‘फुजी स्याउ’मा बढ्यो कृषकको आकर्षणः कति माग ?

पहिला नेपालमै पाइने विभिन्न जातका स्याउका विरुवा हाल विदेशबाट मगाउँदै कृषक
निर्माण सञ्चार, जुम्ला | स्याउ फल्ने अधिकांश हिमाली जिल्लाहरुमा यतिखेर स्याउका नँया विरुवा लगाउने तयारी भइरहेको छ ।

पुस, माघ महिनाभित्र विरुवा लगाईसक्ने गरी कृषकहरुले मंसिरदेखि नै बगैचा व्यवस्थापन गरिरहेका छन् ।

जसअन्तर्गत हाल नँया विरुवाका लागि खाल्डा खन्ने, बगैचामा मलजल तथा घेरवारको ब्यवस्थापन गर्ने लगायतका कार्य भैरहेका हुन् ।

तर, कृषकहरु पछिल्लो समय नँया स्याउ विरुवाका लागि स्वदेशमा पाईने स्थानीय जातको विरुवा भन्दा विदेशबाट आयात गर्नुपर्ने फुजि स्याउतर्फ आकर्षित भएका छन् ।

पहिले नेपालमै पाईने विभिन्न जातको स्याउ विरुवा लगाउँदै आएका कृषकहरु अहिले विदेशबाट विरुवा माग गर्न थालेका हुन् ।

यस बर्ष स्याउ फल्ने हिमाली जिल्लाहरुमध्ये चार जिल्लामा मात्र करिब ६ लाख फुजि स्याउको विरुवा विदेशमा माग राखिएको छ ।

ईटाली र स्पेन लगायतका देशबाट आईपुग्ने फुजि विरुवा नेपालमा पाईने विरुवा भन्दा १० गुणा महंगो पर्छ ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना, परियोजना व्यवस्थापन ईकाइ खुमलटार ललितपुरको पत्रका आधारमा स्याउ सुपरजोन जुम्लाले दिएको जानकारीअनुसार जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा मात्र करिब ६ लाख फुजि विरुवा माग भएको हो ।

जसमा जुम्लाका कृषकहरुले तीन लाख, ११ हजार, चार सय २२ फुजि विरुवा माग गरेका छन् । त्यस्तै, कालिकोटका कृषकले एक लाख, १६ हजार, पाँच सय, मनाङका कृषकले एक लाख, ३१ हजार, ६ सय र मुस्ताङमा १५ हजार, पाँच सय फुजि विरुवा माग भएको छ ।

७० प्रतिशत अनुदान

‘सघन स्याऊ’ रोप्नका लागि विरुवा आयात गरी कृषकलाई वितरण गर्ने स्याउ सुपरजोन कार्यक्रम अन्र्तगत फुजि विरुवा ७० प्रतिशत अनुदानमा कृषकले पाउने भएका छन् । बाँकि ३० प्रतिशत कृषकको लगानी रहनेछ ।

वरिष्ठ कृषि अधिकृत टिकाराम शर्माले भने, ‘विरुवा आयात गरेको ढुवानी रकम कृषकलाई निशुल्क हुनेछ, अनुदानमा वितरण हुने प्रति विरुवा कृषकलाई चार सय २५ रुपियाँसम्म पर्नसक्छ ।’

विश्व बजारमा राम्रो संभावना भएको र नेपालमा पनि फुजि स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन बृद्धि गर्न अनुदानमा विरुवा वितरण गर्न लागिएको उनले बताए ।

नेपालमा अहिले अन्य स्याउको भन्दा फुजि स्याउको विरुवा तेब्बरले बढी माग भएको छ । कृषकको माग अनुसार प्राप्त गर्न संभव नभएको स्याउ सुपरजोनले जानकारी दयो ।

यसले गर्दा विरुवा वितरणमा भने निकै सकस हुने देखिन्छ ।

१४ हजार वगैंचा

जुम्लामा मात्र १४ हजार स्याउ वगैंचा स्थापना भएको तथ्यांक छ ।

जिल्लाका कुल १८ हजार घरधुरीमध्ये करिब १४ हजार घरमा स्याउ बगैंचा स्थापना भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

अहिले जिल्लाको कुल ३ हजार ४ सय ५० हेक्टर जमिनमा स्याउ खेति भैरहेको छ । हरेक वर्ष अझै स्याउ खेति विस्तार बढ्दै गएको छ ।

गत बर्ष र यस बर्ष गरी जिल्लामा स्याउबाट ३४ करोड बढी रकम भित्रिएको छ ।

स्थानीय तहकाअनुसार अबको चार बर्षभित्र स्याउ खेतिका लागि जमिन भएका जिल्लाका १८ हजार घरधुरीमा नै स्याउ बगैचा स्थापना हुनेछन् ।

हरेक बर्ष कृषकहरुले बगैचा व्यवस्थापन तथा स्याउ उत्पादन सम्बन्धी प्रयाप्त ज्ञान, सिप तथा सामाग्री पाईरहेका छन् । तर, त्यसलाई व्यवहारमा कार्यान्वयन नगर्दा समस्या भएको छ ।

हरेक बर्ष स्याउका विरुवा बढ्दै छन् । तर, विरुवाको अनुपातमा भने स्याऊ उत्पादन घट्दै गएको छ ।

गत बर्ष भन्दा यस बर्ष जिल्लामा करिब चार हजार फल दिने विरुवा बढेपछि उत्पादन गत बर्षकै हाराहारीमा भएको छ ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बुधबार, १९ कार्तिक २०७५ 

प्रतिक्रिया

Related