खलंगामा पानीको अभाव, समिति बेखवर

‘चुनाव आउँदा मात्रै घरघरमा नियमित पानी आउने नारा घन्काउँछन्’
निर्माण सञ्चार, जुम्ला | चन्दननाथ नगरपालिका ४ की कल्पना नेपाली राती चयनले सुत्दिनन् । उनलाई निदाउनु पहिले सधैँ भोली पानीको जोहो कसरी गर्ने भन्ने विषयले सताउँछ ।

हरेक दिन उनले विहान/बेलुका पिउने, सरसफाई गर्ने, खाना पकाउने पानी एक हप्ताको पुरानै पानीले पुग/अपुग गरी काम चलाउछिन् ।

चिसो सुरु भएसँगै उनको धारामा पानी ठप्पै भएको छ ।

पहिले विहान बेलुका आउने धारा चिसो बढे संगै बन्द भएपछि कल्पना नेपाली जस्तै नगरपालिका ४ नम्बर वडा सिंहा चौरका स्थानीय खानेपानीको मारमा परेका छन् । हिजो आज त धारामा पानी नै आउँदैन ।

स्थानीय महिला रमिला नेपालीले भनिन्, ‘पानी आएपनि विहान बेलुका बढिमा आधा घण्टा मात्रै धारा आउँछ ।’ पानी भर्नका लागि झगडा गनुपर्ने अबस्था आएको उनको भनाई छ ।

‘भोलीपल्ट विहानको पानी भर्न, अघिल्लो दिन भाडा धारामा राख्नुपर्छ’, कल्पनाले थपिन्, ‘तैपनी पानी आउँदैनन्, रित्तो भाडा घर फर्काउने सबैको मजबुरी बनेको छ ।’

४ नम्बर वडाका सयौँ स्थानीय महिनौदेखि पानीको मारमा पर्दा पनि खलंगा खानेपानी उपभोक्ता समिति बेखर भएको उनको आरोप छ ।

‘माग अनुसार पानीको आपुर्तिमा समिति गम्भीर छैन्’, स्थानीय सुर्य नेपालीले भने, ‘सिंहा चौरका बस्तीमा पानी नभएको महिनौ पुग्न लागिसक्यो, तर समितिसंग भन्दा पनि वेवास्ता गरिरहेको छ ।’

‘समितिको चुनाव आउँदा मात्रै घरघरमा नियमित पानी आउने नारा घकाउँछन्’, उनले भने ‘तर, व्यवस्था फेरिएपछि नागरिकको अबस्था प्रति सबै जनप्रतिनिधि देखि समितिका पदाधिकारी बेखर भएका छन् ।’

स्थनीय चुनावका बेला नगरपालिकाभित्र खानेपानी संचार सबैको पहुँच विस्तार हुने भनेता पनि, संचारको अबस्था त दनिय नै छ ।

तर आधारभुत आवश्यकता खानेपानी पनि प्रयाप्त नहुँदा जनप्रतिनिधिप्रति नगरबासी निकै आक्रोसित छन् स्मार्ट सिटिको परिकल्पना गरिएको नगरपालिकामा पानीको अभाव वर्षौदेखि हुँदा पनि न जनप्रतिनिधि न, समितिका पदाधिकारी को ध्यान पुगेको छ भन्दै नगरबासीले आक्रोश पोखेका हुन् ।

धारामा पानी नआउने तर, बिल भने प्रत्येक महिनामा आईराख्ने, भन्दै अब धारा नआए, पानीको शुल्क पनि नतिर्ने स्थानीयले चेतावनी दिएका छन् ।

धारामा पानी नआई बिल मात्रै पठाउने खलंगा खानेपानी उपभोक्ता समितिलाई बेलैमा आम नागरिकको समस्यामा ध्यान केन्द्रित गर्न समेत सुझाब दिएका छन् ।

तर यता, खलंगा खानेपानी उपभोक्ता समितिले भने चिसोका कारण पाईप बन्द भएर धारा बन्द भएको हुनसक्ने भन्दै अब नियमित पानी घरघरमा पुराउने प्रयास गर्ने बताएको छ ।

चिसोका कारण, पाईप लाईन उकालोमा हुने बस्तीहरुमा पानी आउन समस्या भएता पनि आजसम्म कसैका गुनासा नआएको समितिका अध्यक्ष, पन्न बहादुर रोकायाले बताए ।

उनले भने, ‘खलंगा बजार भरी पानीको समस्यालाई हटाउन समितिको ध्यान केन्द्रित भएको छ, सबैको माग अनुसार पानी आपुर्तिमा लागि परेका छौँ ।’

उपभोक्ताले पानी नपाएको गुनासो गाउँ–गाउँमा गर्नुभन्दा कार्यालयमा आएर गरेको खण्डमा समितिका कर्मचारी गएर धारा बनाईदिने उनको भनाई छ ।

खंलगा बजारमा प्रयाप्त मागअनुसार पानी आपुर्ति नभएकाले होटल व्यवसायमा पनि प्रभावित भएका छन् । साथै गाउँका स्थानीयहरु तथा भाडामा बजार बस्ने, विद्यार्थी कर्मचारीलाई समेत समस्या भएको छ ।

खलंगामा पानीको समस्यालाई हटाउन सबैले सुझाब दिएका छन् ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

शुक्रबार, १४ मंसिर २०७५ 

प्रतिक्रिया

Related