

Related