४ महिनामै साढे ४ खर्ब व्यापार घाटा !

निर्यातको तुलनामा आयात चार गुणाले वृद्धि
निर्माण सञ्चार, काठमाडौँ | नेपालले चालू आवको पहिलो चार महिनामै साढे ४ खर्बभन्दा बढी रुपियाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

कात्तिक महिनासम्म नेपालको व्यापार घाटा ४ खर्ब ५४ अर्ब ४७ करोड रुपियाँ पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रक (टीईपीसी) ले बतायो ।

सो संख्यो गत आवको सोही अवधिको तुलनामा ४०.३ प्रतिशतले बढी हो । उच्च आयातका कारण मुलुकको बाह्य क्षेत्रको स्थायित्वमा दबाब परेको राष्ट्र बैंकले बताएको छ ।

आयातसँगै उच्च दरमा बढेको व्यापार घाटाले मुलुकको समग्र सोधनान्तरलाई निरन्तर घाटामा लगेको भन्दै राष्ट्र बैंकले चिन्ता व्यक्त गरेको छ ।

त्यस्तै, वाणिज्यसचिव चन्द्रकुमार घिमिरे पनि राष्ट्र बैंकको विश्लेषणमा सहमत छन् ।

उच्च आयातकै कारण व्यापार घाटा बढ्दै गएको र त्यसले मुलुकको विदेशी मुद्रा सञ्चितीसमेत घटाउँदै लगेको वाणिज्य सचिव घिमिरेको भनाई छ ।

‘एकातर्फ मुलुकमा जथाभावी आयात भइरहेको छ भने अर्कातर्फ हामीले निर्यात बढाउन सकेका छैनौँ,’ उनले भने, ‘यसैकारण डरलाग्दो रूपमा व्यापार घाटा बढिरहेको छ ।’

वाणिज्य सचिव घिमिरेले आयात नियमनमा जोड दिनुपर्ने बताए ।

निर्यातको तुलनामा आयात चार गुणाले वृद्धि चालु आर्थिक वर्षको प्रथमको चार महिनामा नेपालले ५ खर्ब १३ अर्ब ३ करोड रुपियाँ बराबरको मालवस्तु आयात गरेको छ ।

टीईपीसीले सार्वजनिक गरेको आव २०७५/७६ को पहिलो चार महिनाको तथ्यांकअनुसार यो आयात गत वर्षको यसै अवधिको तुलनामा ३८.१ प्रतिशत बढी हो ।

आयातको तुलनामा नेपालको निर्यात धेरै न्यून देखिएको छ । सो अवधिमा नेपालको निर्यात १०.७ प्रतिशतले बढेर २९ अर्ब २८ करोड रुपियाँ पुगेको केन्द्रले बतयो ।

तथ्याङअनुसार नेपालले उत्पादन बढाउन तथा आयात नियन्त्रण गर्न नसक्दा निर्यातको तुलनामा चार गुणा आयात वृद्धि भएको देखिन्छ ।

एनटिआइएसकै निर्यात वृद्धि सुस्त चलू आवको चार महिनामा समग्र निर्यात झन्डै ११ प्रतिशतले बढे पनि नेपाल एकीकृत व्यापार रणनीति (एनटिआइएस)मा परेकै वस्तुको निर्यात वृद्धि न्यून देखिएको छ ।

उक्त अवधिमा एनटिआइएसमा परेका वस्तुको कुल निर्यात १२ अर्ब २८ करोड रुपियाँ पुगेको छ । सो संख्या गत आवको सोही अवधिको तुलनामा ७.२ प्रतिशतले बढी हो ।

...

शुक्रबार, १४ मंसिर २०७५

प्रतिक्रिया

Related